क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ।
आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै शानदार रूपमा च्याम्पियन बन्न सफल भयो।

उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता न्यु ब्यावयज क्लबले ११ हजार मलेसियन रिंगिट पुरस्कार हात पार्यो।
प्रतियोगिताका सर्वाधिक चर्चित खेलाडी सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण योगदान दियो।

समापन समारोहमा आरटीएफसी मलेसियाका अध्यक्ष राजु तामाङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, स्वयंसेवक, खेलाडी, समर्थक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सद्भाव अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।
मलेसियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत जोड्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको आरटी गोल्डकपले यस वर्ष पनि उत्साहजनक सहभागिता र उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गर्दै सफल समापन गरेको छ।




















