क्वालालम्पुर := मलेसियामा यस वर्ष फलहरूको राजा मानिने डुरियनको अत्यधिक उत्पादन भएपछि बजारमा यसको मूल्य इतिहासकै सबैभन्दा सस्तो भएको छ। मागको तुलनामा आपूर्ति अत्यधिक बढेपछि मलेसिया र सिङ्गापुरका बजारमा डुरियनको बाढी नै आएको छ।
कतिपय क्षेत्रमा साधारण डुरियन प्रतिगोटा पन्ध्रदेखि बीस नेपाली रुपैयाँ (करिब ५० पैसा मलेसियाली रिङ्गिट) मा बिक्री भइरहेको छ। व्यापारीहरूले ग्राहक आकर्षित गर्न प्लास्टिकको झोलामा अटुन्जेल डुरियन भर्न मिल्ने विशेष योजना ल्याए पनि अपेक्षित बिक्री हुन सकेको छैन।
सस्तो मूल्यमा बेच्न खोज्दा पनि डुरियन बिक्री नभएपछि व्यापारीहरू टनौँ फल खेर फाल्न र निःशुल्क बाँड्न बाध्य भएका छन्। मलेसियाको गुआ मुसाङ क्षेत्रका एक फल व्यवसायीले बजारमा माग नहुँदा र फल कुहिन थालेपछि झन्डै एक हजार किलोग्राम (एक टन) महँगो मानिने मुसाङ किङ तथा जङ्गली डुरियन नष्ट गर्नुपरेको दुखेसो व्यक्त गरेका छन्।
पछिल्लो समय अत्यधिक गर्मी र राति वर्षा हुनेजस्ता असामान्य मौसमका कारण फल छिट्टै बिग्रिने र किराको प्रकोप बढेकाले पनि व्यापारीहरूलाई डुरियन फाल्नुपर्ने अवस्था आएको हो। कतिपय फार्म र पसलहरूले ग्राहकलाई निःशुल्क डुरियन वितरण गरिरहेका छन्।
मलेसियाको छिमेकी देश सिङ्गापुरका केही चर्चित बिक्री केन्द्रहरूले दैनिक छ सयदेखि एक हजार किलोग्रामसम्म खान योग्य डुरियन सर्वसाधारणलाई निःशुल्क बाँडिरहेका छन्, जसका दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेका छन्।
विगत दश वर्षदेखि चीनमा डुरियनको माग तीव्र रूपमा बढेपछि मलेसियाका धेरै किसानहरूले अन्य खेती हटाएर डुरियन खेती विस्तार गरेका थिए। अहिले ती बोटहरूबाट एकैपटक ठूलो परिमाणमा उत्पादन आउँदा बजारमा आपूर्ति अत्यधिक बढेको छ। यसको प्रत्यक्ष असर मूल्यमा परेको छ भने किसान र व्यापारीहरूले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ।




















