क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (JIM) ले अवैध आप्रवासी (PATI) विरुद्धको अभियानलाई तीव्र बनाउँदै क्लाङस्थित प्लाजा जीएम, बन्दर बोटानिक क्षेत्रमा सञ्चालन गरिएको मेगा संयुक्त अपरेशनमा ८६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
गत जुलाई १, २०२६ (बुधबार) साँझ ५ बजेदेखि सञ्चालन गरिएको उक्त अपरेशनमा अध्यागमन विभागसँगै रोयल मलेसियन कस्टम्स विभाग (JKDM), राष्ट्रिय दर्ता विभाग (JPN) र घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालय (KPDN) सहभागी भएका थिए। दुई सातासम्म गरिएको अनुसन्धान तथा प्राप्त जनगुनासोका आधारमा सञ्चालन गरिएको अपरेशनमा १२५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।

कारबाहीका क्रममा ५० वटा व्यावसायिक प्रतिष्ठान र ३२७ जनाको जाँच गरिएको थियो। त्यसक्रममा चीन, कम्बोडिया, फिलिपिन्स, म्यानमार, इन्डोनेसिया, भारत, बंगलादेश र पाकिस्तानका ८६ जना विदेशी नागरिकलाई अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत विभिन्न कसुरमा पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ।
अपरेशनका क्रममा केही विदेशी नागरिक भाग्ने प्रयास गरे पनि ड्रोनमार्फत निगरानी र सुरक्षा टोलीको समन्वयका कारण उनीहरूको प्रयास असफल बनाइएको थियो।

यही अपरेशनका क्रममा अध्यागमन विभागले अनुसन्धानका लागि ११ जना मलेसियाली नागरिकलाई फारम–२९ (समन्स) जारी गरेको छ। साथै, राष्ट्रिय दर्ता विभाग (JPN) ले अर्कै व्यक्तिको परिचयपत्र प्रयोग गरेको आरोपमा एक महिलालाई पनि पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबै विदेशी नागरिकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन हिरासत केन्द्रमा राखिएको छ।

अध्यागमन विभागले अवैध रूपमा मलेसिया प्रवेश गर्ने, भिसाको अवधि नाघेर बस्ने वा राहदानी सुविधाको दुरुपयोग गर्ने विदेशी नागरिकमाथि कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। साथै, अवैध आप्रवासीलाई रोजगारी दिने, आश्रय उपलब्ध गराउने वा संरक्षण गर्ने रोजगारदाता, व्यवसाय सञ्चालक तथा अन्य व्यक्तिमाथि पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
विभागले देशभर यस्ता संयुक्त अपरेशनलाई अझ प्रभावकारी बनाउँदै निरन्तर सञ्चालन गर्ने जनाएको छ। अध्यागमन कानुन उल्लङ्घन गर्ने वा कानुनी प्रणालीको दुरुपयोग गर्ने कुनै पनि पक्षलाई बिना कुनै छुट कडा कारबाही गरिने विभागको भनाइ छ।




















