महेन्द्रनगरको रोमाञ्चक जित

धनगढी । रुस्लान धनगढी प्रिमियर लिगको इलिमिनेटर खेलमा बिहीबार रूपन्देही च्यालेन्जर्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले बनाएको १ सय १५ रनको जवाफमा ब्याटिङ थालेको रूपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रनमात्रै जोड्न सक्यो ।

अन्तिम ओभरमा रूपन्देहीलाई जितका लागि ५ रन आवश्यक भएपनि अविनाश बोहराले ३ रनमात्रै दिए । अन्तिम तीन बलमा रूपन्देहीले तीन विकेट गएपछि महेन्द्रनगरको रोमाञ्चक जित सम्भव भएको हो । तेस्रो बलमा प्रदीप ऐरी र अन्तिम बलमा बसन्त रेग्मीलाई रन आउट बनाएको महेन्द्रनगरका लागि पाँचौं बलमा अविनाशले विक्रम सोबलाई शून्यमै पवेलियन फर्काएका थिए ।

लक्ष्य पछ्याउने क्रममा रूपन्देहीका बाबर हायात र प्रदीप ऐरीले समान २८–२८, विनोद भण्डारीले २३, सन्दीप सुनारले १४ र सुमित महर्जनले १० रन जोडे । रूपन्देहीका अविनाश बोहराले २ तथा मोहम्मद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले १–१ विकेट लिए । जितसँगै महेन्द्रनगरले शुक्रबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ । उक्त क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा सिवाइसी अत्तरियाको सामना गर्नेछ ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । महेन्द्रनगरका कप्तान नटआउट शरद भेषावकरले २९ रन जोडे । ३८ बल खेलेका शरदले २ चौका प्रहार गरे । यस्तै सुब्रमन्यम आनन्दले २० रन जोडे । १३ बलको सामना गरेका आनन्दले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

महेन्द्रनगरका अर्का विदेशी खेलाडी मोहम्मद नाभिदले १५ बलमा २ छक्काको मद्दतमा १८ जोडे भने आरिफ सेखले ११ रनको योगदान दिए । सातौं विकेटका लागि शरद भेषावकर र अमरसिंह रौटेलाले ३९ रनको साझेदारी गर्दै महेन्द्रनगरको स्कोर अघि बढाएका थिए । २० बल खेलेका अमरले एक चौका र एक छक्कासहित १९ रन जोडे ।

पहिलो ओभरमै महेन्द्रनगरले ओपनर दीलिप नाथलाई शून्यमै गुमाएको थियो । ललितसिंह भण्डारीको बलमा दीलिपले सन्दीप सुनारलाई सजिलो क्याच थमाएका थिए । विक्रम सोबको दोस्रो ओभरमा छक्का प्रहार गरेका मोहम्मद नाभिदलाई चौथो ओभरमा वसन्त रेग्मीले विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराए ।

छैटौं ओभरमा आक्रामक खेलिरहेका आनन्दको विकेट पनि बसन्तले नै लिएपछि महेन्द्रनगर दबाबमा देखिएको थियो । तर कप्तान शरदले त्यसपछि खेलको अन्त्यसम्म महेन्द्रनगरको पारी अघि बढाए । एघारौं ओभरमा पुनित मेहराले आरिफ सेख, रोहित पौडेल (२) र सिद्धान्त लोहनी (०)को विकेट लिएपछि पुनः महेन्द्रनगर दबाबमा आएको थियो ।

रूपन्देहीका लागि ललितसिंह भण्डारीले ४ विकेट लिए । यस्तै पुनित मेहराले ३ विकेट लिए भने बसन्त रेग्मीको नाममा २ विकेट लियो । वसन्तले उत्कृष्ट बलिङ गर्ने क्रममा चार ओभरमा २ ओभर मेडन राखेर ७ रनमात्रै खर्चेका थिए ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सिरिज, वेष्ट ब्याट्सम्यान र वेष्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।