पोर्टक्लाङमा इमिग्रेशनको छापा: विदेशी नागरिक बसेको अपार्टमेन्टबाट लागुऔषध डेन फेला।

पोर्ट क्लाङ (सेलाङ्गर):= मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन”ले पोर्ट क्लाङस्थित एक अपार्टमेन्टमा छापा मार्दै विदेशी नागरिकहरूले सञ्चालन गरेको लागुऔषध प्रयोगस्थल (ड्रग डेन) फेला पारेको छ।

सोमबार (नोभेम्बर १७) राति गरिएको अपरेशनका क्रममा नवौँ तल्लामा जाँच गर्दै गर्दा एक पुरुषले साना ब्याग फाल्ने प्रयास गरेको देखेपछि अधिकारीहरूले शंका गरेका थिए।इमिग्रेशनका कार्यकारी महानिर्देशक (अपरेसन) दातुक लोकमान एफेन्डी राम्लीका अनुसार, थप जाँच गर्दा उक्त ब्यागभित्र स्याबु सेवन गर्न प्रयोग हुने परिमार्जित उपकरण फेला परेको थियो।

उक्त फ्ल्याटमा तीन विदेशी नागरिक—एक दम्पति र अर्को महिला बस्ने गरेको खुलेको छ। प्रकरणलाई थप अनुसन्धानका लागि प्रहरीले जिम्मा लिने इमिग्रेशनले जनाएको छ। लोकमानले बताएअनुसार, करिब साढे तीन घण्टा लामो अपरेशन साँझ ८:३० बजे सुरु भएको थियो, जसमा ७८ जना अधिकारी परिचालित थिए।

अपरेशनका क्रममा २८५ विदेशी नागरिकको निरीक्षण गरिँदा ९५ जनालाई विभिन्न आरोपमा—ओभरस्टे, भिसा नभएको , आवश्यक कानुनी कागजात नभएको लगायत आरोपमा समातिएको छ। समातिएका व्यक्तिमध्ये ७० जना पुरुष र २५ जना महिला रहेको र सबैको उमेर १८ देखि ५० वर्ष बीच भएको जनाइएको छ। उनीहरूलाई थप छानबिनका लागि सेमेनीयह इमिग्रेशन डेपनमा राखिनेछ।