नेपाल सरकारले फ्री भिसा- फ्री टिकटको नीति पुर्ण कार्यावनयन गराउन नसक्नुको कारण के ?

काठमाडौँ:= नेपाल सरकारको तत्कालीन श्रम राज्यमन्त्री टेक बहादुर गुरुङले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए– फ्री भिसा- फ्री टिकट । मन्त्रीसरहको निर्णय गर्न पाउने अधिकारसहित तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गुरुङलाई राज्यमन्त्री बनाएर अधिकार दिएका थिए ।

त्यो बेलाका हर्ताकर्ता मेनपावर व्यवसायीसमेत रहेका गुरुङको प्रस्तावमा २०७१ जेठ २६ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया र खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटको नीति लागु भएको थियो । चौतर्फी विरोधका बाबजुद उनले सोही वर्ष असार २१ बाटै उक्त निर्णय कार्यान्वयनमा ल्याएका थिए ।

उक्त निर्णयपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र हवाई टिकट बापतको रकम रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने भयो। तत्कालीन राज्यमन्त्री गुरुङले मेनपावर कम्पनीलाई दिनुपर्ने सेवा शुल्कसमेत १० हजार तोकिदिए । त्यसपछि मेनपावर व्यवसायीहरू चर्को विरोधमा उत्रिए । उनीहरूले २९ दिनसम्म सडक आन्दोलनमा उत्रिए ।

तर, सरकार आफ्नो निर्णयबाट पछि हटेन । २०७५ सालमा सर्वोच्च अदालतले समेत फ्री भिसा, फ्री टिकटको निर्णय प्रभावकारी रूपमा लागु गर्न निर्देशन दियो । व्यवसायीहरूले भने निर्णय भएसँगै आजका दिनसम्म पनि यसको विरोध गर्दै आएका छन् । कुनै पनि देशमा यो व्यवस्था लागु नभएको तर, नेपालमा लागु गर्न खोजिएको भन्दै व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

फ्री भिसा, फ्री टिकटको नीति ल्याएको १० वर्ष पूरा भएको छ । तर, यसको कार्यान्वयनबारे सधैँ प्रश्न उठ्दै आयो । यो नीति लागु भएसँगै नेपालमा श्रम स्वीकृति लिएर ३० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको सरकारको तथ्याङ्क छ । तर, कति जना फ्री भिसा, फ्री टिकटमार्फत गए भन्ने तथ्याङ्क सरकारसँग छैन ।

२०७३ सालमा विभागले व्यवसायीहरूसँग त्यसको तथ्याङ्क मागेको थियो । त्यसबेला केही सीमित व्यवसायीले मात्र त्यसको विवरण बुझाएका थिए । त्यस यता विभागले यो पटक तथ्याङ्क माग गरेको छ । १५ दिनको समय तोकेर विभागले विवरण माग गरेको हो ।

विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीका अनुसार हालसम्म १४ वटा मेनपावर कम्पनीले फ्री भिसा, फ्री टिकट र शून्य लागतको विवरण पेस गरेका छन् । विवरण बुझाउने समय केही दिन बाँकी रहेकाले थप विवरण आउने र कामदार पठाएको यकिन तथ्याङ्कसमेत आउने सुवेदीले बताए ।

सरकारसँग आधिकारिक तथ्याङ्क नभए पनि व्यवसायीहरूले ४ देखि ५ प्रतिशतको हाराहारीमा फ्री भिसा, फ्री टिकट र शून्य लागतमा वैदेशिक रोजगारीमा गएको दाबी गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा चार लाख ९४ हजार २२४ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमा पुनः श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्क समावेश छैन । त्यो सङ्ख्या जोड्दा सात लाख ७१ हजार ३२७ हुन आउँछ ।

श्रम स्वीकृति लिएर गएका जम्मा श्रमिकहरूमध्ये ५ प्रतिशतमात्रै पनि शून्य लागत र फ्री भिसा, फ्री टिकट मार्फत गएका हुन् भने २४ हजार ७११ पुग्छ । तर, यकिन तथ्याङ्क भने कसैसँग पनि छैन ।

एकातिर यो नीतिको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन भने अर्कोतिर यसको प्रभावबारे समेत अध्ययन भएको छैन । मेनपावर व्यवसायी मात्रै नभई सरकारका अधिकारीहरू नै यो नीति कार्यान्वयन गर्न नसकिएको दाबी गर्दै आएका छन् ।

भर्खरै निवर्तमान हुन पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले शुल्कको विषय पुनरावलोकन गर्नुपर्ने बताउँदै आएका छन् । शुल्कको विषय टुङ्गो नलाग्दा श्रमिकहरू बढी ठगिँदै आएको उनको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० औँ वार्षिक साधारणसभा तथा ३२ औँ स्थापना दिवसको अवसरमा अर्यालले व्यवसायीले गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब एक अर्ब ६० करोड रुपैयाँ श्रमिकहरूबाट उठाउँदै आएको बताएका थिए ।

उनले सेवा शुल्क तोकिने तर, शून्य लागत र फ्री भिसा, फ्री टिकटको नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए । तर, यतिको वर्षसम्म किन प्रभावकारी हुन सकेन भन्ने प्रश्नको जवाफ सरकार तथा सरोकारवाला कुनै निकायसँग छैन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले उक्त नीति कार्यान्वयन गर्न नसकिने कुरामा आफूहरू सुरुदेखि नै अडिग रहेको बताए । त्यसका लागि व्यवसायी तथा नेपाल सरकार जिम्मेवार बन्नेभन्दा पनि रोजगारदाता राजी भएपछि मात्रै गर्न सकिने उनको तर्क छ ।

ठुल्ठुला कम्पनीले सबै खर्च आफैँ बेहोरेर कामदार लगिरहेको बताउँदै उनले भने, ‘कतिपय अवस्थामा कामदारको सम्पूर्ण खर्च कम्पनीले नै बेहोर्ने गरेका छन् । कतिपय अवस्थामा भिसा र टिकटमात्रै कम्पनीले बेहोर्ने गरेको छ । कतिपय अवस्थामा पासपोर्ट बनाउनेसम्मको खर्च कम्पनीले नै तिर्ने गरेको छ । हामीले सबै कुरा यसरी नै पठाउन सकिँदैन ।’

तर, केही म्यानपावर व्यवसायीले भने त्यही नीति अनुसार वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । १४ वटा मेनपावर कम्पनीले त सरकारलाई विवरण नै बुझाइसकेका छन् । उनीहरूले मलेसियासहित खाडी मुलुकहरू साउदी, कतार, यूएई, बहराइन, कुवेत, जोर्डन र ओमान जाने कामदारलाई फ्री भिसा, फ्री टिकट र शून्य लागतमा कामदार पठाउँदै आएका छन् ।

समाचार स्रोत : कृष्णसिंह धामि / रातोपाटी न्युज