काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस कोइराला परिवारको पुख्र्यौली सम्पत्ति नभएको स्वीकार गरेका छन् । सभापति शेरबहादुर देउवाले पार्टी कोइरालाहरूको पुख्र्यौली सम्पत्ति नभएको भन्दै पार्टीमा गरेको योगदानअनुसार भूमिका पाउने बताएकै भोलिपल्ट कोइरालाले यस्तो स्वीकार गरेका हुन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले सबैले पार्टीमा पु¥याएको योगदानका कारण कांग्रेस अहिलेको अवस्थासम्म आइपुगेको बताए । ‘कोइरालाहरूले मात्रै राजनीति गरेका होइनन् । आजसम्म नेपाली कांग्रेसमा कोइरालाबाहेक अरुले पनि राजनीति गरेका छन्,’ डा कोइरालाले भने, ‘सबैले राजनीति गरेकै कारण कांग्रेस आजको अवस्थामा आइपुगेको हो ।’
बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कसैका पिता–पुर्खा पार्टीको अग्रणी भूमिकामा थिए भन्दैमा उनीहरूका वंशले पनि त्यस्तै भूमिका खोज्नु उचित नहुने बताएका थिए । कांग्रेस कसैको पुख्र्यौली सम्पत्ति नभएको जिकिर गर्दै उनले योगदानका आधारमा सबैले उचित भूमिका पाउने पनि बताएका थिए ।
गत शनिबार वीरगन्जमा एकै मञ्चमा उपस्थित भएर कोइराला परिवारका तीन नेता महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरू भावी नेतृत्वका लागि एकजुट भएको बताएका थिए । सभापति देउवाकै कारण पार्टी कमजोर भएको आरोप लगाउँदै उनीहरूले आगामी महाधिवेशनमा आफूहरूमध्येबाट एकजनाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
वीरगन्जमै पुगेर सभापति देउवाले पार्टीमा ‘कोइराला वंशवाद’को चर्को आलोचना गर्दै पिता पुर्खाको नाम बेचेर नभई पार्टीमा गरेको योगदानका आधारमा जिम्मेवारी पाइने तर्क गरे । ‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो,’ देउवाले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ?’ पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको स्वीकार गर्दै उनले भने, ‘तर यो पार्टीमा बिपी र जिपीका छोरा भतिजाको कुनै योगदान नै छैन । जसले पार्टीमा योगदान नै दिएको छैन, पार्टीमा केही गरेकै छैन, उसैले कार्यकर्तामाझ जथाभाबी बोल्दै हिँड्दैछन् ।’ केन्द्रीय सदस्य डा कोइरालाले जथाभाबी बोल्दै हिँडेको देउवाको आरोप थियो । उनले प्रश्न गरेका थिए, ‘पार्टीका लागि शेखरको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसेका छन् ? मण्डलेहरूले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ?’ पार्टीका लागि कुनै योगदान नै नभएकाहरूले कोइराला थर भएकै कारण पार्टी सभापति नै बन्न पाउनु पर्छ भनेर जथाभाबी बोल्दै हिँडेको उनको जिकिर थियो ।
सभापति देउवाको उक्त भनाइप्रति तपाईंको धारणा के हो भन्ने प्रश्नमा कोइरालाले भने, ‘आदरणीय सभापतिजीले के बोल्नुभयो त्यो सभापतिजीलाई सोध्नुस् । त्यो मेरो सरोकारको विषय होइन । उहाँले बोलेको हो, होइन, के हो, कसो हो ? त्यो उहाँहरूनै जान्नुहोला ।’ देउवाको अभिव्यक्तिका बारेमा कुनै प्रतिक्रिया नदिने भन्दै उनले आफू राजनीतिक संस्कार बोकेको मान्छे भएको बताए । ‘म राजनीतिक संस्कार बोकेको परिवारको सदस्य हो । त्यसकारण मलाई केही भन्नु छैन,’ कोइरालाले भने ।


















