अमेरिकन निर्वाचनको इतिहासमा बाइडनले सर्वाधिक भोट पाएर बनाए नयाँ कीर्तिमान।

एजेन्सी:= अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्म अमेरिकाको निर्वाचनमा कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको भन्दा धेरै भोट पाएका छन्।

न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले ७ करोड १९ लाख २२ हजारभन्दा धेरै मत पाइसकेका छन् । यसअघि सबैभन्दा धेरै मत ल्याउने कीर्तिमान सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले राखेका थिए । उनले ६ करोड ९४ लाख ९८ हजारभन्दा धेरै मत ल्याएका थिए । उनकै पालाका उपराष्ट्रपति बाइडनले अहिले ओबामाको कीर्तिमान तोडेका हुन्।

अहिलेसम्मको मतगणना सकिँदा बाइडनले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले भन्दा धेरै भोट पाइसकेका छन् । ट्रम्पले अहिलेसम्म  ६ करोड ८३ लाख १५ हजारभन्दा धेरै मत पाएका छन् । अझै मतगणना सकिएको छैन । अझै लाखौं मत गन्न बाँकी रहेकाले दुवै उम्मेदवारले सन् २००८ मा ओबामाले राखेको कीर्तिमान तोड्न सक्ने अनुमान गरिएको छ।

यसपटकको निर्वाचनमा धेरै मानिसहरुले विभिन्न माध्यमबाट सहभागिता जनाएको कारण दुवै उम्मेदवारले उल्लेख्य मत पाएका हुन् । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलेभन्दा करिब ३० लाख बढी मत पाएकी थिइन् । तर, निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।

स्रोत : सीबीसीन्युज