अहमदाबाद:= रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले लगातार दोस्रोपटक इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको हो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राती सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै आरसिबीले लगातार दोस्रोपटक उपाधि आफ्नो नाम गरेको हो ।
टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले गुजरातलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रनमा सीमित गरेको थियो । गुजरातका लागि वासिङ्टन सुन्दरले उत्कृष्ट ब्याटिङ गर्दै अविजित अर्धशतक बनाएर टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याउनुभएको थियो ।
१५६ रनको लक्ष्य पछ्याएको बेंगलुरुले सन्तुलित सुरुवात गर्दै १८ ओभरमै ५ विकेट गुमाएर १६१ रन बनाउँदै जित हासिल गर्यो । टोलीका अनुभवी ब्याट्सम्यान विराट कोहलीले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै ७५ रनमा अविजित रहनुभयो र १८औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाउनुभयो । कोहली फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ चुनिनुभयो ।
उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरुमाथि करोडौँ रुपैयाँको वर्षा भएको छ । च्याम्पियन बेंगलुरुले ट्रफीसँगै २० करोड भारु पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको गुजरात टाइटन्सले १२.५ करोड रुपैयाँमा चित्त बुझाउनुपरेको छ । यसका साथै उपविजेता टोलीका स्टाफहरूलाई लिमिटेड एडिसन घडी प्रदान गरिएको छ ।
यस सिजन बिसिसिआईले कुल ४६.५ करोड रुपैयाँभन्दा बढीको पुरस्कार वितरण गरेको छ, जसअन्तर्गत प्लेअफमा पुगेका तेस्रो र चौथो स्थानका टोलीहरूले पनि मोटो रकम पाएका छन् । क्वालिफायर-२ मा पराजित हुँदै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले सात करोड रुपैयाँ र एलिमिनेटरबाट बाहिरिएर चौथो स्थानमा चित्त बुझाएको सनराइजर्स हैदराबादले ६.५ करोड रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
१८ वर्षसम्म उपाधिको प्रतीक्षा गरेर गत सिजन २०२५ मा यही मैदानमा पञ्जाब किंग्सलाई हराउँदै पहिलोपटक ट्रफी जितेको बेंगलुरुले यसपटक उपाधि रक्षा गर्दै नयाँ इतिहास रचेको छ । बेंगलुरु आइपिएल इतिहासमा लगातार दुईपटक उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्सले सन् २०१० र २०११ मा तथा मुम्बई इण्डियन्सले सन् २०१९ र २०२० मा यो सफलता पाएका थिए ।
बेंगलुरु अब सबैभन्दा बढी आइपिएल ट्रफी जित्ने टोलीहरूको सूचीमा कोलकाता (तीन), मुम्बई (पाँच) र चेन्नई (पाँच) पछि चौथो स्थानमा पुगेको छ । कप्तान रजत पाटीदार लगातार दुई ट्रफी जित्ने इतिहासकै तेस्रो कप्तान बन्नुभएको छ, जसले महेन्द्र सिंह धोनी र रोहित शर्माजस्ता दिग्गजहरूको क्लबमा आफ्नो नाम दर्ता गराउनुभयो ।
बेंगलुरुको यो सफलता कुनै एक खेलाडीमा मात्र निर्भर थिएन, ब्याटिङमा विराट कोहली, रजत पाटीदार र देवदत्त पडिक्कल तथा बलिङमा भुवनेश्वर कुमार, रसिख सलाम र जोस हेजलवुडले उत्कृष्ट योगदान दिएका थिए, जसका कारण सिजनभर टोलीका आठ फरक-फरक खेलाडी ‘प्लेयर अफ द म्याच’ बनेका थिए ।
व्यक्तिगत पुरस्कारमा सूर्यवंशीको दबदबा
यस सिजनको व्यक्तिगत पुरस्कारहरूमा राजस्थान रोयल्सका १५ वर्षीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको पूर्ण दबदबा रह्यो । सूर्यवंशीले सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै कुल ७७६ रन बनाएर सबैभन्दा कम उमेरमा ‘अरेन्ज क्याप’ जित्ने कीर्तिमान बनाउनुभयो । उहाँले एकै सिजनमा ७२ वटा छक्का प्रहार गर्दै क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमानसमेत ध्वस्त पार्नुभयो ।
सूर्यवंशीले ‘मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन’, ‘इमर्जिङ प्लेयर अफ द सिजन’ र ‘सुपर स्ट्राइकर अफ द सिजन’सहित कुल पाँचवटा अवार्ड जित्नुभयो, जसबापत उहाँले ४० लाख रुपैयाँ नगद र एउटा कार पुरस्कार पाउनुभयो । बलिङतर्फ गुजरात टाइटन्सका कागिसो रबाडाले सिजनभर कुल २९ विकेट लिँदै ‘पर्पल क्याप’ सँगै १० लाख रुपैयाँ पुरस्कार आफ्नो नाम गर्नुभयो ।
ब्याटिङमा इतिहासकै सबैभन्दा बढी रनको कीर्तिमान
आइपिएल २०२६ ब्याट्सम्यानहरूका लागि निकै उत्कृष्ट रह्यो र यस सिजनभर कुल २७ हजार ४५० रन बने, जुन आइपिएल इतिहासकै सबैभन्दा बढी रनको कीर्तिमान हो । प्रतियोगिता सकिएपछि विभिन्न विधामा आकर्षक पुरस्कारहरू वितरण गरिए । वैभव सूर्यवंशीले ‘इमर्जिङ प्लेयर’को १० लाख, ‘मोस्ट भ्यालुएबल प्लेयर’ को १५ लाख, ‘अरेन्ज क्याप’ को १० लाख, ‘सुपर स्ट्राइकर अफ द म्याच’ को एक लाख र ‘सुपर सिक्सेस अफ द म्याच’ को एक लाख रुपैयाँ पुरस्कार जित्नुभयो ।
यसैगरी फाइनल खेलमा ‘अन द गो ४एस’ को अवार्ड गुजरातका साई सुदर्शनले एक लाख रुपैयाँसहित प्राप्त गर्नुभयो भने रोयल च्यालेन्जर्स बेंगलुरुका मोहम्मद सिराजले फाइनलमा ‘ग्रिन डट बल अफ द म्याच’ को अवार्ड जित्दै एक लाख रुपैयाँ पाउनुभयो । पूरै प्रतियोगिताभर उत्कृष्ट अनुशासन कायम राख्ने पञ्जाब किंग्स टोलीलाई ‘फेयर प्ले अवार्ड’को ट्रफी प्रदान गरियो ।
पिच तथा मैदानतर्फको पुरस्कारमा पाँच वा सोभन्दा बढी खेल आयोजना गर्ने कोलकाताको इडेन गार्डेन्स (क्रिकेट एसोसिएसन अफ बंगाल)ले ५० लाख रुपैयाँ पायो भने चार वा सोभन्दा कम खेल आयोजना गर्ने धर्मशाला मैदान (हिमाचल क्रिकेट एसोसिएसन)ले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । एजेन्सी




















