आफ्नो करोडौंको कम्पनी डुबेपछि फूड डेलिभरी कम्पनीका पूर्व “CEO” नै बने फूड डेलिभरी राइडर।

क्वालालम्पुर (मलेसिया):= मलेशियाको एक फूड डेलिभरी कम्पनीका पूर्व CEO इन्देरा एरिया वी जीनी करोडौँको व्यवसाय डुबेपछि अहिले आफैं फूड डेलिभरी राइडरको रूपमा काम गर्न बाध्य भएका छन्। सन् २०१९ मा सुरु भएको यो प्लेटफर्म छोटो समयमै निकै सफल भई ३,००० भन्दा बढी राइडरहरू आबद्ध हुन सफल भएको थियो।

तर, सफलताको उचाइमा पुगेकै बेला सन् २०२१ मा कम्पनीभित्रैबाट भएको एउटा ठूलो आन्तरिक धोका र डेटा चोरीका कारण व्यवसाय अचानक धराशायी बन्न पुग्यो।कम्पनीकै एक जिम्मेवार आन्तरिक व्यक्तिले व्यक्तिगत फाइदाका लागि संस्थाको महत्वपूर्ण प्रणाली डेटा र बौद्धिक सम्पत्ति (IP ठेगाना) प्रतिस्पर्धी कम्पनीलाई बेचिदिएका थिए।

यो गम्भीर धोकाधडीपछि कम्पनीको आम्दानी तीव्र रूपमा घट्न थाल्यो। चरम संकटका बीच पनि आफ्ना राइडर र कर्मचारीहरूलाई तलब खुवाउनका लागि इन्देराले आफ्ना व्यक्तिगत सम्पत्ति, घर र कारहरू समेत बेचे। तर, निरन्तरको घाटाका कारण अन्ततः व्यवसाय पूर्ण रूपमा बन्द गर्नुपर्‍यो र उनी चरम आर्थिक संकटमा परे।

कुनै समय हजारौँलाई रोजगारी दिने यी ४० वर्षीय पूर्व CEO हाल आफ्नो परिवार पाल्नका लागि प्रति डेलिभरी ५ देखि १० रिंगिट कमाउने गरी सडकमा स्वतन्त्र फूड राइडर र पर्सनल शपरको रूपमा काम गरिरहेका छन्। यो चरम असफलता र धोकालाई जीवनको एउटा ठूलो पाठ र परीक्षाका रूपमा लिँदै उनले इमानदारीपूर्वक काम गरिरहेका छन्।

आफूमाथिको विश्वास कायम राख्दै भविष्यमा पुनः एक सफल उद्यमी बनेर अरूका लागि रोजगारी सिर्जना गर्ने उनको यो ‘कहिले हार नमान्ने’ जज्बा साँच्चै प्रेरणादायी छ।