धरान । आयोजक धरान फुटबल क्लब यहाँ जारी २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको दालहौस एथ्लेटिक फुटबल क्लबलाई २–०ले पराजित गर्दै धरानले अन्तिम चारमा स्थान बनाएको हो ।
धरान रंगशालामा मंगलबार क्वार्टरफाइनल खेलमा मिलन राई र वर्तमान राईले गोल गरेका थिए । दुवै गोल धरानले पहिलो हाफमै गरेको थियो । तुलनात्मकरूपमा कमजोर देखिएको भारतीय टोलीविरुद्ध खेलको नवौं मिनेटमा धरानले सुरुवाती अग्रता लिएको थियो । मिलन राईले मैदानको मध्यभागबाट बललाई अघि बढाउँदै पेनाल्टी क्षेत्रबाट गरेको प्रहार विपक्षी गोल रक्षकले बचाउन सकेका थिएनन् । २३ औं मिनेटमा नै धरानले अग्रता दोब्बर बनायो । वर्तमान राइले गोलरक्षक अगाडी बढेको मौकामा २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनी खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कारस्वरूप १५ हजार पाए । प्रतियोगिताअन्तर्गत बुधबार क्यामरुनको दाउफिन्स फुटबल क्लब र विभागीय टोली नेपाल एपिएफ क्लब भिड्नेछन् । आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा संकटा, मेची नेत्रालय, मनाङ मस्र्याङ्दी क्लब, क्यामरुनको दाउफिन्स क्लब, नेपाल पुलिस क्लब, सहारा क्लब पोखरा, आयोजक धरान र भारत कोलकाताको गलहाउसिया एथ्लेटिकको सहभागिता रहेको छ ।



















