देशैभर एमालेको प्रतिवाद नगरी आउँदो चुनाव जितिन्न: प्रचण्ड।

काठमाडौं := नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उहाँले अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटि माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्’ उहाँले भन्नुभयो, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने गरी काममा लाग्नुस् ।’

प्रचण्डले अघि भन्नुभयोे, ‘छाती खोलेर भन्नु हामीले बनाएको हो संविधान । यिनीहरू विरोधी हुन् भन्दै हिँड्नुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मिहिनेत गरौं ।’ अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि उहाँविरुद्ध आक्रमण गरेको बताउनुभयो । ‘मैले केपी ओलीको विचार के हो ? शैली के हो ? रणनीति के हो ? उसको भ्रष्टाचार कति छ ? भनेर आक्रमण गरेकै हो’, उहाँले भन्नुभयो, ‘मैले पेश गरेको त्यो डकुमेन्ट ‘बमबार्ड द बुर्जुवा हेडक्वार्टर’ नै थियो ।’

उहाँले ओलीविरुद्ध दस्तावेजको ‘बम’ हानेपछि आफूलाई बालुवाटारको कैदबाट मुक्ति मिलेको पनि बताउनुभयो । ‘ओलीविरुद्ध पेश गरेको त्यो दस्तावेज बम नै हो । तीन वर्षभित्र कता-कता बालुवाटारभित्र कैदी भएको जस्तो थियो’, उहाँले अगाडि भन्नुभयो, ‘बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुका बालुवाटार, म त वाक्क भइसकेको थिएँ । जति पेले पनि तेल त आउने होइन’, उहाँले भन्नुभयो ।

उहाँले एउटा प्रधानमन्त्री र आफ्नै पार्टीको अध्यक्षविरुद्धको विद्रोह गम्भीर नै रहेको बताउनुभयो । ‘एउटा प्रधानमन्त्री र आफ्नो पार्टीको अध्यक्षविरुद्ध विद्रोह र आक्रमण अलिक गम्भीर नै थियो’ उहाँले भन्नुभयो, ‘मेरो जोखिम मोल्ने आँटले जे पनि हुन सक्थ्यो । तर, मैले देशलाई दुर्घटनाबाट पर्न जोगाएँ ।’ अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक-पटक दोहोर्‍याउनुभयो । तर, केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरूले पार्टीभित्रैबाट विद्रोह गरेको उहाँको भनाइ थियो ।

‘पूर्व-माओवादी शक्ति एकजुट हुनुपर्छ’

प्रचण्डले पूर्व-माओवादी शक्तिबीच एकता अघि बढाइएको पनि बताउनुभएको छ । उहाँले नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईसहितका शक्तिसँग एकताका लागि कुरा भइरहेको बताउनुभयो । ‘अहिले हामी सबै ज्ञानी भएका छौँ । बाबुरामजी पनि ज्ञानी हुनुभयो, विप्लवजीमा ज्ञान फिरेको छ । म पनि ज्ञानी भएँ’, दाहालले एकताबारे अगाडि भन्नुभयो, ‘जनता र हाम्रा कार्यकर्ता ठीक ठाउँमा छन्, उनीहरू बिग्रिएका छैनन् । हामीले अब आत्मसमीक्षा गर्दै जनतामा पुग्न जरुरी छ । ज्ञान फिरेकाले कम्युनिष्टहरू फेरि एक हुने अवस्था बन्दैछ ।’

उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रियासमेत दिनुभयो । ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे, राष्ट्रको हित गर्ने सबै मान्छेसँग सहकार्य भएको छ ।

पार्टी एकता भइसकेको थिएन, चुनाव भइसकेको थियो । शेरबहादुरले मलाई भन्नुभएको थियो, पाँच वर्ष नै तपाईं प्रधानमन्त्री हुनुस् । हामी फ्लोवरमा बसेर समर्थन गर्छौं तपाईंलाई’, उहाँले भन्नुभयो, ‘तर, जनताबीच जान छाडेर प्रधानमन्त्री खान खोजेँ भने त म पनि प्रतिक्रियावादी जस्तै अवसरवादी हुने भएँ, मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइनँ । तर, डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस् भनेर शेरबहादुरलाई धेरैपटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’