अनुसरणले परिवर्तन होइन विकृति भित्र्याउँछ

आधुनिकताको नाउँमा देखिएको सामाजिक विकृति, विसंगतिले दिनानुदिन नेपाली समाज ग्रसित छ ।  समाज आवश्यकता भन्दा अधिक सिको तथा नक्कलले विकृत बन्दै गइरहेको छ । असुहाउँदो बिदेशी नक्कलले कतै हामी विकासको दौरानमा अविकास तिर त जाँदै छैनौं ? हामीले शुक्ष्म रूपमा हेर्नुपर्ने जरुरी भइसकेको छ । समाजमा सरसहयोगको भावना हराउँदै गएको छ । समाज दिनानुदिन स्वार्थी बन्दै गइरहेको छ । समाजमा परोपकारी भावनाको अभाव खड्कीन थालेको छ । आफूमात्र, आफ्नोमात्र भन्ने भावनाको विकासले समाज नै विकृत बन्दैछ । सामाजिक मूल्यमान्यता, अरुप्रतिको सहानोभूति, दयामाया–परोपकार जस्ता कुराहरु हामीबाट हराउँदै गएको यथार्थ कसैले लुकाएर लुक्दैन । 

आजका जल्दाबल्दा युवा तन्नेरीहरु माझ आधुनिकताको अनुसरणले समाजको रुपरंगमै गलत रुममा बदलिएको छ । जसले समाजलाई कतै अवनतिको भर्र्याङ् तिर त डोर्याई रहेको छैन ? समाज विकासको क्रममा पश्चिमा मुलुकहरुले तुलनात्मक रुपमा हामी भन्दा फराकिलो फड्को मारेका छन् । उनीहरुको विकासको अनुसरण अथवा नक्कल गर्ने परिपाटी हाम्रो जस्तो विकाशोन्मुख देशमा बढी पाइन्छ । पश्चिमी मुलुकहरूको सिको सिक्दै नेपाली समाजमा पाच्य–अपाच्य संस्कृतिका रुपमा भित्रिएको गलत प्रवृत्तिले हाम्रो समाजलाई कता पुर्याउला । सामान्य खुशियाली साटासाटमा आयोजना हुने बडेमानका पाटी तथा परम्परागत रीतिरिवाजमा आयोजना हुने खर्चिला क्रियाकलाप विस्तारै अनिवार्य जस्तै भएका छन् । यस्ता प्रकारका क्रियाकलाप आधुनिकताका नाउँमा भित्रिएका विकृतिहरु हुन् । शहरमा यस्ता किसिमका गतिविधी अधिक पाउन थालिएको छ ।

पुराना मूल्यमान्यता धर्मसंस्कृतिले समाजलाई टोर्याइ गति दिइरहेको हुन्छ । हामीले आफ्नो संस्कृति बिर्सदै जानी नजानी अरुको संस्कृतिको सिको गर्दा वा नक्कल गर्दै गइरहेका छौं । यो कति फलदायी हुन्छ ? युवातन्नेरी माझ देखिएको पश्चिमा लवाइखुवाइ देखि लिएर पश्चिमा गीत संगीतको प्रभाव बढेको छ । जुन डरलाग्दो रूपमा शहर हुँदै गाउँ भित्रिदैछ । हामीले हाम्रो मौलिकता नै विर्सदै गएका छौं । आफ्ना अग्रजले दिएको परम्परागत शिक्षालाई नै भुलिरहेकाछौं । आवश्यकता होस् या नहोस् अरुको सिको र नक्कलमा रमाएका छौं । कालान्तरमा हामीलाई अभिशाप बन्न सक्छ ।

परिवर्तनका नाउँमा सामाजिक शिक्षाको अज्ञानता तथा अभावको कारण नेपाली समाज विकृतिको चुंगुलमा फस्दैछ । विज्ञानको विकासको क्रमसंगै विकास भएको संचार जगत, मिडिया, दूरसंचार, मोबाईल फोन, ईन्टरनेट , सामाजिक संजालभित्रका फेसबूक, टुइटर, ह्याटसप, टिकटकजस्ता कुराको विकासले समाजको लगामलाई कता हिडाउँदै छ ? यसको सही सदुपयोग हुँदैछ की गलत, कति प्रतिशत मानिसले यसको सही सदुपयोग गरिरहेका छन् ? यसले सुविधाका नाउँमा समाजलाई कता लैजादैंछ ? हामीले सोच्ने बेला भएन र ? सामाजिक संजालहरुको गलत प्रयोगलाई निरुत्साहित गर्न पहल कदमी कसले लिने ? समाजको परिधिभित्र रहेर ब्यक्तिले जीवन यापन गर्नुपर्छ, परिधि उल्लंघन गर्ने ब्यक्ति समाजमा कलङ्कित हुनपुग्छ । समाजले निर्माण गरेको गोरेटोमा हिंड्न नजान्ने ब्यक्ति कलङ्कित हुन पुग्छ । पाठ्यपुस्तकको अलवा बालबालिकालाई सामाजिक शिक्षाको ज्ञानमा ध्यान दिनु आजको टट्कारो आवश्यकता हो । विद्यालय स्तरमा सामाजिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिनु अनिवार्य भएको छ । सामाजिक शिक्षाको गहनता दिनानुदिन ओझेलमा पर्दै गएको छ । समाजमा ब्यक्ति सामाजिक बन्नबाट पन्छिन थालेको छ । यी र यस्ता प्रवृत्तिको विकासले भोलिको नेपाली समाजकस्तो होला ? सामाजिक जिम्मेवारी बोध हराएको समाजभित्र अधिक हिंसा हुने गर्छ । कतै वर्तमानमा देखिएको हिँसा त्यसैको उपज त होइन ?  हामी कुन दिशा तिर जाँदैछौं ? मानिस एउटा मोबाईल, ल्यापटपमा घन्टौं घोत्लिन्छ, नजीकको ब्यक्तिसंग उसलाई बोल्ने फुर्सद सम्म हुँदैन । दोस्रो ब्यक्तिको समस्यालाई सुनिदिने फुर्सद सम्म उसलाई छैन । यी र यस्ता उदाहरण हाम्रो सामु प्रशस्त छन् । यो कुरालाई बेलैमा शुक्ष्म रुपमा मनन् गर्न नसके हाम्रो समाज भोलि ठूलो समस्यामा पर्ने निश्चित छ । ब्यक्ति, राज्यपक्ष तथा सरोकार वाला निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।

 सामाजिक सञ्जालको लोकप्रीयतासँगै यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । अश्लिल तथा उच्छृङ्खल गतिविधी बढ्दो छ । हो, बर्तमानको विकासका रुपमा सामाजिक संजाललाई लिन सकिन्छ । तर यसमा पनि नियम र कानुनको परिधिभित्र रहेर यसको प्रयोग हुनु जरुरी नै भएको छ ।  यसलाई निगरानी राख्न पङ्तिकारको आसय त्यो हो जसले समाज विकासलाई आवश्यक र सहिी रूपमा डोर्यान सकोस, समाजलाई विकृति तिर नर्पुयाओस् । यस्तो प्रकारको शिक्षा केवल सामाजिक शिक्षामा मात्र पाइन्छ । आजै घर–घरमा सामाजिक शिक्षाको महत्वलाई बुझी त्यस भित्रको ज्ञानलाई ब्यक्ति ब्यक्तिमा पुर्याउनु पर्छ नत्र समय धर्किन सक्छ । 

भोलि हामी पश्चतापमा पिरोलिनु शिवाय अर्को विकल्प नहुन सक्दछ । कसैको सिको र नक्कल गर्दैमा आधुनिक बन्न सकिँदैन । आफ्ना धम संस्कृति परम्परा र मूल्यमान्यतालाई विर्सनु किम्मार्थ सही होइन । तर यसको मतलव पुराना कुरिती अन्धविश्वासलाई अंगिकार गर्नु पक्कै पनि होइन ।

आधुनिकताले नै समाजको रुपान्तरण तथा विकास गर्ने कुरामा दुई मत नहोला । तर आधुनिकता र विकाससँगै रहेर समाज सुहाउँदो परिवर्तन मात्र पाच्य र दिर्घायू हुन सक्छ । समाजको रुपान्तरणको अर्थ सामाजिक समस्याको मूख्यकारण र त्यसको संरचनागत जटिलताको पहिचान गर्नु हो । थप सकारात्मक परिवर्तन सहजपार्नको लागि विद्यमान संस्थाहरुमा रहेको विश्व–दृष्टिकोण परिवर्तन गर्नु र राजनीतिक, आर्थिक र सामाजिक–सास्कृतिक क्षेत्रमा विद्यमान शक्ति सन्तुलन परिवर्तन गर्नु हो । सचेतनता, सामाजिक र सास्कृतिक विकासको तहलाई अझै फराकिलो पार्दै कुनै पनि शोषणमूलक समाज व्यवस्थामा जनता–जनतावीचको असमानतालाई अन्त्यगर्नु हो । सामाजिक रुपान्तरण हुनु भनेको व्यक्ति, संस्था, संस्कृति, सामाजिक संरचना र भौतिक उपयोगमा सकारात्मक परिवर्तन आउनु पनि हो । 

व्यक्तिमा– सचेतनता अभिवृद्धि, सामाजिक विषयहरुमा जागरुपता र भूमिका बदलिंदो रुपमा देखिनु र सरकार वा संस्थाको परिवर्तित नीति हुनु अपरिहार्य हुन्छ । यसका खातिर परम्परागत मुल्यमान्यता र चलिआएको धर्मसंस्कृति माथि नै प्रहार गरिनु पर्छ, त्यो होइन । रुपान्तरणका निमित्त सचेतना तथा शिक्षाको पहुँच गाउँतहसम्म एवं.जनताका घरदैलो सम्म पुग्न र पुर्याउन सके संस्कृतिलाई प्रहार नगरी परिवर्तनको खाका कोरिन सक्छ । जसले सहजै रुपमा समाजका विकृतिविसंगतिहरुलाई चिर्न सक्दछ ।

जति सक्दो चाँडो नेपाल जस्तो मुलुकमा निवास गर्ने हामी गरीब जनताले यसमा सचेत हुनु पर्दछ । विकासको चरम अवस्थामा पुगेका देशहरुको नक्कल मिश्रित जीवनशैलीले समाजमा विकृति सिवाय समाज सुहाउँदो परिवर्तन ल्याउँदैन । समाज र परम्परालाई ख्याल राख्नु आजको आवश्यकता हुन सक्ला । विकासलाई अंगिकार गर्ने नाउँमा विकृति भित्राइनु अवश्य फलदायीहुँदैन । संस्कृतिको विकास भनेकै समाज, हावापानी, माटो तथा वातावरणको प्रभावको कारणले प्रभावित हुन्छ । अरुको अनुसरण गर्ने प्रवृत्तिले नेपाली समाजले कुरुप हुनबाट जोगाउन सबैले पहलकदमी लिनु जरुरी छ ।