टोरन्टो:= फिफा विश्वकप २०२६ ले दुई महान् फुटबलर क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच का लागि फरक–फरक अध्याय लेखिदिएको छ। पोर्चुगलले रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्दा रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना अझै जीवित रहेको छ।
तर यो हारसँगै मोड्रिचको सम्भावित अन्तिम विश्वकप यात्रा भने समाप्त भएको छ। टोरन्टोमा सम्पन्न खेल दुवै पूर्व रियल म्याड्रिड सहकर्मीबीचको सम्भावित अन्तिम विश्वकप भेटका रूपमा पनि स्मरणीय बन्यो। सन् २०१२ देखि २०१८ सम्म रियल म्याड्रिडबाट एउटै टोलीमा खेलेका रोनाल्डो र मोड्रिचले चार पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि सँगै जितेका थिए।
खेलपछि उनीहरूबीच भएको आत्मीय अंकमाल र सम्मानपूर्ण भेटले विश्वभरका फुटबल समर्थकलाई भावुक बनायो। खेलमा सुरुआती अग्रता क्रोएसियाले लिए पनि पोर्चुगलका कप्तान रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। निर्धारित समयपछि थप गरिएको इन्जुरी समयमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को महत्त्वपूर्ण जित दिलाए।
यस जितसँगै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ भने मोड्रिचको विश्वकप यात्रा अविस्मरणीय सम्झनासहित टुंगिएको छ। अब अन्तिम १६ मा पोर्चुगलले बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्नेछ। अनुभवी रोनाल्डोका लागि यो अर्को ठूलो परीक्षा हुनेछ, जहाँ उनको टोलीले युवा सनसनी लामिने यमलसहितको स्पेनी टोलीसँग प्रतिस्पर्धा गर्नेछ।




















