श्रमिक दिवसमै एनआरएनए मलेसियाको ठूलो कार्यक्रम, सम्मानित हुँदै प्रभावशाली व्यक्तित्वहरू ।

क्वालालम्पुर।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

संघका महासचिव विष्णु प्रसाद बरालका अनुसार उक्त कार्यक्रम सन् २०२६ मे १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा दिउँसो १ बजेदेखि ५ बजेसम्म भव्य रूपमा सञ्चालन हुनेछ।

कार्यक्रमलाई व्यवस्थित, मर्यादित र प्रभावशाली बनाउन आवश्यक सम्पूर्ण तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ। कार्यक्रममा मलेसियामा रहेका नेपाली समुदायका अगुवा, श्रमिक प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

यस अवसरमा नेपाली समुदायको एकता, योगदान र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।

सम्मानित हुने व्यक्तित्वहरूमा पूर्व उपाध्यक्ष तथा आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व अध्यक्ष तथा निवर्तमान आरसी हरी भट्टराई, संस्थापक अध्यक्ष तथा संरक्षक शंकर बहादुर पौडेल, निवर्तमान अध्यक्ष बिनोद बहादुर थापा र निवर्तमान अध्यक्ष राकेश प्रसाद महत्त्व रहेका छन्। उनीहरूको दीर्घकालीन योगदान, नेतृत्व र संस्थाप्रतिको समर्पणको उच्च कदर गर्दै सम्मान गर्न लागिएको हो।

एनआरएनए मलेसियाले यस कार्यक्रममार्फत मलेसियामा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य र सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।