धनगढी । रूपन्देही च्यालेन्जर्स्ले रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)को तेस्रो संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै रूपन्देही डीपिएलको शीर्ष स्थानमा उक्लिएको हो ।
विराटनगरले दिएको ९४ रनको लक्ष्य रूपेन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाएर भेटाएको थियो । पुनित मेहराले ४६ रनको आक्रामक पारी खेलपछि रूपन्देहीको प्ले अफ सम्भावना बलियो बनेको छ । २७ बलको सामना गरेका म्यान अफ द म्याच पुनितले २ चोका र ४ छक्का प्रहार गरे । यस्तै रूपन्देहीका विदेशी खेलाडी बाबर हायातले १७, भीम सार्कीले १२ रन जोडे ।
विराटनगरका अभिनास यादवले २ तथा करण केसी, सुशान भारी र सांम्सद शेखले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरका ब्याट्सम्यान धेरैबेर क्रिजमा चल्न सकेनन् । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रनमात्रै बनाउन सकेको थियो ।
विराटनगरका राजेशपुलामी मगरले अविजित १७ रन जोडे । १४ बल खेलेका उनले एक छक्का प्रहार गरेका थिए । उनीसँगै विदेशी खेलाडी मोहम्मद अब्दुला खानले १६, कुशल भुर्तेलले १२ र सांम्सद शेखले १० बाहेक विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
रूपेन्देहीका लागि पुनित मेहराले तीन विकेट लिनुका साथै तीन क्याच समात्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । चार ओभरको स्पेलमा पुनितले १ ओभर मेडन राख्दै २० रन खर्चिए । उनले पृथु बास्कोटा(४), सांम्सद शेख र कुशल भुर्तेलको विकेट लिएका थिए भने मेहराले हरिशंकर शाह, अविनाश यादव र करण केसीको क्याच समातेका थिए । रूपेन्देहीका लागि पुनितसँगै वसन्त रेग्मीले र ललितसिंह भण्डारीले समान २–२ विकेट लिएका थिए ।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको गोल्ड स्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार,म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
धनगढीको लगातार हार
धनगढी । घरेलु टोली धनगढी स्टार्सले रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)को तेस्रो संस्करणमा लगातार दोस्रो हार व्यहोरेको छ । सिवाइसी अत्तरियाले फाप्ला क्रिकेट मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा धनगढीलाई ५ रनले पराजित गरेको हो ।
सोमबारमात्रै पहिलो खेलमा धनगढीलाई काठमाडौं गोल्डेन्सले ४ विकेटले पराजित भएको थियो । अत्तरियाले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको धनगढी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रनमै समेटिएको थियो ।
धनगढीका लागि राजु रिजालले अविजित रहँदै २६ रनको पारी खेले । त्यति नै बलको सामना गरेका उनले १ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै रोहन मुस्तफाले १८, सन्दीप रिजालीले ११ तथा सोमपाल कामीले १० रनबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
भुवन कार्कीको धारिलो बलिङ र सन्नी पटेलको अलराउण्ड प्रदर्शनले अत्तरियाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भुवन कार्कीले चार ओभरको स्पेलमा १० रनमात्रै खर्चेर ४ विकेट लिएपछि धनगढी धराशायी बनेको थियो । यस्तै सन्नीले ४ ओभरको स्पेलमा १७ रन खर्चेर २ विकेट लिएका थिए ।
इनिंसको दोस्रो ओभरमा सन्नी पटेलले अत्तरियाका लागि लगातार दुई विकेट लिँदै धनगढीमाथि दबाब थपेका थिए । दोस्रो ओभरको चौथो बलमा सन्नीले धनगढीका ओपनर सुनिल धमला(४) लाई बोल्ड पारे भने पाँचांै बलमा ओपनर अमित श्रेष्ठलाई खाता नै खोल्न नदिई कट एण्ड बोल्ड पारे । तेस्रो विकेटका लागि रोहन मुस्तफाले सन्दीप रजालीसँग गरेको २९ रनको साझेदारी अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले तोडे । ऐरीले आठौं ओभरको अन्तिम बलमा रोहन मुस्तफा(१८)लाई बोल्ड पारेका थिए । २७ बल खेलेका रोहनले २ चौका प्रहार गरे ।
लगत्तै अर्को ओभरमा भुवन कार्कीले पवन सरार्फलाई खाता नै खोल्न नदिई सन्नी पटेलको हातबाट क्याच गराए । सोमपालले बाह्रौं ओभरको अन्तिम बलमा दीपेन्द्र रावतलाई छक्का प्रहार गर्दै टोलीको स्कोर बढाउने प्रयास गरेपनि लगत्तै तेह्रौ ओभरमा भुवन कार्कीले सोमपाल (१०) लाई सन्नी पटेलको हातबाट क्याच गराए ।
सत्रौं ओभरमा भुवनले नै अमिर हायात(४)लाई दोस्रो बलमा एलबिडब्लु र तेस्रो बलमा सौरभ खनाललाई दीपेन्द्र ऐरीको हातबाट खाता नै खोल्न नदिई क्याच गराएपछि सिवाइसी खेलमा हावी भएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिवाइसी अत्तरियाले ब्याट्सम्यान चल्न नसक्दा सामान्य लक्ष्य बनाएको थियो । भारतीय खेलाडी सन्नी पटेल र जयकिशन कोल्सावालाबाहेक अत्तरियाका कुनैपनि खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।
ओपनर कोल्सावालाले २१ रनको पारी खेले । २६ बल सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरे । जयकिशन कोल्सावालाले तेस्रो ओभरमा सोमपाल कामीलाई छक्का र पवन सर्राफलाई पाँचौं ओभरमा चौका प्रहार गरेका थिए ।
कोल्सावालालाई रोहन मुस्तफाले छैटौं ओभरको चौथो बलमा कट एण्ड बोल्ड पारेपछि अत्तरियाको विकेट एकपछि अर्को गर्दै झर्दै गयो । आठौं ओभरमा पाण्डेलाई मुस्तफाले नै ३(१५ बल) रनमा एलबिडब्लुको सिकार बनाए । आठौं ओभरमा सुरुवाती दुई विकेट गुमाएपछि क्रिजमा आएका अत्तरियाका कप्तान दीपेन्द्रंिसंह ऐरी पनि दबाबका बीच खुलेर खेल्न सकेनन् ।
१३औं ओभरमा दीपेन्द्र(११) पनि विपिन खत्रीको बलमा विकेट किपर राजु रिजालको हातबाट क्याच भए । अत्तरियाले विकेट गुमाउने क्रम जारी राख्यो । पन्ध्रौं ओभरमा प्रेम तामाङ(१२) अमिर हायातबाट बोल्ड भए ।
४५–३ को स्थितिमा तेह्रौ ओभरमा क्रिजमा आएका सन्नी पटेलले अन्त्यसम्म खेल्दै धनगढीलाई ९५ रनको स्थितिमा पु¥याएका थिए । सुरुमा सुस्त खेलेका सन्नीले सोह्रौ ओभरको पहिलो बलमा रोहनलाई चौका प्रहार गर्दै हात खोले । उन्नाइसौं ओभरमा उनले सोमपाललाई एक चौका र एक छक्का प्रहार गरे भने अन्तिम ओभरमा आमिर हायातलाई छक्का प्रहार गरे । २८ बल खेलेका सन्नी ३५ रनमा नटआउट रहे ।



















