युरोपियन च्याम्पियनसिपको फाइनलमा आज स्पेन र इंग्ल्याण्ड भिड्दै।

बर्लिन:= युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियनसिपको फाइनल आज(आइतबार) राती हुँदैछ । फाइनल स्थानीय समयअनुसार राती ९ बजे सुरु हुनेछ । फाइनलमा उपाधिका लागि विश्व फुटबलका दुई महाशक्ति स्पेन र इंग्ल्याण्ड भिड्दै छन् । फाइनलमा स्पेन र इंग्ल्याण्ड सन् २०१८ यता पहिलोपटक एकापसमा भिड्न लागेका हुन् ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराएर उपाधि नजिक पुगेका हुन् । स्पेनले अहिलेसम्म खेलेका सबै ६ खेल जितेको छ । स्पेनका किशोर खेलाडी लामिन यमलको चर्चा जताततै छ । स्पेनले तीनपल्ट युरो जितिसकेको छ । अब कीर्तिमानी चौथोपल्ट जित्ने प्रयासमा हुनेछ ।

इंग्ल्याण्डले युरोको फाइनल खेल्न लागेको यो लगातार दोस्रोपल्ट हो । यसअघि युरो २०२० मा पनि इंग्ल्याण्ड फाइनल पुगेको थियो तर इटालीसँग पराजित रहृयो । सन् १९६६ मा इंग्ल्याण्डले विश्वकप जितेको थियो । यो नै टिमको एकमात्र ठूलो उपलब्धि रहेको छ ।

सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएका छन् । अहिलेसम्मका खेलमा इंग्ल्याण्ड १४ पटक विजयी भएको छ भने स्पेनको पक्षमा १० जित छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला नौ खेलमध्ये स्पेन पाँचपटक भएको विजयी छ ।

फाइनलमा यामललाई पूरै समय खेलाए जरिवाना

जारी युरोमा उत्कृष्ट प्रदर्शन गर्नुभएका स्पेनिस खेलाडी लामिन यामललाई टिमले पूरै समय खेलाउन नपाउने भएको छ । यदि टिमले यामललाई पूरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्नेछ ।

१७ वर्षीय लामिन यामलले इंग्ल्याण्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानुनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुन सक्छ । जर्मनीको श्रम कानुनअनुसार नाबालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ । यामलले शनिबारमात्र आफ्नो १७औँ जन्मदिन मनाउनुभएको छ ।

१६ वर्ष ३६२ दिनको उमेरमा यामलले यस हप्ताको सुरुमा फ्रान्सविरुद्ध म्युनिखमा भएको सेमिफाइनलको २१औँ मिनेटमा गोल गर्दै युरोमा सबैभन्दा कान्छो गोलकर्ता बन्नुभएको थियो । जर्मनीको श्रम कानुनअनुसार १८ वर्षमुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे (स्थानीय समय) पछि काम गर्न पाउँदैनन् ।

स्पेनलाई हराउन रणनीतिक रूपमा अब्बल हुनुपर्छ : प्रशिक्षक साउथगेट

इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरोपियन च्याम्पियनसिपको फाइनलमा स्पेनलाई हराउन इंग्ल्याण्ड रणनीतिक रूपमा अब्बल हुनुपर्ने बताउनुभएको छ । ‘यो प्रतियोगितामा स्पेनले जे गरेको छ, त्यसका आधारमा उनीहरू नै प्रतियोगिताको मुख्य दाबेदार हुन्,’ साउथगेटले भन्नुभयो, ‘स्पेन उत्कृष्ट टोली भएकाले हामी रणनीतिक रूपमा अब्बल हुन आवश्यक छ ।’

केनसँग गोल्डेन बुट होइन, उपाधि जित्न प्रतिस्पर्धा गर्छु : प्लेमेकर ओल्मो

स्पेनका प्लेमेकर डानी ओल्मोले युरोकपमा गोल्डेन बुटका लागि नभई उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । गोल्डेन बुटका लागि इंग्ल्याण्डका हृयारी केनसँग प्रतिस्पर्धामा रहनुभएका उहाँले स्पेनले कीर्तिमानी चौथोपटक युरोकपका लागि प्रतिस्पर्धा गरिरहेका बेला ओल्मोले आफ्नो व्यक्तिगत गौरवभन्दा टोलीको लक्ष्य धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।

ओल्मो र केनसहित अन्य चार खेलाडीले समान तीन गोल गरेका छन् । बर्लिनमा आइतबार हुने फाइनलमा ओल्मो र केनमध्ये जसले एक गोल ग¥यो उसैले गोल्डेन बुट पाउने सम्भावना छ । ओल्मोले भन्नुभयो, ‘यो (गोल्डेन बुट) अतिरिक्त प्रेरणा हो, यसका लागि ठाउँ पनि छ । तर, मलाई परवाह छैन । प्रतियोगितामा म निकै राम्रो महसुस गरिरहेको छु । राम्रो लयमा छु । त्यसैले मैले यसको फाइदा उठाउँदै जानुपर्छ ।’ एजेन्सी