पेनाङ(मलेसिया):= मलेसियाको पेनाङ राज्य सरकारले विदेशी कामदारहरूको आवास व्यवस्थापनलाई थप व्यवस्थित र नियमन गर्न नयाँ निर्देशिका जारी गरेको छ। नयाँ नियमअनुसार १ सेप्टेम्बर २०२६ देखि आवासीय क्षेत्रमा नयाँ अस्थायी श्रमिक आवास (TLQ) निर्माण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने भएको छ।
अबदेखि विदेशी कामदारका लागि नयाँ TLQ स्थापना गर्दा व्यापारिक तथा औद्योगिक क्षेत्रलाई मात्र अनुमति दिइने पेनाङ राज्यका स्थानीय सरकार तथा नगर आयोजना समितिले जनाएको छ। स्थानीय बासिन्दाहरूबाट आवासीय क्षेत्रमा विदेशी कामदार बसोबास गर्दा होहल्ला, असुविधा तथा विभिन्न समस्या सिर्जना भएको भन्दै लगातार गुनासो आएपछि राज्य सरकारले यस्तो निर्णय गरेको हो।
पेनाङ सरकारको दीर्घकालीन योजना विदेशी कामदारलाई व्यवस्थित र स्थायी प्रकृतिको केन्द्रीकृत श्रमिक आवास (CLQ) मा स्थानान्तरण गर्ने रहेको छ। तर, CLQ को व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नहुँदासम्मको संक्रमणकालीन अवस्थालाई व्यवस्थित गर्न नयाँ TLQ सम्बन्धी निर्देशिका ल्याइएको हो।
सरकारले नयाँ व्यवस्थाले विशेषगरी साना तथा मझौला उद्योग, रेस्टुरेन्ट र साना उद्योग–कारखानाहरूलाई आवश्यकताअनुसार कामदार आवास व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेको छ।
पुराना TLQ भने तत्काल हटाइने छैनन्
नयाँ नियम लागू भए पनि सन् २०२४ को निर्देशिकाअनुसार आवासीय क्षेत्रमा पहिले नै स्वीकृति पाइसकेका TLQ भने ३१ डिसेम्बर २०२७ सम्म मान्य रहनेछन्। यस्ता आवासको अनुमति नवीकरण गर्दा भने स्थानीय बासिन्दाबाट कुनै गुनासो नभएको अवस्थामा मात्र थप अनुमति दिइने व्यवस्था गरिएको छ।
यसैगरी, नयाँ श्रमिक आवासका लागि वर्गीकरणअनुसार आरएम १५००० देखि आरएम ३,५०० सम्म अनुमति शुल्क निर्धारण गरिएको छ। पेनाङ सरकारको यो नयाँ कदमले विदेशी कामदारको आवासलाई व्यवस्थित बनाउने, स्थानीय बासिन्दाको गुनासो घटाउने तथा भविष्यमा कामदारलाई सुरक्षित र व्यवस्थित CLQ प्रणालीमा लैजाने आधार तयार गर्ने अपेक्षा गरिएको छ।




















