पेनाङमा दुई मनोरञ्जन केन्द्र “क्लब”मा अध्यागमनको छापा, नेपालीसहित ११४ विदेशी पक्राउ।

बुकीट मर्ताजाम (पेनाङ):= मलेसियाको पेनाङ राज्यस्थित बुकीट मर्ताजाम क्षेत्रमा रहेका दुई मनोरञ्जन केन्द्र “नाइट क्लब” मा मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन”ले छापा मार्दा नेपाली नागरिकसहित ११४ जना विदेशी पक्राउ परेका छन्।

दुई दिनअघि गरिएको उक्त संयुक्त कारबाहीका क्रममा अध्यागमन नियम उल्लङ्घन गरेको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको पेनाङ अध्यागमन विभागले जनाएको छ।विभागका अनुसार जालान केरान्जी, तामान मुवारामा रहेको पहिलो मनोरञ्जन केन्द्रबाट ६४ जना पक्राउ परेका थिए।

पक्राउ पर्नेमा ४४ थाई महिला, १४ लाओसका महिला, दुई लाओसका तेस्रोलिङ्गी महिला, दुई म्यान्मारि पुरुष तथा बङ्गलादेश र नेपालका एक–एक पुरुष रहेका छन्। त्यस्तै, जालान कुलिम, तामान माचाङ बुबोकस्थित अर्को मनोरञ्जन केन्द्रबाट ५० जना पक्राउ परेका छन्। उनीहरूमा २९ थाई महिला, १४ लाओसका महिला, एक भियतनामी महिला र छ म्यान्माली पुरुष रहेका छन्।

दुवै स्थानबाट पक्राउ परेका ११४ जनामध्ये १० जना पुरुष रहेको विभागले जनाएको छ। अध्यागमन विभागले मुख्यालयसँगको सहकार्यमा गरिएको यस संयुक्त कारबाहीले अध्यागमनसम्बन्धी नियम उल्लङ्घन नियन्त्रण गर्न र निगरानी तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने जनाएको छ।

पक्राउ परेका नेपाली नागरिकको पहिचान र उनीमाथि लागेको अध्यागमन कसुरबारे भने विभागले थप विवरण सार्वजनिक गरेको छैन।