बेमौसमी वर्षाको बबण्डरमा १९ जिल्ला प्रभावित, देशभर आठ दर्जन बढीको ज्यान गयो, दर्जनौँ बेपत्ता।

काठमाडौं:= केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर देशभर करिब आठ दर्जन व्यक्तिको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार अबेरसम्म बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८२ पुगेको हो ।

महाशाखाले बुधबार अबेर दिएको जानकारीअनुसार तीन दर्जन बढी संख्यामा मानिसहरू अझैं बेपत्ता छन् । महाशाखाले बुधबार अपरान्ह दिएको जानकारीअनुसार विपद्मा परेर दुई दर्जन बढी घाइते भएका छन् । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको महाशाखा प्रमुख हुमकला दाहालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयसम्म विभिन्न जिल्लाबाट ७०० जनाको उद्धार गरिएको छ। बाढीपहिरो र डुबानबाट देशभर १९ जिल्ला प्रभावित भएका छन् ।

बाढीपहिरो र डुबानबाट सुदूरपश्चिममा सबैभन्दा धेरै असर गरेको छ । जहाँ बाढीपहिरोमा परी २५ जनाले ज्यान गुमाएका छन् । २२ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बुधबार अबेर दिएको जानकारीअनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चारजनाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार बझाङको थलारा गाउँपालिका-४ डिख्लामा पहिरोमा परी अझै २० जना बेपत्ता छन् । मंगलबार बिहान गएको पहिरोमा परी सातवटा घर बगेका र २३ जना बेपत्ता भएका उहाँले बताउनुभयो । यसैगरी कैलालीमा एकजना बेपत्ता छन् ।

बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको जोरायल गाउँपालिकास्थित बुडरनजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा सातैवटै जिल्ला जोड्ने सडक अवरुद्ध बनेको हो।

भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकास्थित भासु भीरनजिक पनि पहिरो गएको प्रहरीको भनाइ छ । केही ठाउँमा पहिरो पन्छाएर बाटो खोलिएपछि पुनः पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको प्रहरीले जनाएको छ । सडक मात्रै होइन अधिकांश ठाउँमा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन सकेको छैन ।

कर्णालीमा एकै परिवारका ६ सहित आठको मृत्यु

कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले आठजनाको मृत्यु भएको छ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा एकै परिवारका ६ सहित कालीकोट र सुर्खेतमा एक÷एक गरी सातजनाको ज्यान गएको हो ।

एकजना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पशु चौपाया र धानबालीमा समेत क्षति पुगेको छ भने कर्णाली राजमार्ग ६ ठाउँमा अवरुद्ध भएको छ । प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रदेश प्रहरीले जनाएको छ ।