रसुवा विपत्तिप्रति रास्वपा मलेसियाको ऐक्यबद्धता, १० लाख सहयोग गर्ने निर्णय

प्राकृतिक विपत्तिप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाले आपत्कालीन बैठक सम्पन्न गरेको छ।

बैठकले विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि रु. १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। उक्त सहयोग रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा आवश्यक मानवीय सहयोगमा प्रयोग गर्ने उद्देश्यले प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।

सहयोग अभियानमा प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको केन्द्रीय कमिटीसँगै जोहोर, मलक्का, पेनाङ लगायत मलेसियामा रहेका राज्य कमिटीहरू तथा विभागअन्तर्गतका सम्पूर्ण कमिटीहरूको सहभागिता र सहकार्य रहने जनाइएको छ।

विपत्तिको कठिन घडीमा पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नसमेत अपिल गरेको छ।

विपद्को समयमा एकजुट भएर मानवीय सहयोगमा हातेमालो गर्न सके पीडित परिवारलाई तत्काल राहत पुग्ने विभागको विश्वास रहेको केन्द्रीय कमिटी सदस्य कपिल बोहराले जानकारी गराउनु भएको छ ।