इमानदारिताभन्दा चर्चामै रमाउने दुर्गेश

काठमाडौं । नेपाली कला क्षेत्रमा चासो राख्ने दर्शकलाई अपरिचित नाम होइन दुर्गेश थापा । म्युजिक भिडियोको क्षेत्रमा होस् या गायनको क्षेत्रमा दुर्गेशको चर्चा निकै हुन्छ । विशेषगरी म्युजिक भिडियोमा अभिनय गर्दै पछि गायनमा प्रवेश गर्नुभएका दुर्गेशलाई पछिल्लो समयका दर्शक तथा श्रोताले गायक भनेर चिन्छन् ।

तर, अग्रज गायक तथा गायिका अथवा संगीत बुझेकाहरूले दुर्गेशलाई फिटिक्कै गायक भन्न रुचाउँदैनन् । किनकि दुर्गेशमा संगीतको ज्ञान नै नभएको संगीतकारहरूले बताउँदै आएका छन् । हुन त केही समयअघिसम्मका अन्तर्वार्तामा दुर्गेश आफैंले आफू गायक नभई स्टेज पर्फमर भएको बताउँदै आउनुभएको थियो । दुर्गेशले गाउने अधिकांश गीतहरू चर्चामा आउँछन् तर प्रशंसा बटुलेर नभई विवादमा परेर । उहाँले गाउने लगभग सबैजसो गीत कुनै न कुनै तरिकाबाट विवादमा आएकै हुन्छन् ।

चार महिनाअघिमात्रै सार्वजनिक भएको ‘सलाई छ सलाई’ बोलको गीतले पनि गाँजा शब्द प्रयोग गरिएको भन्दै विभिन्न आचोलना खेप्नुप¥यो । उक्त गीत सार्वजनिक गर्नुपूर्व दुर्गेशले गाँजा शब्द प्रयोग गर्ने कि नाइँ भनेर केही साथीभाइसँग छलफल पनि गरेको बुझिएको छ तर गीत सार्वजनिक भइसकेपछि विवादमा आयो भने झन् चर्चा हुन्छ भनेर दुर्गेश निकट एक मिडियाकर्मी बताउँछन् । बुझिएअनुसार आफू नजिक मिडियाकर्मीलाई दुर्गेशले विवादास्पद शीर्षकमै भएपछि समाचार लेख्न लगाउने गर्नुहुन्छ । जसका कारण गीत थप विवादमा आओस् र चर्चा पाओस् ।

यस्तै पाँच महिनाअघि सार्वजनिक ‘घमण्डी ब्रो’ बोलको गीतका शब्दप्रति पनि अन्य सर्जक तथा दर्शकले आपत्ति जनाएका थिए । तर, त्यस्ता कुरामा दुर्गेशले कुनै पनि प्रतिक्रिया जनाएको देखिँदैन । अहिलेसम्म कुनै गीतका शब्दले अन्य दर्शक तथा श्रोतामा असर पर्न गएको भएमा क्षमा चाहन्छु भन्दै न कुनै माफी न कुनै विज्ञप्ति नै निकालेको पाइन्छ । बरु दुर्गेशले गीत विवादका बीच युट्युब टे«न्डिङमा आएपछि खुसी हुँदै सामाजिक सञ्जालमा स्क्रिनसर्टसमेत राख्न भ्याउनुहुन्छ ।

दुर्गेश आजभन्दा ११ महिनाअघि निकै विवादमा पर्नुभयो । एक टेलिभिजन अन्तर्वार्तामा बोल्ने र गीत गाउनेक्रममा विवादमा आएपछि धेरैले दुर्गेशलाई सामाजिक सञ्जालमा ‘आलुजस्तो गायक’ भन्दै प्रतिक्रिया जनाए । त्यसपछि केही दिनमै दुर्गेशले ‘आलुजस्तो गायक’ नै शीर्षक राखेर गीत नै सार्वजनिक गर्नुभयो । त्यो बेला दुर्गेशको चर्चा अझै बढेको थियो । दुर्गेश युट्युबको ट्रेन्डिङसँग निकै रमाउने गर्नुहुन्छ । दुर्गेशलाई आफूले गाएको गीत युट्युबको ट्रेन्डिङमा आएन भने निन्द्रै लाग्दैन । बुस्ट (पैसा तिरेर प्रमोट) गरेर हुन्छ कि अथवा टिकटकरलाई टिकटक बनाउन लगाएर हुन्छ कि जसरी पनि युट्युबको टे«न्डिङमा ल्याउन कस्सिनुहुन्छ । दुर्गेशको आफ्ना दुईवटा युट्युब च्यानल छन् । एउटा आफ्नो नामको छ भने अर्को ‘डि सिरिज’ । गायनको सुरुवातका दिनहरूमा आफ्नै नामको युट्युब च्यानलमा भिडियो अपलोड गर्दा टे«न्डिङमा आइरहन्थ्यो । तर, पछिल्लो समय उक्त युट्युब च्यानलमा अपलोड भएका भिडियो टे«न्डिङमा आउन छाडेपछि ‘डि सिरिज’ नामको अर्को च्यानल चलाइरहनुभएको छ । उक्त ‘डि सिरिज’ युट्युब च्यानल भिडियोहरू टे«न्डिङमा नआएकै कारण किनिएको बुझिएको छ ।

दुर्गेशले गाएका केही गीतहरूले भने सकारात्मक प्रतिक्रिया पाएका छन् । दुई वर्षअघिको तीजमा सार्वजनिक ‘बिच्च बिच्चमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया पायो । उक्त गीतमा कुनै अपाच्य शब्द प्रयोग भएका थिएनन् । त्यसैले पनि दर्शक तथा अन्य सर्जकले पनि उक्त गीतको प्रशंसा गरे । यस्तै १० महिनाअघि सार्वजनिक अञ्जु पन्तसँगै दुर्गेशको स्वर रहेको ‘तिमी यति राम्रो किन’ बोलको गीतले पनि राम्रो चर्चा बटुलेको थियो ।

दुर्गेशले यस वर्षको तीज पर्वलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गर्नुभएको छ । जुन गीत फेरि विवादमा परेको छ । ‘बिच्च बिच्चमा ४’ नाम दिइएको उक्त तीज गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दलाई लिएर अग्रज सर्जक तथा दर्शकले आलोचना गरेका छन् । यसै विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ध्यान आकर्षणसमेत गराएको छ ।

प्रतिष्ठानले दुर्गेशको नाममा काटेको पत्रमा लेखिएको छ- ‘विगतका वर्षहरू जस्तै यस वर्ष पनि तीज पर्व नजिकिँदै जाँदा गीतसंगीतका माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरू प्रस्तुत गर्दा हजुरको आगामी तीज गीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्द विषयपरक तीज गीतका नाममा समाजमा सम्प्रेषित हुन उचित नलागेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले ठहर गरेकाले यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिकरूपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोधसमेत गर्दछौं । कलाकारितामा नैतिकता र इमानदारिता नै ठूलो हो न कि पैसा र चर्चा ।’