कांग्रेस सभापति गगन थापालाई अमरेश कुमार सिंहको चुनौती।

काठमाडौं := काठमाडौं क्षेत्र नम्बर ४ छोडेर नेपाली कांग्रेसका नव सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ पुगेका छन्। उनले व्यस्तताका कारण वारिसेमार्फत् उम्मेदवारी दर्ता गराए। उनका मुख्य प्रतिस्पर्धी यतिबेला पूर्वकांग्रेस नेता तथा २०७९ को निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचित डा. अमरेशकुमार सिंह छन्।

सिंहले आफू सर्लाही क्षेत्र नम्बर ४ मा भिजेको भएकाले गगनलाई हराउन कुनै कसरत गर्न नपर्ने बताउँछन्। तर कांग्रेसको वैकल्पिक धार निर्माण गरेर विशेष महाधिवेशनबाट सभापतिमा बनेका गगनलाई पुराना कांग्रेसी र त्यहाँका अन्य दलले समेत मतदान गर्ने विश्वास छ। सर्लाही ४ मा एमालेबाट रवि सिंह कुशवाहा र नेपाली कम्युनिष्ट पार्टीबाट डा. रगनिशराय यादव उम्मेदवार छन्।

मधेशमा राम्रो पकड भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय उम्मेदवार छन्।२०७९ को निर्वाचनमा सिंहले २० हजार १७ मत प्राप्त गरेर निर्वाचित भएका थिए । यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्रकुमार रायलाई सिंहले १७६४ मतान्तरले पराजित गरे। केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका सिंहलाई यसपटक पनि निर्वाचित गराउने आँकलन थियो ।

तर थापाले उम्मेदवारी दिएपछि उनलाई समस्या हुन सक्ने देखिएको छ। तर सिंह यसलाई मान्न तयार छैनन् ।
भन्छन्, ‘पटकपटक निर्वाचन क्षेत्र परिवर्तन गरेको नेताले यहाँ कसरी जित्छ ? गगनले यहाँ के काम गरेका छन् र सर्लाही ४ का जनताले चुन्छन् ।’ अहिले झापापछि सर्लाही ४ लाई चासोका साथ हेरिएको छ।