किन दिए जोशीले राजीनामा ?

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशमा नियुक्त चोलेन्द्रशम्शेर राणाको निरन्तर दबाबपछि जोशीले मंगलबार राजीनामा बुझाएका हुन् । उनले मंगलबारबाट लागु हुने गरी प्रधानन्यायाधीश राणामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पेस गरेका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि जोशी केही समय वरिष्ठतम् न्यायाधीशका रूपमा सर्वोच्चमा बहाल रहेका थिए ।

सर्वोच्चमा रहँदा अपमान सहनुपर्ने देखिएपछि पदबाट राजीनामा दिएको जोशीले बताए । ‘पछिल्लो समयमा मलाई न्यायपरिषद्को बैठकमा पनि बोलाउन छोडियो । अत्यन्तै अपमान महसुस गरेकाले राजीनामा दिएको हुँ,’ जोशीले भने ।  उमेरहद अनुसार जोशीको आगामी असोज २३ गतेसम्म सेवा अवधि थियो । तर राणाले प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै जोशीलाई राजीनामा दिन दबाब दिँदै आएका थिए । उनले कार्यभार सम्हालेकै दिन पत्रकार सम्मेलन गरेर न्यायाधीश जोशीलाई इजलास नदिने घोषणा गरेका थिए । प्रधानन्यायाधीश राणाले उनको चेम्बरसमेत खोसेका थिए । गत साउनमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । दोस्रो पटक पनि प्रधानन्यायाधीशको दाबेदार रहेका उनलाई अघिल्लो पटक नै अस्वीकृत भएका कारण परिषद्ले सिफारिस गरेको थिएन ।