काठमाडौं । पार्टी एकतालाई टुंग्याउन गठित कार्यदलको म्याद थप्ने वा विघटन गर्ने भन्ने विवादमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुमल्लिएको छ । बिहीबार कार्यदल सदस्यहरूसँगको छलफलपछि बसेको सचिवालय बैठक सोही विवादका कारण अनिर्णित बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई अध्यक्षबीच नै मतान्तर देखिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन बुझाइसकेको कार्यदललाई विघटन गर्नुपर्ने प्रस्ताव गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्य कार्यदललाई थप समय दिएर बाँकी विषय पनि टुंग्याउनुपर्ने पक्षमा उभिएपछि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।
यसअघि कार्यदलका बहुमत सदस्यले विवादित विषयमा समेत छलफल गरी पूर्ण प्रतिवेदन पेस गर्न थप एकसाता समय मागेका थिए । सचिवालय बैठकमा उपस्थित कार्यदलका सदस्यहरूले ‘चाहेअनुसार काम गर्न नदिइएको’ गुनासोसमेत गरेका थिए । ‘हाम्रो क्षमता नभएर होइन, हामीलाई काम गर्न नदिएर पूर्ण प्रतिवेदन आउन नसकेको हो,’ बैठकमा कार्यदलका एक सदस्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कार्यदलसँगै हामीलाई पनि असफल बनाउन खोजिएको छ, एक साताको समय दिइयोस्, पूर्ण प्रतिवेदन तयार पारेर बुझाउने छौं ।’
सचिवालय बैठकको पहिलो चरणमा कार्यदलका सदस्यहरूसँग छलफल गरिएको थियो । कार्यदलले यसअघि बुझाएको प्रतिवेदनबारे छलफल केन्द्रित थियो । सचिवालय सदस्यहरूसमक्ष कार्यदलका सदस्यहरूले कार्यदल गठन भएदेखि गरिएका आन्तरिक छलफल, उत्पन्न विवाद र प्राविधिक समस्याबारे आफ्ना धारणा राखेका थिए । केही सदस्यले सचिवालय सदस्यसमेत रहेका कार्यदल संयोजक रामबहादुर थापा, कार्यदल सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका कारण घनीभूत छलफल हुन नसकेको गुनासो गरेका थिए ।
‘कार्यदलले धेरै समय लियो भन्ने सन्देश प्रवाह भएको छ,’ बैठकमा कार्यदलका ती सदस्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्री, मुख्यमन्त्रीज्यूहरूको व्यस्तताका कारण कार्यदलको बैठक भनेको समयमा हुन सक्दैन, कयौं दिनसम्म बैठक नै बोलाइएको हुँदैन, कसरी समयमै काम हुन्छ ?’पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यदलका सदस्यहरूसँगको छलफलपछि बसेको सचिवालय बैठकमा कार्यदललाई निरन्तरता दिने वा नदिने भन्नेबारे चर्चा गरिएको थियो । शुक्रबार बस्ने बैठकले कार्यदलबारे टुंगो लगाउने बैठक स्थगित गरिएको उनले बताए ।
स्रोतका अनुसार अध्यक्ष ओलीको प्रस्ताव अल्पमतमा परेपछि बैठक स्थगित गरिएको हो । यसअघि नै ओलीमाथि एकता प्रक्रिया लम्ब्याउन खोजेको आरोप लाग्दै आएको छ । अर्का अध्यक्ष दाहाल पार्टीभित्र हावी हुँदै गएपछि ओलीले एकता प्रक्रिया लम्ब्याएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको असन्तुष्ट पक्षको आरोप छ ।
बिहीबार ओलीको प्रस्तावमा सचिवालय सदस्य ईश्वर पोखरेलले मात्र समर्थन जनाएका थिए । ओलीले कार्यदलबाट प्रतिवेदन प्राप्त भइसकेको अवस्थामा बाँकी काम सचिवालयले नै टुंग्याएर स्थायी कमिटी बैठकमा प्रस्तावका रूपमा लैजानुपर्ने धारणा राखेका थिए । अर्का अध्यक्ष दाहालले बैठकमा यसबारे कुनै प्रतिक्रिया जनाएनन् । उनी कार्यदललाई नै थप समय दिएर बाँकी विषय टुंग्याउनुपर्ने पक्षमा छन् । कार्यदलका सदस्यहरूले समेत समय माग गरिरहेको अवस्थामा कार्यदललाई ‘बाइपास’ गरेर अघि बढ्नु उचित नहुने उनको तर्क छ । बैठकमा बहुमत सदस्यहरूले कार्यदललाई समय दिनुपर्ने तर्क गरेका कारण दाहाल मौनसमर्थक बनेको स्रोत बताउँछ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसमेत कार्यदललाई समय दिनुपर्ने पक्षमा छन् ।



















