काठमाडौं := आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिते पनि अदालतबाट कसुर ठहर भएमा निलम्बन हुने अवस्थामा केही उम्मेदवार देखिएका छन् । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका केही व्यक्तिहरू उम्मेदवार बनेपछि निर्वाचन भएर पनि दोषी ठहर भए उनीहरूको पद निलम्बन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीबाट रौतहट-१ मा उम्मेदवार बन्नुभएका माधवकुमार नेपाल पतञ्जलि जग्गा भ्रष्टाचार प्रकरणमा मुद्दा खेपिरहनु भएका प्रतिवादी हुनुहुन्छ ।
कांग्रेसबाट मनाङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका टेकबहादुर गुरुङ काठमाडौंको भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा भाडा प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुनुहुन्छ । चितवन-२ मा उम्मेदवार बन्नुभएका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा विभिन्न जिल्ला अदालतमा मुद्दा खेपिरहेका प्रतिवादी हुनुहुन्छ ।
त्यस्तै, भदौ २०७२ को मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा मुछिनुभएका लक्ष्मी महतो कोइरी आसन्न प्रतिनिधिसभामा एमालेबाट महोत्तरी-१ मा उम्मेदवार बन्नुभएको छ । कांग्रेसका तर्फबाट सुनसरी-३ मा उम्मेदवार बन्नुभएका विजयकुमार गच्छदारविरुद्धको भ्रष्टाचार मुद्दाको अन्तिम किनारा लागिसकेको छैन । तर, उहाँहरू भने संसद्मा पुगेपछि सुशासन कायम गर्ने प्रतिबद्धताको एजेण्डा बोकेर चुनावी मैदानमा होमिएका छन् ।
गत भदौमा ‘जेन-जी’ले सुशासन बहाली, भ्रष्टाचार नियन्त्रण जस्ता माग राखेर गरिएको आन्दोलनपछि गठित अन्तरिम सरकारले गराउन लागेको प्रतिनिधिसभा निर्वाचनमा मुख्य दलहरूले नै विभिन्न कसुरको आरोपमा मुछिएका व्यक्तिहरूलाई उम्मेदवार बनाएका हुन् ।
के छ कानुनी व्यवस्था ?
त्यसो त अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई चुनावबाट रोक्न मिल्ने कानुनी व्यवस्था छैन । अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई चुनावबाट रोक्न मिल्ने कानुनी व्यवस्था नहुँदा त्यसको लाभ फाइदा नेताहरूले उठाउने गरेका छन् । यसअघि कानुन संशोधनका लागि निर्वाचन आयोगले मस्यौदा बनाएर गृह मन्त्रालयमा बुझाए पनि त्यसलाई सरकारले अघि बढाएको थिएन ।
तर, भ्रष्टाचार मुद्दा लागेका सार्वजनिक ओहदाका व्यक्ति स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐन-२०५९ मा उल्लेख छ । माधव नेपाल चुनावमा विजयी हुँदा मुद्दा कायम रहिरहे संसद्मा नै छिर्न नपाउने देखिन्छ । अन्यको हकमा पनि अदालतमा विचाराधीन रहेको मुद्दामा दोषी ठहर भए निलम्बनमा पर्नेछन्।
आयोगले आसन्न निर्वाचनका लागि दागी व्यक्तिको हकमा ‘कसुर लागे/नलागेको, लागेको भए कुन कसुर र कुन अदालतमा विचाराधीन छ’ भनेर स्वघोषणा फाराम भर्ने व्यवस्था मिलाएको छ । उक्त व्यवस्थाबमोजिम फारम भरेकाहरूको हकमा आयोगले योग्यता/अयोग्यताकोे निर्णय गर्नेछ ।
विभिन्न कसुरका आरोपितहरू चुनावी मैदानमा
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ जेठमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । विशेष अदालतले ११ असारमा तोकेको ३५ लाख धरौटी बुझाएर नेपाल छुट्नुभएको थियो ।
कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसबाट मनाङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउनुभएका टेकबहादुर गुरुङ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा भाडा प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुनुहुन्छ ।
समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा भाडा प्रकरणमा अख्तियारले २१ माघ २०७५ मा गुरुङसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले १६ फागुन २०७९ मा गुरुङलाई दोषी ठहर गरेको थियो, २५ फागुनमा १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना हुने निर्णय सुनाइएको थियो ।
अभियोगपत्रमा उल्लेख भएअनुसार सजाय नभएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । यो मुद्दा अझै विचाराधीन छ । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसले गुरुङलाई उम्मेदवार बनाएको थियो। त्यतिबेला उहाँ विजयी भए पनि मुद्दाकै कारण संसद् छिर्न पाउनुभएको थिएन । पछि सर्वोच्च अदालतबाट आदेश गराएर संसद् छिर्नुभएको थियो । विशेष अदालतबाट दोषी ठहर भएका कारण अब पनि निर्वाचित भइहाले उहाँ संसद् छिर्न पाउनु हुनेछैन ।
गोर्खा मिडिया नेटवर्कको आवरणमा भएको सहकारी ठगी प्रकरणमा कास्की, काठमाडौं, रूपन्देही, चितवन र पर्सा जिल्ला अदालतमा विचाराधीन रहेका मुद्दाहरूमा खेपिरहनु भएका व्यक्ति हुनुहुन्छ चितवन–२ मा उम्मेदवार बन्नुभएका रास्वपा सभापति रवि लामिछाने । सम्पत्ति शुद्धीकरणको मुद्दा लागे सार्वजनिक ओहदाका व्यक्ति स्वतः निलम्बन हुन्छन् ।
तर, लामिछानेका लागि संसद् छिर्ने बाटो खुलाउन महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो । महान्यायाधिवक्ताको यो निर्णयप्रति सर्वत्र विरोध भइरहेको छ।
२५ भदौ २०७२ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा आरोपित नाम हो लक्ष्मी महतो कोइरी । जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
पुनरावेदनपछि जनकपुर उच्च अदालतले १९ मंसिर २०७७ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसपछि उहाँ फरार रहेकामा २०७९ को निर्वाचनमा उम्मेदवार बनेर एमालेबाटै विजयी हुनुभयो । जिल्लाले कोइरीलाई २८ मंसिर २०८० मा सफाइ दिइसकेको छ । तर, उहाँविरुद्धको मुद्दा उच्च अदालतमा विचाराधीन छ । तर, एमालेले उहाँलाई नै योपटक पनि महोत्तरी-१ बाट उम्मेदवार बनाएको छ ।
गुण्डाराजमा कहलिएका ‘चक्रे मिलन’ भनिने मिलन गुरुङलाई पनि एमालेले गोरखा-२ बाट उम्मेदवार बनाएको छ । २०५० को दशकदेखि नै उहाँ ज्यान मार्ने उद्योग, लागुऔषध, अभद्र व्यवहार, सार्वजनिक अपराधलगायत एक दर्जन कसुरमा पक्राउ पर्दै धरौटीमा छुट्दै पुनः अपराध दुनियाँमा सक्रिय रहनुभएको थियो । कानुनतः उम्मेदवार बन्न भने उहाँ अयोग्य हुनुहुन्न ।
कांग्रेसका तर्फबाट सुनसरी-३ मा उम्मेदवार बन्नुभएका विजयकुमार गच्छदारविरुद्धको भ्रष्टाचार मुद्दाको अन्तिम किनारा लागिसकेको छैन । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री गच्छदारविरुद्ध माघ २०७६ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उहाँलाई विशेषले सफाइ दिए पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो, जुन अझै विचाराधीन छ । उहाँलाई पनि उम्मेदवार बन्न कानुनले रोक्दैन । गच्छदार २०४८ सालदेखि लगातार चुनावमा भाग लिँदै आउनुभएको व्यक्ति हुनुहुन्छ ।
महेश बस्नेत- एमाले
नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पनि मुद्दा छ । भ्रुण हत्याको जाहेरी दिए पनि त्यो जाहेरी दर्ता भने भएको छैन । साइबर कसुरको जाहेरी भने प्रहरीमा दर्ता छ ।
बस्नेत २२ असोजमा साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उपस्थित भएका थिए । त्यतिबेला उनले डेढ घण्टासम्म बयान दिएका थिए ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सो निर्देशनपछि ब्युरोले बस्नेतलाई आफ्नो कार्यालयमा उपस्थित गराएर बयान लिएको थियो ।
अहिले बस्नेत भक्तपुर-२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । बस्नेतविरुद्ध उजुरी हाल्ने शोभा पाठकले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । उनको चुनाव चिह्न जेनजी आन्दोलनको आइकोनिक जुत्ता रहेको बताइएको छ ।
ऐन महर- एमाले
गाली बेइज्जती तथा साइबर अपराधको कसुरमा महरविरुद्ध मुद्दा चलेको छ । उनको यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ । उनीविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन् ।
महर अहिले नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका छन् । एमालले यसअघि आचरणको विषय उठाउँदै महरलाई केही समयका लागि निलम्बनसमेत गरेको थियो ।

११ भदौमा उनलाई साइबर ब्युरोले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । त्यतिबेला उनी हाजिरी जमानीमा छुटेका थिए । अहिले पनि यो मुद्दा विचाराधीन अवस्थामा छ ।




















