डिपिएल निर्धारित समयमा नहुने

धनगढी । कोरोना महामारीका कारण धनगढी प्रिमियर लिग (डिपिएल) ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण निर्धारित समयमा नहुने भएको छ ।

कोरोना महामारी तथा सरकारले पनि खेलकुदका गतिविधि सुचारु नगर्ने निर्णय गरेका कारण चौथो संस्करण यसअघि तोकिएको अक्टोम्बर २४ देखि नगर्ने निर्णय गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । धनगढी प्रिमियर लिग सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हो । आयोजक एकेडेमीका अध्यक्ष सुवास शाहीले चाँडै प्रतियोगिताको नयाँ मिति घोषणा हुने जानकारी दिनुभयो ।

‘हामीले चौथो संस्करण यही अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेका थियौं,’ एकेडेमीका शाहीले भन्नुभयो, ‘तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण उक्त निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको छ । प्रतियोगिताको नयाँ मिति यथाशीघ्र चाँडो घोषणा गर्ने जानकारी गराउँछौं ।’

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले आयोजना गर्दै आएको एसपिए कप र धनगढी क्रिकेट एकेडेमी (डिसिए)को आयोजनामा हुँदै आएका धनगढी क्रिकेट लिग (डिसिएल)लाई संयोजन गर्दै सन् २०१७ देखि धनगढी प्रिमियर लिग(डिपिएल) आयोजना हुँदै आएको छ ।

नेपालमा राष्ट्रियस्तरमा शहरको नाममा फ्रेन्चाइजी टोली र टोलीले अक्सनमा खेलाडीहरूको बोलकबोल गर्दै भिœयाउने व्यावसायिक परम्परा डिपिएलले सुरु गरेको हो । डिपिएलको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रूपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले सहभागिता जनाउँदै आएका छन् । सुरुका दुई संस्करणको डिपिएलको उपाधि घरेलु टोली धनगढीले जिते पनि अघिल्लो वर्ष भएको तेस्रो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो ।

डिपिएल आयोजकले हरेक वर्ष उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महŒवपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरूप एक–एक लाख रुपैयाँ प्रदान गर्दै आएको छ ।