मलेसियामा पुरुषहरूमा मानसिक तनाव “डिप्रेसन” र आत्महत्याको घटना बढ्दै।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा पुरुषहरूको मानसिक स्वास्थ्य, बढ्दो डिप्रेसन तथा आत्महत्याको घटनालाई लिएर सरकारले गम्भीर चासो व्यक्त गरेको छ। हालै सार्वजनिक भएका तथ्याङ्कअनुसार महिलाको तुलनामा पुरुषहरूमा आत्महत्याको दर झण्डै तीन गुणा बढी रहेको देखिएको छ।

साथै, देशका १६ वर्षभन्दा माथिका करिब ४.६ प्रतिशत नागरिक गम्भीर डिप्रेसनबाट प्रभावित छन्, जसमा पुरुषहरूको संख्या उल्लेखनीय रहेको जनाइएको छ।विशेषज्ञहरूका अनुसार पुरुषहरू मानसिक तनावमा पर्नुको प्रमुख कारण बढ्दो आर्थिक दबाब, ऋणको भार, रोजगारीको असुरक्षा, पारिवारिक जिम्मेवारी र सम्बन्ध विच्छेद जस्ता समस्या हुन्।

मलेसियामा घरपरिवारको ऋण कुल गार्हस्थ्य उत्पादन (GDP) को ८४.३ प्रतिशत पुगेको छ, जसको प्रत्यक्ष असर परिवारको मुख्य जिम्मेवारी बहन गर्ने पुरुषहरूमाथि परेको छ। यस्तै, सम्बन्ध विच्छेदका घटनाहरू वार्षिक ४.१ प्रतिशतले वृद्धि हुँदै ६० हजारभन्दा बढी पुगेका छन्।

सामाजिक मान्यताअनुसार पुरुषहरूले आफ्ना भावना वा पीडा खुलाएर व्यक्त गर्नु हुँदैन भन्ने सोचका कारण धेरै पुरुष समयमै मानसिक स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन्। यही कारण उनीहरू डिप्रेसन र आत्महत्याको उच्च जोखिममा पुग्ने विज्ञहरूको भनाइ छ।

यही चुनौतीलाई सम्बोधन गर्न मलेसियाको महिला, परिवार तथा समुदाय विकास मन्त्रालय ले पहिलो पटक १८ महिने “National Gentlemen Study” (राष्ट्रिय भद्र पुरुष अध्ययन) सुरु गर्ने घोषणा गरेको छ। यस अध्ययनमार्फत पुरुषहरूको मानसिक स्वास्थ्यको वास्तविक अवस्था बुझ्ने, उनीहरूलाई पारिवारिक जिम्मेवारीप्रति थप सकारात्मक र संवेदनशील बनाउने तथा पुरुषमैत्री राष्ट्रिय नीतिहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।

सरकारले यो पहललाई पुरुषहरूको मानसिक स्वास्थ्य संरक्षण, आत्महत्या न्यूनीकरण र स्वस्थ पारिवारिक तथा सामाजिक वातावरण निर्माणतर्फको ऐतिहासिक सामाजिक सुधार को रूपमा अघि बढाएको जनाएको छ।