संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित।

एजेन्सी:= संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित भएका छन्। बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका द न्युयोर्क टाइम्सले जनाएको छ। 

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। बाइडेनले अहिलेसम्म कुल २९० सिट निश्चित गरेर जित हासिल गरेका हन्। बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए। 

उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्। तर ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ। जसले बाइडेनलाई कानुनी झन्झटको सामना गर्नुपर्ने देखिएको छ।

विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने: “मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।””अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।”