धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टहरू सच्चा लोकतन्त्रवादी हुने जिकिर गरेका छन् । बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रविरुद्ध कुनै प्रकारको गतिविधि सरकारलाई सैहृय नहुने प्रस्ट पारे ।
‘कम्युनिस्ट भनेको अधिनायकवाद होइन, अधिकतम लोकतन्त्र हो,’ उनले भने, ‘जनअभिमत र लोकतान्त्रिक मूल्यमान्यतामा प्रतिबद्ध छौं ।’ सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र विधिको शासनमा सम्झौता नगर्ने उनले बताए । यो सरकार अरूले ल्याएको लोकतन्त्रमा बनेको नभई लोकतन्त्रका लागि संघर्षसमेत गरेका कारण लोकतान्त्रिक मूल्य र मान्यताविपरीत जान नसक्ने उनले बताए । ‘कसैले ल्याइदिएको लोकतन्त्रमा सरकार बनेको होइन, लोकतन्त्र ल्याएर लोकतान्त्रिक विधिबाट सरकार बनेको हो,’ उनले भने, ‘मुलुकमा लोकतन्त्र ल्याउन हामीले जेलनेल भोगेका छौं, संघर्ष गरेका छौं । त्यसैले लोकतन्त्रको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो ।’ कसैले आफूअनुकूल व्याख्या गरेको लोकतन्त्रमा नभई सामाजिक न्याय र समानतासहितको लोकतन्त्रमा सरकारले विश्वास गर्ने उनले बताए ।
प्रधानमन्त्रीले युद्धका घाउ र असर अझै समाजमा रहेकोले त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन सरकार अग्रसर रहेको बताए । ‘घाउ कोट्याएर शान्ति हुन नदिने प्रयास हुँदैछ,’ उनले भने, ‘हिंसा भड्काएर द्वन्द्व व्यवस्थापनको खेतीपाती हुन दिनुहुँदैन ।’
विप्लव नेतृत्वको माओवादीतर्फ लक्षित गर्दै उनले राजनीतिक आवरणमा हुने लुट, चन्दा आतंक, विकासमा अवरोध तथा हिंसात्मक गतिविधि सरकारका लागि सैहृय नहुने बताए । त्यस्ता गतिविधि नियन्त्रणका लागि सरकार कडाइका साथ प्रस्तुत हुने उनले बताए । उनले भने, ‘अब राजनीतिक क्रान्तिको बहानामा आतंक मच्चाउन पाइँदैन ।’ जनतामा आतंक फैलाउने, विकास आयोजना अवरोध गर्ने काम कतैबाट हुन नहुनेमा उनले जोड दिए ।
धर्मको नाममा प्रतिगमनको सपना नदेख्न पनि उनले सुझाव दिए । हिन्दुराष्ट्रको माग गर्नेहरूप्रति लक्षित गर्दै उनले राजावादीहरूसमेत प्रतिगमनको अभिष्ट बोकेर धर्मका नाममा राजनीति गर्न उद्यत रहेको बताए । ‘कसैले धर्मका नाममा राजनीति गरेर प्रतिगमन फर्काउने कल्पना नगरे हुन्छ,’ उनले भने, ‘वंशका आधारमा राज्यको नेतृत्व गर्ने राजनीतिक व्यवस्थाको जरै उखेलिसकेको छ ।’
मंगलबार राप्रपा अध्यक्ष कमल थापाले भेटेर हिन्दुराज्य र राजासहितको प्रजातन्त्र हुनुपर्ने मागपत्र बुझाएका थिए ।
प्रधानमन्त्री ओलीले कानुन निर्माणका लागि एक वर्ष खर्च गरेको जिकिर गर्दै यसैमा टेकेर सरकारले अब सुशासन र विकासलाई अगाडि बढाउने बताए । स्थायित्व र स्थिरतामा मात्रै देश विकास हुने उनको भनाइ थियो । उनले भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको भन्दै जोसुकै भए पनि भ्रष्टाचार गर्नेलाई कारबाही गरेरै छाड्ने दृढता प्रकट गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त समेत भ्रष्टाचारमा मुछिएपछि राजीनामा दिएको प्रसंग कोट्याउँदै उनले भने, ‘त्यान्द्रो समात्दै गएको त, अख्तियारमै पुगिएछ ।’ राजीनामा दिए पनि उक्त प्रकरणमा अनुसन्धान र कारबाही नरोकिने उनले बताए ।
प्रधानमन्त्री ओलीले नेपालको संघीयता अन्य मुलुकको भन्दा फरक रहेको बताए । नयाँ व्यवस्था भएका कारण पनि पहिलो वर्षलाई ‘आधार वर्ष’ का रूपमा सरकारले बिताएको उनको भनाइ थियो । एक वर्षको अवधिमा संघीयता र लोकतन्त्रको जग बलियो बनाउने काम गरिएको जिकिर गर्दै उनले अर्को वर्षभित्र जनताले अनुभूति गर्न सक्ने गरी सरकारले काम गर्ने दाबी गरे ।
प्राकृतिक स्रोतका साथै विभिन्न सम्भावनाको खानी भएको प्रदेशका रूपमा सुदूरपश्चिम प्रदेशलाई चित्रण गर्दै उनले यसको विकासमा प्रदेश सरकार र जनप्रतिनिधि नै लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्याको घटना अन्तर्राष्ट्रिय तहसम्म फैलिएको भन्दै दोषीलाई पत्ता लगाएर कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । घटनाबारे गहिरो अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘अनुमानका भरमा कसैलाई किटान गर्नु भएन, सम्पूर्ण प्रमाण नष्ट गरिएका कारण अनुसन्धानमा ढिलाइ भएको हो ।’
प्रधानमन्त्रीले सुदूरपश्चिममा कायम रहेको छाउपडी प्रथा अन्त्य गर्न जनप्रतिनिधिहरूलाई आग्रहसमेत गरे । ‘अहिलेको समाजमा छाउपडीजस्तो कुपरम्परा लाजमर्दो विषय हो,’ उनले भने, ‘यसको अन्त्यका लागि व्यापकरूपमा अभियानहरू चलाउनुस् ।’ सामाजिक जागरणका लागि विशेष अभियान सञ्चालन गर्न उनले सुझावसमेत दिए ।
‘गीत जनताले मन पराएनन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतबारे सुदूरपश्चिम प्रदेशसभामा मुख खोलेका छन् । उनले उक्त गीतबारे सरकार केही नबोलेको तर जनताले मन नपराएपछि गायक आफैँले हटाएको बताए । उनले गीत सरकारले नहटाएको जिकिर गरे ।
प्रधानमन्त्रीले भने, ‘एकजनाले गीत गाए लुट्न सके लुट भनेर, जनताले मन नपराएपछि आफैँ हटाए ।’ उनले प्रतिपक्षीले गीत गाउनेलाई पुरस्कार दिन्छु भनेकोमा असन्तुष्टि जनाउँदै भने, ‘हामी कस्तो समाज खोजिरहेछौँ, चिन्ता लाग्यो ।’



















