नेविसंघ सुधार्ने मौका

नेपाली कांग्रेसको नेतृत्वलाई आफ्ना जनवर्गीय संगठनहरू सहृमाल्न मुश्किल परेको छ । सबैभन्दा बढी भद्रगोल छ विद्यार्थी संगठन नेविसंघ । नाम छ, नेता छन् तर नेतृत्व छैन । दुईपटक म्याद थप्दा पनि निर्धारित अवधिभित्र महाधिवेशन गर्न नसकेपछि नेविसंघको केन्द्रीय कार्यसमिति भंग भएको छ । महाधिवेशन गराउन तदर्थ समिति गठन हुने भने पनि भएको छैन । तदर्थ समितिका लागि खिचातानी र तेरो–मेरो त छँदैछ । मुख्य विवाद हो ३२ वर्षे उमेर हद । अब हुनुपर्ने महाधिवेशन हो बाह्रौँ । यही महाधिवेशनबाट उमेर दह कार्यान्वयन हुने निर्णय एघारौँमै भएको हो । यसमा सबै सहमतै देखिन्छन् ।

जो जो मनोनीत भए पनि तदर्थ समिति एघारौँ महाधिवशेनबाट छानिएको नेतृत्वकै निरन्तरता हो । एउटा पक्ष तदर्थ समितिमै उमेर हद कायम गर्नुपर्ने अडानमा छ भने अर्को पक्ष यस विपरीत छ । उमेरहदअनुसारै तदर्थ समिति बनाउन सहमति भए गज्जब ¤ नभए त्यसमै अल्झिनु संगठनलाई झन दुर्बल बनाउनु हो । महाधिवेशन झन पर सार्नु हो । तदर्थ समितिमा उमेर हदको विवाद व्यर्थको रडाको हो । यसमा नअल्झी जतिसक्दो चाँडो महाधिवेशन गराउने र नेविसंघ सक्रिय बनाउने ध्येय विद्यार्थी र पार्टी नेताहरूको हुनु जरुरी छ । महाधिवेशन हुन नसक्नु संगठन नरहनु हो ।

विद्यार्थी संगठनहरू पार्टीको भावी नेतृत्व विकासका आधारस्तम्भ हुन् । विद्यार्थी तहदेखि नै देश देशावरको राजनीति बुझेको व्यक्ति नै भविष्यमा कुशल नेता हुनसक्छ । हाम्रो देशमा लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा विद्यार्थी संगठनहरूको योगदान कम गौरवपूर्ण छैन । पछिल्लो परिवर्तित सन्दर्भमा भने पार्टीका विद्यार्थी संगठनहरूको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरू राजनीतिका अखडा भएका र शैक्षिक गुणस्तर कमजोर हुनमा दलगत विद्यार्थी संगठनहरू पनि जिम्मेवार रहेको भन्ने आरोप चर्को हुँदै गएको छ । विद्यार्थी संगठनहरू शैक्षिक उन्नयनमा सहयोगी हुन नसक्दा र सधैँ आन्तरिक विवादमा रुमलिँदा औचित्यको प्रश्न झन टड्कारो बन्दै गएको छ । यस्तो आरोप अर्थहीन पनि छैन ।

विद्यार्थी संगठनको नेता पार्टी संगठनमा ठाउँ नपाउन्जेल विद्यार्थी नै भइरहने प्रवृत्तिका कारण विद्यार्थी संगठनहरू आलोचित भएका हुन् । आन्तरिक विवादमा फसेका हुन् । यस्तो प्रवृत्ति अन्त्य हुन आवश्यक छ । नेविसंघमा सुधारको प्रयास भएको छ । बाह्रौँ महाधिवेशनले उमेरहद राखेरै नेतृत्व चयन गर्नेछ । महाधिवशेनका सबै प्रक्रियामा यही कार्यान्वन हुनेछ । यस अर्थमा बाह्रौँ महाधिवेशन नेविसंघ पुनरसंरचना र सुधारको कोशेढुंगा हुन सक्नेछ । त्यो असल थालनिका लागि तदर्थ समितिमा उमेर हद गौण कुरा हो । विवादमा रुमलिएका पक्षहरू यस तथ्यमा गम्भीर हुनसके भने नेविसंघ साँच्चै सुधार हुनेछ । अरूले पनि सिक्नेछन् । यो मौका गुमाउनु भुल हुनेछ ।

भूल भए नेविसंघको त अस्तित्व नै खतरामा पर्नेछ । र, पार्टीगत विद्यार्थी संगठनहरूको औचित्यमाथिको प्रश्न पनि प्रबल बन्दै जानेछ