मलेसियाबाट १६ वर्षपछि घर फर्किएका माझकोटीको श्रीमतिसंग पुन:र्मिलन।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा सडकबाट उद्धार गरिएका नेपाली नागरिक तेजबहादुर माझकोटी २०२५ नोभेम्बर १६ मा काठमाडौँ आइपुग्नुभएको छ। उहाँलाई उहाँकी श्रीमतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्। करिब १६ वर्षपछि भएको यो पुनर्मिलन अत्यन्त भावुक रहेको परिवारले जनाएको छ।

माझकोटीलाई नेपाल फर्काउन टिकट उपलब्ध गराउन (प्रवासी नेपाली समन्वय समिति) पीएनसीसीको आग्रहमा एनआरएनए मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बुको विशेष पहलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले बाटिक एयरको टिकट उपलब्ध गराएको थियो।

उनी केही वर्षयता सम्पर्कविहीन भएका कारण परिवारले पीएनसीसीमार्फत खोजीका लागि अनुरोध गरेको थियो। त्यसपछि मलेसियामा बुकित बिन्ताङ क्षेत्रबाट फेला परेका माझकोटीलाई नेपाली राजदूतावासको समन्वयमा उद्धार गरिएको हो।

उद्धारपछि उनलाई आकस्मिक आवास र प्राथमिक उपचारका लागि क्रिस्टिना केयर सेन्टरमा राखिएको थियो, जसको खर्च दूतावासले नै व्यहोरेको थियो। साथै, ट्राभल डकुमेन्ट र अध्यागमनसम्बन्धी सम्पूर्ण खर्च पनि दूतावासले नै व्यहोरेको थियो।

नेपाल सकुशल फर्किएका माझकोटीले भने,
“मलाई उद्धार र सहयोग गर्ने नेपाली राजदूतावास क्वालालम्पुर मलेसिया, पीएनसिसीलगायत सबैलाई धन्यवाद व्यक्त गर्दछु। अब फेरि विदेश जाने सोच छैन, नेपालमै बसेर कृषि पेशा अपनाउँछु” भनेर आभार प्रकट गरेका छन्।