लकडाउनमा युवा इन्जिनियर अशोकले जन्माएको चल्ला काढ्ने मेसिनको रोचक कथा।

२०७६ चैत ११ देखि लकडाउन भएपछि सबै घरभित्र थुनिए । हरेकले जीवन चलाउने वैकल्पिक उपाय खोज्न थाले । लकडाउनको सदुपयोग गरेर एक युवाले भने ‘चल्ला काढ्ने’ मेसिन बनाएका छन् । जसलाई अंग्रेजीमा ‘इन्क्युबेटर’ भनिन्छ । ती युवा हुन्, अशोकप्रसाद थारू । त्रियुगा नगरपालिका–६ उदयपुरमा जन्मिएका अशोक २०६६ को एसएलसीपछि प्लस टु पढ्न काठमाडौं छिरे । कुपन्डोलस्थित एड्भान्स एकेडेमीबाट विज्ञान विषयमा प्लस टु सकाए । त्यसलगत्तै त्रिचन्द्र कलेजबाट ‘भूगर्भशास्त्र’ विषयबाट स्नातक पास गरे । २८ वर्षीय अशोक अहिले त्रिभुवन विश्वविद्यायबाट इन्जिनियरिङ भू–गर्भशास्त्रबाट स्नातकोत्तर गरिरहेका छन् ।

युट्युबले सिकायो
कीर्तिपुरस्थित भत्केपाटी डेरामा बस्छन्, अशोक । उनी अहिले यति व्यस्त छन् कि उनका लागि दिन र रात बराबर भएको छ । रातभर मेसिनमा बल्ने बत्तीको उज्यालो र चल्लाको चिरबिरले रात पनि दिन जस्तै भएको छ, उनलाई । दिनभरी मेसिन बनाउन र रातभर मेसिनमा हालिएका अण्डाको हेरचाह गर्दै ठिक्क छ, उनलाई । सोही मेसिनबारे बुझ्न उनको डेरा पुग्दा, ग्राहकलाई चरा (बटै)को चल्ला बेच्दै गरेका भेटिए, उनी । ग्राहकलाई पठाइसकेपछि भित्र बोलाए । सानो कोठामा सुत्ने खाट राखिएको ठाउँबाहेक पूरै कोठा मेसिन नै मेसिनले भरिएको थियो भने मेसिन अण्डैअण्डाले ।
उनलाई ‘मेसिन बनाउने सोच कसरी आयो ?’ भन्ने प्रश्न गर्दा लामो सास ताने । अनि वृतान्त सुनाए।

अशोक स्नातकोत्तरको थेसिस लेखिरहेका थिए । उनको थेसिसको विषय थियो, ‘कन्स्ट्रक्सन मटेरियल अर्थात् उदयपुरका खोलामा पाइने बालुवा, गिट्टी रोड बनाउनका लागि उपयुक्त छ कि छैन ?’ यसका लागि स्याम्पलहरू संकलन गरेर ल्याब परीक्षणका क्रम थिए । थेसिसको करिब ९० प्रतिशत काम सकाइसकेका थिए । अचानक लकडाउन सुरु भयो । कलेज, लाइबे्ररी सबै बन्द भएपछि उनको थेसिस पनि ठप्प प्राय बन्यो । अरू बेला केही न केही गरिरहने बानी भएकाले त्यतिकै बस्न छट्पटाइरहेका थिए ।
एकदिन ओछ्यानमा पल्टेर युट्युब हेर्दाहेर्दै उनको आँखा ‘इन्क्युबेटर’ बनाउन सिकाउने भिडियोमा पर्यो । भिडियो हेरे । उनलाई पनि त्यस्तै मेसिन बनाउन मन लाग्यो । तर, उनीसँग सामग्री किन्नका लागि पैसा थिएन । उनको कोठामा जे उपलब्ध थियो, त्यसैलाई प्रयोग गरी बनाउने सोचे । तेलको कार्टुनमा फिलामेन्ट बत्ती जडान गरेर पानी राखे । त्यसपछि एक क्यारेट बटैको अण्डा ल्याए । अण्डा हालेको १८ दिनपछि ३० मध्ये एउटा चल्ला जन्मियो । यसले उनलाई निकै उत्साहित बनायो । उनले मुस्कुराउँदै भने, ‘एउटा चल्ला निस्किएपछि म बेचैन भएँ । म सफल भएँ भन्ने लाग्यो ।’
उनले साइकल समाते । कुनबेला बजार पुगे पत्तै पाएनन् । अशोक हाँस्दै सुनाउँछन्, ‘म खुशी भएर सामान र अण्डा लिन साइकल चढेर कतिको स्पिडमा गएँ मलाई नै थाहा छैन । एकैपटक बजार पुगेको थाहा भयो ।’ अर्को पटक उनले ५ ओटा चल्ला निकाल्न सफल भए । सायद अर्कोपटकमा ५ चल्ला ननिस्किएको भए उनी ६ महिने लामो लकडाउनको समय सुतेरै बिताउँथे होला ।

अनि व्यवसायीक र आधुनिकस्तरको बनाए
चल्ला कोरल्न लगातार दुईपटक सफल भएपछि उनलाई आधुनिक र व्यवसायीक बन्न मन लाग्यो । साथीभाइबाट सहयोग लिएर आवश्यक सामानको खोजीमा लागे । ‘थर्मोस्ट्याट’ (योे तापक्रम नियन्त्रण गर्ने ‘मोड्युल’ हो), ‘फ्यान’ (हावा पास गर्छ), ‘लाइट’ (उज्यालो र न्यानो दिन) हुन् । ती सामग्री खोज्नै उनलाई कम्तीमा एक महिना लाग्यो । यी सामग्री जोडेर उनले अर्को मेसिन बनाए । जसमा १ सय ५ अण्डा राखे । त्यसबाट ८५ ओटा चल्ला जन्मिए ।

सुरुआती चरणमा सामानहरू नपाउने, एउटै सामानका लागि चार÷पाँच बजार धाउनुपर्ने, पूरै बजार धाए पनि मुस्किलले पाउनेजस्ता समस्याको समाना गरे अशोकले । त्यसैले सुरुसुरुमा तापक्रम नाप्न ज्वरो नाप्ने ‘थर्मोमिटर’ को प्रयोग गरे । तर, अहिले उनी ‘कन्ट्रोलरको प्रयोग गरिरहेका छन् ।’ सुरुमा उनले बनाएका इन्क्युबेटर सामान्य खालका थिए । अशोक भन्छन्, ‘सुरुमा यसको डिजाइन युट्युबमा जे हेरियो त्यस्तै सामान्य किसिमको थियो । तर, अहिले आवश्यकताअनुसार बनाउन सक्छु ।’

लगानीको समस्या भएपछि उनले आफू सुत्ने खाटको ‘प्लाइउड’ काटे । त्यतिले नपुगेपछि ‘स्टडी टेबल’ र ‘किचेन र्याक’ पनि बाँकी राखेनन् । त्यसलाई अलि आधुनिकस्तरको बनाउने कोसिस गरे । सफल पनि भए । उनले जति पनि सिके युट्युब र गुगलबाट नै सिके ।
अहिले उनीकहाँ चल्ला काढ्न अण्डा लिएर आउने ग्राहकको चाप बढेको छ । उनी चल्ला मात्रै काढ्दैनन्, मेसिन बनाएर बेच्न पनि थालेका छन् । मेसिन बनाउन चाहनेहरूलाई आवश्यक समाग्री पनि उपलब्ध गराउँछन् । ‘मैले बनाएको इन्क्युबेटर कुनै ब्रान्डेड कम्पनीभन्दा कम छैन’, उनी भन्छन्, ‘मसँग फर्निचरको राम्रो ज्ञान नभएकाले मेसिनको लुक्स खासै आकर्षक छैन । तर, परिणामको हिसाबले बजारमा पाइने इन्क्युभेटरभन्दा कम छैन ।’

बुवालाई फकाउन बहिनीमार्फत भिडियो
पढाइ खर्चबापत प्रत्येक महिना बुवाले मासिक १० हजार पठाउँछन् । उनले त्यो पैसा पनि मेसिन बनाउनमै लगानी गरे । एकदिन बुवालाई आफूले गरेको कामबारे जानकारी गराए । अझै राम्रो बनाउनका लागि केही रकम सहयोग मागे । तर, उनका बुवा ‘इन्जिनियरिङमा स्नातकोत्तर गरेको मान्छेले यस्तो काम गर्ने हो’ भनेर रिसाए । त्यतिबेला उनलाई दुःख लाग्यो । तर, कोसिस जारी राखे । ३÷४ महिनापछि उनले मेसिनबाट चल्ला काढेको भिडियो बनाएर ‘बुवालाई देखाइदिनू’ भनेर बहिनीको फेसबुकमा पठाए । भिडियो हेरेपछि बुवाको मन फेरिएछ । उनी मुस्कुराउँदै सुनाउँछन्, ‘भिडियो हेरेपछि बुवा खुशी हुनुभयो । उहाँले ५० हजार पठाइदिनु भयो ।’

त्यसलगत्तै दोस्रो चरणको लकडाउनमा एकातिर थुप्रै मेसिन बनाएर स्थानीयलाई ३५ सयदेखि ५० हजारसम्ममा मेसिन बेचेर आयआर्जन गरे भने अर्कोतिर कोठासम्मै अण्डा कोरल्न ल्याउनेको ताँती लाग्यो । अहिले उनको दिनचर्या नै फेरिएको छ । अशोक भन्छन्, ‘बजारमा यसको माग धेरै छ । कैलाली, कंंचनपुरदेखि पूर्व उदरपुरसम्म पनि यो मेसिन सप्लाइ गरिसकेको छु ।’ अहिले उनी कुखुरा, हाँस, बटै, कडकनाथको अण्डाबाट चल्ला उत्पादन गरिरहेका छन् । १८ दिनमा बटैका, २१ देखि २२ दिनमा कुखुराको र २८ दिन हाँसबाट बच्चा निस्किने बताउँछन् ।

आफ्नो खुबी चिन्न सक्नुपर्छ
अहिले समय परिवर्तनशील छ । समयअनुसार चल्न जानिएन भने अगाडि बढ्न मुस्किल छ । लकडाउनले अशोकलाई आफ्नो खुबी चिन्ने मौका दियो । आफ्नो खुबीबारे थाहा पाएपछि उनी दंग छन् । ‘हामीले काम गर्न सकेनौं भनेर तनाव लिएर बसिरहेका हुन्छौं । त्यो तनावभन्दा बरु आपूmमा भएको खुबीको पहिचान गर्यौं भने हामी खुशी हुन सक्छौं’, अशोक भन्छन्, ‘यो लकडाउनले मलाई मेरो खुबी चिन्ने मौका दियो । नत्र यतिबेला पनि तनाव लिएर वा कुनै जागिरको खोजीमा भौतारिरहको हुन्थेँ होला ।’