कांग्रेस-एमाले सहकार्यमा ओली फेरि दुईतिहाइ बहुमतसहित नेपालको प्रधानमन्त्री बन्दै।

काठमाडौं := संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएसँगै केपी शर्मा ओली फेरि दुईतिहाइ बहुमतसहित चौथोपटक नेपालको प्रधानमन्त्री बन्दै हुनुहुन्छ । एमाले संसदीय दलका नेता ओली आज (आइतबार) मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त हुन लाग्नुभएको हो ।

तर, उहाँको शपथ भने सोमबार मात्रै हुने भएको छ । आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी रहेको स्रोतले जनाएको छ। संविधान को धारा ७६(२) अनुसार एमाले अध्यक्षसमेत रहनुभएका ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आहृवान गरेसँगै कांग्रेस र एमालेले शुक्रबार राति नै ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।

ओली नेपालको प्रधानमन्त्री बन्न लागेको यो व्यक्तिगत रूपमा तेस्रोपटक र प्राविधिक रूपमा चौथोपटक हो । यसअघि उहाँ दुईपटक प्रधानमन्त्री भइसक्नु भएको छ । २०७४ फागुन ३ मा प्रचण्ड बहुमतको प्रधानमन्त्री भएर बीचमा दुई तिहाइको समर्थन पाउनुभएका ओली पहिलोपटक अल्पमतमा परेर पदमुक्त हुनुभएका ओली २०७८ सालमा फेरि सबैभन्दा ठूलो दलका नेताका रूपमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुनुभएको थियो । एमाले अध्यक्ष ओली नयाँ संविधान जारी भएलगत्तै २०७२ असोज २४ मा तत्कालीन माओवादी केन्द्रसहितका दलको समर्थनमा पहिलोपटक प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । सरकारको नेतृत्व आलोपालो गर्ने ‘भद्र सहमति’ कार्यान्वयन नभएको भन्दै सत्ता सहयात्री माओवादीले विपक्षी दलसँग मिलेर संसद्मा अविश्वासको प्रस्ताव ल्याएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

ओलीले पहिलो प्रधानमन्त्रीत्व कालमा भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उहाँले १० महिना सरकारको नेतृत्व गर्नुभएको थियो । यस्तै, २०७४ फागुनदेखि २०७८ असारसम्म उहाँले कम्युनिष्ट सरकारको नेतृत्व गर्नुभएको थियो । झण्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गर्नुभएका उहाँ जनादेश मापन गर्ने मुख्य थलो संसद्बाट विश्वास गुमाएर बाहिरिनुभएको थियो ।

जनादेश गुमाइसकेर पनि प्रधानमन्त्री नछोड्नुभएका उहाँलाई अन्ततः सर्वोच्च अदालतको परमादेशले बहिर्गमित बनाइदिएको थियो । उहाँको दोस्रो कार्यकाल लामो र निकै उतारचढावपूर्ण थियो । झण्डै दुईतिहाइ बुहमतसहित रापतापले सिंहदरबार प्रवेश गर्नुभएका ओली साढे तीन वर्षपछि सर्वोच्चले पदमुक्त गरेपछि बाहिरिनुभएको थियो । ओलीले तीन वर्षे कार्यकालमा दुईपटक प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । दुवैपटक सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो ।

फेरि दुईतिहाइ बहुमत

कांग्रेस र एमालेबीच यसअघि पनि पटक-पटक सत्ता सहकार्य भइसकेको छ । यसअघि दुई दलबीच पाँचपटक सहकार्य भएको इतिहास छ । पछिल्लो समय २०७० मा संविधान जारी गर्नेबेला दुई दलबीच सत्ता सहकार्य भएको थियो । पछिल्लो २६ वर्षमा कांग्रेस-एमालेबीच ६ पटक सत्ता सहकार्य हुन लागेको हो । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

अहिले ओली प्रधानमन्त्री बने पनि डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ । संसद्का दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर संविधान संशोधनसहित जनतालाई सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले नेपालमा नयाँ सत्ता समीकरण बनाएको दाबी गरेका छन् । गत असार १७ गते भएको सम्झौताको ड्राफ्ट बाहिर सार्वजनिक नभए पनि कांग्रेस र एमालेका नेताहरूको भनाइ मान्ने हो भने, संविधान संशोधन र स्थिर सरकारको कुरा अघि सारिएको छ ।

ओली २००८ फागुन ११ गते तेह्रथुम, इवामाको सामान्य किसान परिवारमा जन्मिनुभएको हो । पिता मोहननाथ ओली र आमा मधु ओलीको कोखबाट जन्मनुभएका उहाँको बाल्यकाल निकै दुःखसाथ बितेको थियो । २०२३ बाट माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण पाउनुभएका ओली २०२८ सालमा पञ्चायतविरुद्ध सुरु भएको झापा विद्रोहका नेता हुनुहुन्छ ।

त्यसमा लागेबापत किशोरवयमै उहाँ तत्कालीन पञ्चायती प्रशासनबाट पक्राउ पर्नुभएको थियो । २०३० सालबाट लगातार १४ वर्ष जेलजीवन बिताउनुभयो । जेलमध्ये पनि कठोर यातना दिने काठमाडौंको गोलघरमा उहाँलाई धेरै समय राखिएको थियो । उहाँ २०४८ सालबाटै संसद्मा निर्वाचित हुँदै आउनुभएको छ ।

२०६४ सालको संविधानसभाबाहेक अन्य सबै चुनाव उहाँले जित्दै आउनुभएको छ । उहाँ पहिलोपटक २०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री हुनुभएको थियो । दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री  बन्नुभएको थियो ।

एमाले पार्टीभित्रका पुराना नेता ओलीलाई पार्टीको मूल नेतृत्व सम्हाल्ने अवसर भने २०७१ सालमा मात्र मिलेको थियो । झलनाथ खनाल र माधव नेपालको नेतृत्व हुँदा ओलीको भूमिका पार्टीभित्र विपक्षीको जस्तै थियो । त्यही विपक्षी छविको निरन्तरताले उहाँलाई पार्टीको सत्ताको नेतृत्वमा पनि पु¥याएको हो ।

२०७० सालको निर्वाचनपछि पार्टीको संसदीय दलको नेता बन्नुभयो । त्यसको ६ महिनापछि पार्टीको नेतृत्वमै पुग्नुभएको हो । ओलीको सबभन्दा ठूलो शक्ति भनेकै बोली हो । तिखो र उखान टुक्का जोडेर बोल्ने उहाँको शैली अन्य समकालीन नेताहरूभन्दा फरक छ । जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया गर्ने शैलीका कारण उहाँ आलोचनामा पनि पर्ने गर्नुहुन्छ ।

दुई ठूला दलको प्रबलता रहेको नयाँ गठबन्धन सरकार झण्डै दुई तिहाइकै हाराहारीमा हुनेछ । अझै साना केही दलले पनि समर्थन गर्ने पक्का भएकाले दुई तिहाइभन्दा बढी नै हुनेछ । यसकारण अबको गठबन्धन सरकारलाई चुनौती मात्रै होइन इतिहासमै विरलै मात्र प्राप्त हुने अवसर पनि छ ।

नेका एमाले सत्ता गठबन्धनले संसद्को प्रतिपक्ष कमजोर हुने निश्चित छ । साना दलहरूमा समेत देखिएको सत्तामोहले प्रतिपक्षीय रणनीति बन्न सक्दैन । कमजोर प्रतिपक्षका कारण संसद् र सरकार दुवैतिर सत्ताधारी दलहरूको एकलौटी उपस्थिति रहनेछ । यस्तो अवस्थामा सरकारलाई काम देखाउने सहज हुनेछ ।

जनतामा व्यापक निराशा छ । अर्थतन्त्र समस्यामै छन् । व्यवसायीको मनोबल बढेको छैन । यी सारा चुनौतीबीच ओलीलाई एकपटक फेरि आफूलाई प्रमाणित गर्ने अन्तिम अवसर फेरि आएको छ । यो अवसर राजनीतिक रूपमा फेरि आउला/नआउला तर, यसपटक सरकारलाई फेरि निराश बनाउने छुट छैन ।

नयाँदेखि पुराना सबै लगभग असफल सिद्ध भइसकेको अवस्थामा दुई ठूला दल मिलेर सरकार चलाउँदा पनि गर्न सकिएन भन्ने छुट छैन । कांग्रेस-एमालेले पनि जनतामा व्याप्त निराशा चिरेर आशा जगाउन सकेनन् भने यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ ।

[ डिबी शर्मा / हिमालय टाइम्स ]