टोकियो ओलम्पिकमा कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन?

काठमाडौं:= विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिकमा नेपाली खेलाडीहरूको सम्पूर्ण स्पर्धा शुक्रबार सम्पन्न भएको छ। शुक्रबार बिहान एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धासँगै नेपालको चुनौती सकिएको हो ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । कुनै पनि खेलाडीले छनोट चरण पार गरेर नभई युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत् ओलम्पिक खेल्नुभएको हो ।

तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभयो । यद्यपि उहाँहरू कोही पनि अघिल्लो चरणमा प्रवेश गर्न सक्नुभएन ।

सरस्वती चौधरी

नेपालका लागि अन्तिम प्रतिस्पर्धी खेलाडी सरस्वती चौधरीले सामान्य प्रदर्शन गर्नुभयो । शुक्रबार बिहान महिला १०० मिटर दौडमा उहाँले आशातित प्रदर्शन गर्न सक्नुभएन । सरस्वतीले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गर्नुभएको थियो । आफ्नो हिटमा रहेका नौमध्ये उहाँ आठौं स्थानमा रहनुभयो । उहाँले यस स्पर्धामा व्यक्तिगत उत्कृष्ट समय पनि सुधार गर्न सक्नुभएन । सरस्वती पहिलो चरणबाट बाहिरिनुभएको छ । यसअघि उहाँको नाममा नै यस स्पर्धाको कीर्तिमान थियो । २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा उहाँले १२.७२ सेकेन्ड र त्यसपछि १३ औं सागमा उहाँले १२.५५ सेकेन्डको समयमा दूरी पार गर्नुभएको थियो ।

गौरिका सिंह

पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गर्नुभयो । गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा एक मिनेट ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

राष्ट्रिय कीर्तिमान बनाएपछि उहाँ खुसी देखिनुभयो । ‘खुसी लागेको छ । अलिक थकाइ पनि लागेको छ,’ प्रतिस्पर्धा सकिएपछि उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भन्नुभयो, ‘जति सक्दो राम्रो गर्ने भन्ने मेरो प्रयास थियो । यतिमै सक्छु भन्ने थिएन । कुनै खेलाडीलाई लक्ष्य लिएर खेल्दा राम्रो हुन्छ । मैले चाहिँ सकेको राम्रो गर्ने कोसिस गरेको छु ।’

एलेक्स शाह

पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुषको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभयो । हिट चरणमा एलेक्सले ५३.४१ सेकेन्डको समय निकाल्दै उक्त कीर्तिमान बनाउनुभयो । उहाँले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गर्नुभएको हो । एलेक्स आफ्नो हिट-१ मा शीर्ष स्थानमा रहनुभएको थियो । सात खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहनुभएको थियो ।

कल्पना परियार

सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभयो । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै कीर्तिमान राख्नुभएको हो । यसअघि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गर्दै कल्पनाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो । १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६१४.५ स्कोरसाथ कीर्तिमान राख्नुभएको थियो । आसाका सुटिङ रेन्जमा भएको खेलमा समग्रमा उहाँले ४६ औं स्थान हासिल गर्नुभयो । उहाँ अघिल्लो चरणमा प्रवेश गर्न भने असफल हुनुभयो ।

सोनिया भट्ट

सोनियाले जुडोतर्फ महिलाको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँ पहिलो खेलमै पराजित हुनुभयो । राउन्ड अफ ३२ को खेलमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित हुनुभएको थियो । १९ वर्षीया सोनिया विश्व बरियताको नवौं स्थानमा रहनुभएकी रुसी खेलाडी इरिनासँग इप्पोनका आधारमा पराजित हुनुभएको हो । सोनियाले एक मिनेट १६ सेकेन्डमै खेल गुमाउनुभएको थियो ।