काठमाडौं := दुईतिहाइ बहुमतनजिकको कांग्रेस-एमाले गठबन्धनबाट २०८१ असार ३१ गते तेस्रो पटक प्रधानमन्त्री भएका ओलीलाई जेन-जी आन्दोलनले अचानक सत्ताच्युत गरेको थियो। आन्दोलन हिंस्रक भएपछि ओली बालुवाटार हेलिकप्टर चढेर नेपाली सेनाको ब्यारेकमा बस्न बाध्य भए । जेन-जी आन्दोलनले राजनीतिबाटै विश्राम गर्ने सन्देश दिए पनि फेरि एमालेमा अनुमोदित भएर संसदीय चुनावी दौडमा छन् ।
उनलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा ५ मै पुगेर चुनौती दिएका छन् । रास्वापले प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएपछि जोशिएका साह ओलीसँगै भिडन् पुगे । उनी तीन पटक प्रधानमन्त्री भएका ओलीलाई हराएर राजनीतिबाट बिदा दिने दाउमा छन् ।काठमाडौंको मेयर पद बीचमै छाडेका उनले स्थानीय तह निर्वाचनमा गरेका चुनावी बाचा पनि अलपत्र पारेर संसदीय राजीनामा होमिए । झापा ५ मा बालेन्द्र र ओलीबीच कडा टक्कर हुने अस्था छ ।
बालेनको पक्षमा युवा पंक्ति देखिएको छ भने ओलीको पक्षमा परम्परागत मतदाता उभिएका छन् । बालेनले अहिले दमकमै डेरा जमाएका छन् । उता ओली पनि टोल टोलमा पुगिरहेका छन् । बालेनले बुधबार मात्रै करिब ४ सयको हाराहारी मतदातासँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ। बालेन भोट माग्न कतै गएनन् । बरू आफू बसेको ठाउँमै लाइन लागेर मतदाता आए । उनले एमालेदेखि र कांग्रेसका कार्यकर्तासम्म भेटे ।
दमकका मेयर राम थापा लगायतले बालेनको साटो ओलीलाई सहयोग गर्ने अवस्था देखिएको छ । त्यसैले उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्य कार्यकर्तालई तान्न लागेका छन् । आक्रमक चुनाव प्रचारप्रसार गरिरहेका बालेनको सचिवालयका सदस्य भन्छन, ‘केपी ओलीलाई यहाँका मतदाताले यसपटक चुन्दैनन् । ठूलो मतान्तर नभए पनि बालेन यहाँबाट विजयी हुनुहुन्छ।’
उता एमाले झापा अध्यक्ष प्रेम गिरी राजनीतिक प्रतिशोधको लडाइँले झापा ५ मा काम नगर्ने बताउँछन् । कुनै हालतमा झापा ५ का मतदाता बालेनलाई नचुन्ने दाबी उनी गर्छन् । उनी आफ्नो पार्टीको पकड क्षेत्रमा बालेनले जित्ने सपना नदेख्न समेत आग्रह गर्छन्। ‘वर्षौँदेखि त्यहाँ विकास निर्माणका कामहरूमा अध्यक्ष ओलीले कायापलट गरेको यहाँले देख्नु भएकै छ। बाहिरको कोही आएर ओलीलाई हराउँछु, पाखा लगाउँछु भन्ने सपना नदेखे हुन्छ’, गिरीले खबरहबलाई भने, ‘कुनै पनि चिज मान्छेले आफूले सक्ने जति खानुपर्छ। बढी बल गरे आफैँ सकिन्छ ।’
रास्वपा झापाका सचिव शम्भु सुस्केरा पनि बालेन्द्र झापा ५ बाट सजिलै विजयी हुने दाबी गर्छन्। उनी ६० हजारमाथि मत ल्याएर विजयी हुने बताउँछन् । ओली २०७४ को निर्वाचनमा ५७ हजार १३९ मतसहित यहाँबाट विजयी भएका थिए। २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातान्त्र पार्टीसँग गठबन्धनबाट ओलीले ५२ हजार ३१९ मत ल्याएर कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई पराजित गरे। ओली झापा ५ बाट २०४८ सालदेखि जितिरहेका का छन्। माओवादीको लहर भएको बेला २०६४ सालमा उनी अहिले कांग्रेसमा रहेका विश्वदीप लिङ्गदेनसँग पराजित भए ।



















