वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा वंशकै आधारमा भूमिका पाउने कल्पना नगर्न कोइराला परिवारलाई सचेत गराएका छन् । बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कसैका पिता–पुर्खा पार्टीको अग्रणी भूमिकामा थिए भन्दैमा उनीहरूका वंशले पनि त्यस्तै भूमिका खोज्नु उचित नहुने बताए । कांग्रेस कसैको पुख्र्यौली सम्पत्ति नभएको जिकिर गदर्खै देउवाले योगदानका आधारमा सबैले उचित भूमिका पाउने बताए ।
गत शनिबार वीरगन्जमा एकै मञ्चमा उपस्थित भएर कोइराला परिवारका तीन नेता महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरू भावी नेतृत्वका लागि एकजुट भएको बताएका थिए । सभापति देउवाकै कारण पार्टी कमजोर भएको आरोप लगाउँदै उनीहरूले आगामी महाधिवेशनमा आफूहरूमध्येबाट एकजनाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
वीरगन्जमै पुगेर सभापति देउवाले पार्टीमा ‘कोइराला वंशवाद’को चर्को आलोचना गर्दै पिता पुर्खाको नाम बेचेर नभई पार्टीमा गरेको योगदानका आधारमा जिम्मेवारी पाइने तर्क गरे । ‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो,’ देउवाले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ?’ पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको स्वीकार गर्दै उनले भने, ‘तर यो पार्टीमा बिपी र जिपीका छोरा भतिजाको कुनै योगदान नै छैन । जसले पार्टीमा योगदान नै दिएको छैन, पार्टीमा केही गरेकै छैन, उसैले कार्यकर्तामाझ जथाभाबी बोल्दै हिँडदैछन् ।’
केन्द्रीय सदस्य शेखर कोइरालाले जथाभाबी बोल्दै हिँडेको देउवाको आरोप थियो । उनले प्रश्न गरे, ‘पार्टीका लागि शेखरको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसेका छन् ? मण्डलेहरूले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ?’ पार्टीका लागि कुनै योगदान नै नभएकाहरूले कोइराला थर भएकै कारण पार्टी सभापति नै बन्न पाउनु पर्छ भनेर जथाभाबी बोल्दै हिँडेको उनको जिकिर थियो । नाम र थरका आधारमा कसैले पनि राजनीतिक हैसियत नपाउने उनले प्रस्ट पारे ।
देउवाले जथाभाबी बोल्दै हिँड्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिए । पार्टीभित्र अराजकता र अनुशासनहीनता बढ्दै गएकाले अब त्यस्ता गतिविधिमा लाग्नेमाथि कारबाही गरेर पार्टीलाई स्वच्छ बनाउनुपर्ने उनले बताए । अनुशासनहीन र अन्तरघातीकै कारण विगतको निर्वाचनमा पार्टी पराजित हुनुपरेको तर्क गर्दै उनले त्यस्तालाई कारबाही नभएसम्म कांग्रेस अब अगाडि बढ्न नसक्ने प्रस्ट पारे ।
‘जबसम्म अन्तरघातीलाई कारबाही हुँदैन, तबसम्म पार्टीको भविष्य पनि हुँदैन’, उनले भने, ‘अन्तरघाती र अनुशासनहीन नेतालाई कुनै पनि हालतमा कारबाही हुनैपर्छ र त्यो समय आइसकेको छ, म त्यसका लागि तयार छु ।’
सहमहामन्त्री प्रकाशशरण महतले पार्टीमा अनुशासन तोड्ने र अन्तरघात गर्ने प्रवृत्ति रहेसम्म कांग्रेसको भविष्य उज्ज्वल हुन नसक्ने बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई सफल तुल्याउन अहिलेदेखि नै सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
जिल्ला सभापति अजयकुमार द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य अजय चौरसिया, फरमुल्लाह मन्सुर, गगन थापा, सुरेन्द्र चौधरी, रमेश रिजाललगायतले सम्बोधन गरेका थिए ।



















