एजेन्ट र बिचौलियाबाट ठगिँदै आयातकर्ता तथा उपभोक्ता।

[ डा.सुमनकुमार रेग्मी ]

भन्सारमा कार्यरत एजेन्टबाट आयात सामान कम परिमाण घोषणा गरी सामान पास गर्ने प्रचलन बढ्दै गएको छ । सरोकारवाला निकायबाट त्यसको खोजीकार्य हँुुदै आएको छ । विभिन्न भन्सार नाकाका भन्सार एजेन्ट एवं कार्गो एण्ड क्लियरेन्सका सरोकारहरूका काम शंकास्पद देखिँदै आएका छन् । भन्सार विभागबाट विभिन्न नामका कार्गाे एण्ड क्लियरेन्सका नाममा भन्सार एजेन्ट क्लियरेन्सको इजाजत प्राप्त गरी त्यसको आडमा भन्सार नाका भएर आयात हुने सामान पास गर्दा परिमाणसहित भन्सार मूल्यांकनसमेत ठग्ने प्रयास गरेपछि यस्ता कार्य थाहा हुँदै आएका हुन्।

कुनै समयमा तेस्रो देशबाट आयात हुँदै आएको स्याउ र लसुनमा ठूलै चलखेल गर्ने गरेको खुल्न आएको थियो । गत आर्थिक वर्ष कारोबार विवरण बुझाउँदा भन्सार एजेन्टले फर्मबाट भन्सारमा हुने लोडअनलोडदेखि मजदुर खर्चसमेत विवरणमा उल्लेख गरेपछि एजेन्टका कारोबारै शंकामा रहँदै आएका देखिन्छन् । यस्ता विवरण दर्ता गराउने प्रयास गर्दा राजस्व ठगीका सम्बन्धमा सम्बन्धित निकायबाट विगतमा खोजी गरिँदै आएको थियो । भन्सार एजेन्टबाट यस्ता कार्यबाट कमाउ गर्ने ध्येय रहँदै आएको देखिन्छ । 

यस्ता भन्सार एजेन्टबाट विभिन्न समयमा चीनबाट आयात हुँदै आएका स्याउ र लसुनका भन्सार मूल्यांकनदेखि परिमाणमा समेत घोटाला गर्ने र भन्सारकै कर्मचारीसँग सेटिङ मिलाएपछि बाहिर रहेको भन्सारमा काम गर्दै आएका अर्का भन्सार एजेन्टले गोप्य राख्ने शर्तमा नाम नभनी सबै यथार्थ खोलिँदै आएको देखिन्छ । यस्ता भन्सार एजेन्टले उनका कारोबार र भन्सार क्लियरेन्स नै विवादमुक्त हुन नसकेको हो । आर्थिक वर्ष २०७४÷०७५देखि अर्थ मन्त्रालयबाट जिएसटी प्रणाली पूर्णरूपमा लागू गरेपछि केही असहज भएको भन्सार क्लियरेन्स भन्सार कर्मचारीकै सेटिङमा सञ्चालन भइरहेको थाहा भएको हो । 

भन्सार विभागबाट भन्सार एजेन्टका काम गर्न सन् २०१४ मा दर्ता कायम भई लामो समयदेखि विभिन्न भन्सार नाकामा भन्सार एजेन्टका रूपमा कार्यरत क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका सञ्चालकहरू रातारात फरार हँुदै आएका छन् । रकम हिनामिना र राजस्व अपचलनसम्बन्धी घटनाकाको आरोपमा यस्ता सरोकारहरू पक्राउ पर्दै आएका छन् । 

भन्सार नाकाहरूमा धेरैजसो ठूला उद्योग र कम्पनीको मात्र भन्सार जाँचपास गराउने गरेको छ । राजस्व कागजी रूपमा मात्र बुझाएर अपचलन गर्ने कार्य अपराध भए पनि दोषीलाई कारबाही गराउन सम्बन्धित कर्मचारी र एजेन्टहरूले चाहिरहेका थिएनन् । सम्बन्धितहरू आर्थिक कसुरजस्तो गम्भीर अपराधको घटनालाई सकेसम्म चाँडो अपचलन भएको रकम दाखिला गराएर घटना दबाउन लागिरहेको विगतमा देखिएको छ । यस्ता कार्यमा भन्सार एजेन्टहरूले रकम जम्मा नगरेका र गरिएका चेक पनि बाउन्स हँुदै गरेकाले यस्ता घटना भएका बेला व्यापक समाचार बन्दै आएका छन् । भन्सार एजेन्टहरूले पनि अपचलन भएको राजस्व रकम बुझाउन नसक्दा बाउन्स चेकले घटना दबाउन खोजिँदै आएको देखिन्छ । 

राजस्व अपचलन घटनाले वर्षौंदेखि भन्सार राजस्वमा हँुदै आएको अपचलनको रहस्य समय समयमा खुल्दै आएको छ । तर, यस विषयमा भन्सार अधिकारीसँग सोधखोज राख्दा राजस्ववापतको रकम बैंकले दिइरहेकाले भन्सारलाई केही फरक नपर्ने बताउँदै आएको छ भन्छन् । आशिकुडा सिष्टम अनुसार बैंकमा राजस्व जम्मा भइसकेपछि मात्र वस्तु जाँचपास हुने भएकाले यसमा भन्सार दाबी नरहने बताइन्छ । 

भन्सार नाकाहरूमा आफ्नो मुख्य कमाउने स्थलका रूपमा प्रयोग गर्दै आएका विभिन्न भन्सार नाकाका एजेन्ट र स्थानीय व्यवसायीबीचमा हुने अवैध लेनदेनले सरकारलाई ठूलै राजस्व रकम हानी हुँदै आएको देखिन्छ । विभिन्न नाकाका भन्सारले पटकपटक कारबाही गर्दै आए पनि सुध्रिन नसकेको अर्र्थात् व्यवस्थित हुन नसकेकाले भन्सारका एजेन्टहरू जहिले पनि उक्त जालझेलमा संलग्न देखिँदै आएका छन् । 

यसरी भन्सार नाकालाई मुख्य आम्दानीका स्रोत बनाएका एजेन्टले आफ्ना मान्छेलाई कमिसन रूपी जालोमा फसाउँछन् । यस्ता क्रियाकलाप विभिन्न भन्सार नाकाले पटकपटक कारबाही गर्दै गरे पनि सुधार हुन सकेको छैन । भन्सारलाई मुख्य आम्दानीका स्रोत बनाएका एजेन्टहरूले आफ्ना मान्छेलाई क्लियरिङको भन्सार प्रतिनिधि घोषणा गरेर करौंडोको राजस्व चोरी गर्न सफल बन्दै आएका छन् ।

भन्सारबाट विशेषगरी कीटनाशक औषधि र कागजका काम गर्ने भन्सार एजेन्टहरू कहिले पत्रपत्रिकाका प्रकाशनदेखि जुनसुकै छपाइको काममा प्रयोग गरिने कागज भारतबाट आयात गर्दा कौडीको मूल्यमा भन्सार जाँचपास गरेर व्यवसायीसँग मिली लाखौं कमिसन संकलन गर्ने गरेको देखिन्छ । भन्सार एजेन्ट र व्यापारीको सेटिङका कारण आयातीत सामानका सुविधामा जाँचपास हँुदा भन्सार कार्यालय समेतले मूल्यअभिवृद्धि कर पूरै छुट र भन्सार राजस्व कम प्रतिशतका दरले नाम मात्रको रकममा जाँचपास भई आएको देखिन्छ ।

नेपालका दक्षिणतिरका भन्सार कार्यालयहरूदेखि भारतीय भूमिमा रहेका पुलहरू बेलाबेलामा भत्किँदा बाटो अवरुद्ध हुने गरेको छ । यस्तो बेलामा भन्सार एजेन्टनै तस्करीको काम गर्दै आएका छन् । यस्तो बेलामा ठूला मालबाहक सवारी आवातजावत हुन नसकेपछि साना सवारीसाधन भने यस्ता अवस्थाका पुलबाट आउने र जाने काम भइरहेको हुने गर्दछ । यस्तो भारतीय भूमिका पुलको अवस्था र अरू कारणले गर्दा ट्रेडिङ र खाद्यान्नका सामानका तस्करी व्यापक रूपमा हँुदै आएको देखिन्छ । भिभिन्न भन्सार नाकाबाट औद्योगिक कच्चा पदार्थ बोकेका सवारी नेपाल आउँछन् तर औषधि, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक, कपडा र खाद्यान्नजस्ता सामानको तस्करी बढ्दै आएको देखिन्छ । 

रसुवागढीमा एक किलो स्याउको २० रुपैयाँ पर्ने अवस्थामा नेपाल भित्रिँदा आयात भन्सार मूल्यांकन वास्तविकताभन्दा भन्सार फाराममा नाम मात्र राखे पनि कसरी काठमाडौंमा किलोको २ सय रुपैयाँ मूल्य पर्छ । यो हिसाबले वास्तविक आयात भन्सार लेखिए अनुसार त काठमाडौंमा स्याउको मूल्य प्रतिकिलो ५० रुपैयाँभन्दा पनि कम पर्नुपर्ने हो । यसो हेर्दा भन्सार सेरोफेरोमा जालसाझी र कमाउधन्दा बेरिएको देखिन्छ । 

यस्ता भन्सार एजेन्ट तथा कर्मचारीहरू समाजमा गौरवान्नित भएको महसुस गर्दछन् । यस्ताको दशैँ, तिहार र छठ निकै रमाइला हुने गर्दछन् । 

(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायव कार्यकारी निर्देशक हुनुहुन्छ ।