एक्लोपन बिरामीको कारण हुन सक्छ

काठमाडौं । मनोवैज्ञानिक जोन कसियोपोको भनाइ छ ‘एक्लोपनबाट रक्तचापमा वृद्धि हुन्छ र निन्द्रा राम्रोसँग लाग्दैन ।’ यी दुईवटै कारण हृदयघातका प्रमुख कारण मानिन्छन् । त्यसैले एक्लोपन हृदयका लागि राम्रो हुँदैन । यो हृदयका लागि त्यति नै घातक हुन्छ जति धेरै फ्याट भएको खाना, मोटोपन, उच्च रक्तचाप, धूमपान वा शारीरिक श्रमको कमी ।

क्यालिफोर्नियाको स्टेन्नफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूको मतअनुसार स्तन क्यान्सरका सिकार ती महिलाहरू हुने गर्दछन् जो मिलनसार (सोसल) हुँदैनन् । आफ्ना मित्र, शुभचिन्तक, नातेदार र परिवारजनसँग घुलमिल भएर बस्ने महिलाको आयु लामो हुने गर्दछ भने त्यस्ता महिलाहरूलाई स्तन क्यान्सरजस्तो समस्या कम हुने गर्दछ । सबैसँग मिलेर हाँसीखुसी जीवन व्यतित गर्नाले तनाव हल्का वा मन प्रसन्न हुने गर्दछ जसले जीवनरक्षक प्रणाली (इम्युन सिष्टम) राम्रो हुने गर्दछ ।

जनसंख्या विशेषज्ञहरूका अनुसार एक्लै रहने मानिस समूहमा रहनेभन्दा छिटो मर्ने गर्दछन् । एक्लोपनका कारण आफ्नो व्यक्तिगत हेरचाह राम्रोसँग गर्न नसक्नुका कारण चाँडो बिरामी हुन्छन् । यस्ता व्यक्तिले आफूलाई समाजमा घुलमिल गर्न सक्दैनन् ।

नर्थ क्यारोलिनको डरहमस्थित ड्युक युनिभर्सिटी मेडिकल सेन्टरको इन्टेग्रेटिभ मेडिसिन सेन्टरका सह-निर्देशक मार्टी सुहलीवनको मतअनुसार यदि तपाईंका यस्ता साथी छन् जसको अगाडि मन खोलेर सुखदुःखका कुरा गरी रुन सक्नुहुन्छ भने तपाईं बिरामी हुने सम्भावना कम हुने गर्दछ । साथै हृदयरोगबाट पीडित हुने सम्भावना पनि कम हुन्छ । अध्ययनबाट यो पनि थाहा भएको छ जुन व्यक्तिको रुचि परिवार, साथी, सहकर्मी र सामाजिक कार्यहरूतर्फ रहने गर्दछ । त्यस्ता व्यक्तिमा रुघाखोकीबाट बच्ने एउटा दरिलो प्रतिरोधक क्षमता आउने गर्दछ ।

मेसिगन युनिभर्सिटी एन. आवरमा भएको अध्ययनबाट ज्ञात भयो कि जो मानिस सोसल र घनिष्ट साथीसंगीबीच हाँसीखुसीपूर्वक जीवन व्यतित गर्दछन् त्यस्ता मानिस धेरै लामो समयसम्म स्वस्थ जीवन बाँच्ने गर्दछन् । यसका अतिरिक्त जो आफ्ना साथीहरूको घेरामा बस्ने गर्दछन् त्यस्तो व्यक्तिलाई पहिलो हृदयाघातपछि दोस्रो हृदयाघातको खतरा धेरै कम हुन्छ । यसको विपरीत एक्लोपनमा जीवन बिताउने व्यक्तिलाई हृदयाघात हुने सम्भावना दुई गुणा बढी हुने अध्ययनले देखाएको छ ।

फ्लोरिडा विश्वविद्यालयको एक शोध छात्राको मतअनुसार जो मानिस एक्लै रहने गर्दछन् ती मानिसलाई क्यान्सर हुने खतरा धेरै हुने गर्दछ । जबकि घनिष्ट मित्र र परिवारबीच रहने मानिसलाई यो रोगको खतरा कम हुने गर्दछ । अतः विभिन्न ठाउँमा भएका विभिन्न शोधहरूको निष्कर्षअनुसार के भन्न सकिन्छ भने एक्लो जीवन स्वास्थ्यका लागि फाइदाजनक छैन । त्यसैले एक्लोपन होइन, समूहमा बाँच्न सिकौं र स्वस्थ रहौं ।