इन्फा अवार्ड-२०२५ : उत्कृष्ट निर्देशक दीपाश्री, चाम्सलाई जुरी अवार्ड।

काठमाडौं:= इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ लण्डनमा सम्पन्न भएको छ । ग्रीनफोर्ड हलमा आयोजित कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिएको थियो । लन्डनस्थित ग्रीनफोर्ड हलमा शनिबार इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को दोस्रो संस्करण सम्पन्न भएको छ ।

समारोहमा चलचित्र ‘छक्का पञ्जा ५’ ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (दीपाश्री निरौला), पब्लिक च्वाइस अवार्ड अभिनेता (दीपकराज गिरी), स्क्रिनप्ले र कोरियोग्राफी विद्यामा अवार्ड जितेको छ । त्यस्तै, जुरी अवार्ड निर्देशक विधामा चलचित्र ‘अञ्जिला’ बाट निर्देशक मिलन चाम्स सम्मानित हुनुभयो ।

गतवर्ष रिलिज भएका ५५ फिल्ममध्येबाट २७ विधामा अवार्ड दिइँदा लिड रोल मेल अवार्ड ‘पूर्णबहादुरको सारंगी’ बाट विजय बराल एवं लिड रोल फिमेल अवार्ड चलचित्र ‘खुस्मा’ बाट उपासनासिंह ठकुरीले जित्नुभयो । उत्कृष्ट सम्पादन अवार्ड ‘आउट ल’ बाट साहिल खानले पाउनुभयो भने उत्कृष्ट सिनेमाटोग्राफी ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले जित्नुभयो ।

एक्टर इन नेगेटिभ रोलको अवार्ड ‘पिताम्बर’ बाट प्रमोद अग्रहरीले पाउनुभयो । सर्पोटिङ रोल मेलतर्फ जितु नेपाल (कार्साङ) बाट प्राप्त गर्नुभयो भने सर्पोटिङ रोल फिमेलतर्फ सिर्जना सुब्बा (अन्जिला) र ऋचा घिमिरे (तेल भिसा) ले प्राप्त गर्नुभयो । डेब्यू एक्टर मेल अवार्ड ‘बर एण्ड बधु’ बाट विवेक कर्मचार्य र डेब्यु एक्टर फिमेल सिर्जना निङ्लेखु (कार्साङ) ले प्राप्त गर्नुभयो ।

बेस्ट एक्सन अवार्ड ‘आउट ल’ बाट छुल्ठे काजी र श्री श्रेष्ठ, वेष्ट म्युजिक कम्पोजर थानेश्वर गौतम (अञ्जिला), उत्कृष्ट गायनतर्फ पुरुष आशिष बराल (पूर्णबहादुरको सारंगी) र महिला शान्तिश्री परियार (खुश्मा-रूकुम मैकोट)बाट पाउनुभयो । स्पेसल मेन्सन मुभी अवार्ड ‘सतीदेवी’ र स्पेसल मेन्सन निर्देशकको अवार्ड कृषा चौलागाईंले प्राप्त गर्नुभयो ।

ब्लकवष्टर अफ द इयर अवार्ड ‘पूर्णबहादुरको सारंगी’ले पायो भने इन्करेजमेन्ट अवार्ड दिव्या रायमाझी र सुमन भण्डारी एवं पपुलर अवार्ड प्रदीप खड्का (पीताम्बर) र स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)ले प्राप्त गर्नुभयो । विशेष योगदान सम्मान अभिनेत्री केकी अधिकारी र ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गरिएको थियो । पब्लिक च्वाइस अवार्ड अभिनेत्रीतर्फ ’ह्रस्वदीर्घ’बाट नीता ढुंगानाले पाउनुभयो ।

जुरी अवार्ड मेल महेश त्रिपाठी (लाज शरणम) र जुरी फिमेल दीया मास्के (कार्साङ)लाई प्रदान गरिएको थियो । कमेडी एक्टर अफ द इयर अवार्ड केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले पाउनुभयो भने डायस्पोरा मुभी अवार्ड ‘तेल भिसा’ले प्राप्त ग¥यो । गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आबद्ध जुरीले विभिन्न विद्यामा फिल्म छनोट गर्नुभएको हो ।

कार्यक्रममा जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र सीतादेवी तिमिल्सेनाले कमेडी प्रस्तुति दिनुभएको थियो भने दीपकराज गिरी र दीपाश्री निरौलाको नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । कविता नेपाली, तेरिया मगर, समर्पण लामा, एलिशा शर्मा, दीया मास्के र उषा उप्रेतीले गरेको नृत्य प्रस्तुति आकर्षक देखिन्थ्यो । रिहान गिरीले गायन प्रस्तुति दिनुभयो भने मलिना जोशी र जितु नेपालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

वरिष्ठ अभिनेता रमेश बुढाथोकीले नेपाली चलचित्रको प्रारम्भकालदेखि डिजिटल युग प्रवेश उल्लेख गर्दै हाल अन्तर्राष्ट्रिय बजारमा यसको पहुँचबारे धारणा राख्नुभयो । समारोहमा गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासनासिंह ठकुरी, दिव्या रायमाझी, ऋचा घिमिरे, शंकर घिमिरे, फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बा, मिलन चाम्सलगायत व्यक्तित्वको उपस्थिति थियो ।

नेपाली कलाकारको योगदान र प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा सम्मानित गर्दै चलचित्र विकास, प्रवद्र्धन र बजार विस्तारमा योगदान पुर्‍याउनु अवार्डको उद्देश्य रहेको अवार्डका प्रमुख संयोजक उमेशराज मोक्तानले बताउनुभयो ।