बारामा वार्षिक ६ अर्बको माछा कारोबार

बारा । बाराबाट हरेक वर्ष ६ अर्ब रुपैयाँ बराबरको माछाको कारोबार हुने गरेको छ । जिल्लामा रहेका पोखरी तथा तालतलैयाबाट वर्षेनी ६ अर्बको माछाको कारोबार हुँदै आएको हो । माछा उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि बारामा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । 

जिल्लामा अहिले व्यावसायिक रूपमै माछापालनतर्फ किसानहरूको संख्या बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन बाराका प्रमुख डा. सुरेन्द्र यादवले बताउनुभयो ।   

उत्पादित माछा पोखरीकै डिलबाट व्यापारीहरूले खरीद गरी लग्ने गरेका छन्, उहाँले भन्नुभयो, ‘माछापालनका लागि आवश्यक पूर्वाधारसँगै पानीको स्रोत सुहाउँदो माटो र न्यानो हावापानी तथा वर्षमा तीन पटकसम्म बिक्री गर्न सजिलो भएको हुनाले अन्य कृषि व्यवसायभन्दा माछापालन व्यवसाय नै बारामा आम्दानीको मुख्य श्रोत बन्दै गएको यादवले बताउनुभयो ।’ 

सरकारले बारा जिल्लालाई माछाको पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन कार्यक्रमसमेत लागू गरेको छ । सुपरजोन कार्यक्रम लागू भएपश्चात् यस क्षेत्रका किसानहरू उत्साहित भई थप माछा पालनतर्फ आकर्षित भएका छन् ।  

अन्य कृषि व्यवसायभन्दा यस जिल्लामा माछा उत्पादन तथा बजार व्यवस्थापन राम्रो भएको र माछापालनका लागि थप नयाँ कार्यक्रम लागू भएको थाहा पाएर तोकिएको भन्दा चौगुणा संख्यामा माछा किसानहरू बढेको प्रमुख यादवले बताउनुभयो । बाराबाट मात्रैै पोखरी र तालतलैयाबाट हरेक साल ३० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको उहाँको भनाइ छ । 

जिल्लामा दर्तावाला माछा किसान एक हजार तीन सय रहेकामा सुपरजोन क्षेत्रभित्र पाँच सय माछा किसानहरू रहेको उहाँले भन्नुभयो । नेपालमा खपत हुने कुल माछामध्ये लगभग ३० प्रतिशत माछा बाराबाट आपूर्ति हुने गरेको उहाँले जानकारी दिनुभयो ।

बाराबाट उत्पादित माछामध्ये दुई तिहाई माछा पाकेट क्षेत्रबाट उत्पादन हुने गरेको छ, उहाँले भन्नुभयो, ‘विशेष गरि बारामा कार्प जातिका माछा उत्पादन हुने गरेको छ ।’ 

यहाँबाट उत्पादित माछा देशको राजधानी काठमाडौैं, चितवन, पोखरा, हेटाँैडा, जनकपुर, विराटनगर, नेपालगञ्जलगायतका ठाउँहरूमा बिक्री वितरण हुँदै आएको उहाँले बताउनुभयो । स्थानीयस्तरमा मात्रै हरेक वर्ष एक अर्ब बराबरको माछाको कारोबार हुने गरेको प्रमुख यादवले जानकारी दिनुभयो ।

लकडाउन हुनुभन्दा पहिला बाराबाट उत्पादित माछाको १० देखि १५ प्रतिशत हिस्सा भारतको विहार राज्यमा निर्यात हुने गरेको थियो ।