नयाँदिल्ली । भारतको दिल्लीस्थित एक होटलमा मंगलबार बिहान आगलागी हुँदा १७ जनाको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । पाँचतले अर्पित प्यालेस होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको छ । आगलागी बिहानको चार बजेतिर सुरु भएको थियो ।
घटनामा मानिसहरू सिसा फोरेर हाम फालेर ज्यान बचाइएको जनाइएको छ । समाचारमा जनाइएअनुसार धेरैको मृत्यु निसासिएर भएको थियो । ‘काठले बारिएर बनाइएको होटलको गल्लीका कारण पनि त्यहाँ रहेकाहरूले भाग्ने बाटो पाएनन्,’ एकजना अग्निनियन्त्रक विपिन केन्ताले हिन्दूस्तान टाइम्सलाई बताए । भवनबाट खसेर ज्यान गुमाउनेमा दुई महिला र एक बालकसमेत छन् । अग्निनियन्त्रकले ३५ जनाको उद्धार गरेका छन् ।
छतमा भान्छा र रेष्टुराँको अस्थायी संरचना जोड्ने हो भने होटल ६ तलाको छ । तर अर्पित होटलसँग समेत चार तलाका लागिमात्र अनुमति थियो । आगलागीको कारण खुल्न सकेको छैन । आगो अहिले नियन्त्रणमा आइसकेको छ र अधिकारीले त्यसको कारणबारे अनुसन्धान सुरु गरेका छन् । उक्त होटल दिल्लीको केन्द्रभागबाट पश्चिमतर्फ रहेको करोल बाग भन्ने स्थानमा छ । त्यस क्षेत्र कम पैसा खर्च गर्ने र किनमेल गर्ने पर्यटकहरूका लागि लोकप्रिय छ ।
भारतमा आगलागीका घटना दुर्लभ भने होइनन् । घर निर्माणकर्ताले सुरक्षाका मापदण्ड उल्लंघन गर्ने गरेको पाइन्छ । नयाँ र पुराना घरमा आपत्कालीन बहिर्गमन द्वारसमेत पाइँदैनन् । पछिल्ला महिनामा दिल्लीका प्रमुख स्थानमा रहेका पसल र रेष्टुराँ तिनै सुरक्षा मापदण्ड पूरा नगरेकै कारण बन्द गराइएका थिए । व्यावसायिक भवनसमेत अनुमतिविना तला थप्ने गरेको पाइएको छ ।


















