निराहार सत्यग्रह र डाक्टर गोविन्द केसी

हामी सबैले भोक हड्ताल वा निराहार सत्याग्रहबारे सुनेका छौँ, अझ कैयौँले त यस प्रकारका विभिन्न आन्दोलनमा ऐक्यबद्धतासमेट प्रकट गरेका छौँ । हाल डा. गोविन्द केसीले आफ्नो १९औं सत्याग्रह सुरु गर्नुभएको छ भने उहाँलाई सत्याग्रह गर्नबाट रोक्न वा तोड्न लगाउन सरकार तथा प्रशासनबाट प्रत्यक्ष र अप्रत्यक्ष दबाब पनि आइरहेको छ । 

स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार तथा आम सर्वसाधारणको स्वास्थ्यसम्बन्धी सेवाहरूमा सुधारका माग राख्दै आउनु भएका डा. केसीको सर्वसाधारणबाट भने निकै नै सराहना हुने गरेको छ । डा. केसीले १९ पटकमा जम्मा २ सय ३० दिन निराहार सत्याग्रह बसिसकेको अवस्था छ । त्यस्तै केही समयअघि सामाजिक अभियन्ता इनफ इज इन अफ्का सहयोगीहरूले कोभिड १९ रोकथाम तथा क्वारेन्टाइन सेन्टरहरूको सुधारमा नेपाल सरकारको भूमिका प्रभावकारी बनाउन माग राख्दै दुई चरणमा सत्याग्रह गरेका थिए । 

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको न्यायको लागि नन्दप्रसाद अधिकारी र उनकी श्रीमती गंगामायाले पनि धेरैपटक भोक हड्ताल गरिसक्नु भएको हो । नन्दप्रसाद अधिकारीको न्यायको खोजीमै मृत्यु भयो भने गंगामाया अधिकारी आजसम्म वीर अस्पतालमा आन्दोलनरत नै हुनुहुन्छ । तर विरोधको विषय तथा प्रभावकारीतालाई पर राख्दै यहाँ निराहार सत्याग्रहको बारेमा चर्चा गरिनेछ । 

भोक हड्तालको सुरुवात कसरी कहाँबाट कसले ग¥यो, निराहार बस्दा सत्याग्रहीलाई कस्तो शारीरिक तथा मानसिक असर पर्दछ भन्नेबारे हामीलाई धेरै थाहा नहुन सक्छ । भोक हड्ताल कहिलेदेखि कसले सुरु ग¥यो भन्ने प्रश्नको जवाफ कसैसँग छैन । तर यसको प्रयोग धेरै अघिदेखि भएको देखिन्छ । आयरल्याण्डमा प्राचीनकालदेखि नै पीडित व्यक्तिले आफूमाथि अन्याय गर्ने व्यक्तिको घरदैलोमा बसी न्यायको खोजीमा भोक हड्ताल गर्ने गरेको पाइन्छ । तत्कालीन समयमा न्यायिक प्रणालीअन्तर्गत नै यस किसिमको विरोध गरिन्थ्यो भने पीडित व्यक्तिको यदि मृत्यु भएमा पीडकले मृतकको परिवारलाई क्षतिपूर्तिसमेत दिनुपर्ने हुन्थ्यो । 

त्यस्तै किसिमको हड्ताल पौराणिक कालमा भारतमा पनि गरिन्थ्यो भनिन्छ । रामायणमा समेत यस किसिमको विरोधको व्याख्या पाइन्छ । जब रामले १४ वर्षे वनबासमा जानुपर्ने भयो, उनका भाइ भरतले राम नफर्कुन्जेलसम्म राजगद्दी सम्हाल्ने भए । तर, एक सर्त थियो ः १४ वर्ष सकिनासाथ राम फर्केर राजगद्दी सम्हालेनन् भने उनले निराहार रही आत्मदाह गर्ने । भारतमा यस्तो प्रथा पछिसम्म रहृयो र यसलाई धर्ना भनिन्थ्यो । न्यायको खोजीमा प्रयोग गरिने यस प्रथाको सन् १८६१ मा कानुनी रूपमै अन्त्य गरियो ।

२०औं शताब्दीमा भोक हड्तालको प्रयोगबाट ठूलाठूला सामाजिक र राजनीतिक परिवर्तनहरू भए । आयरल्याण्डमा सन् १९१६ को इस्टर राइजिङपछि हिरासतमा रहेका केही बन्दीहरूले आफूलाई राजनीतिक बन्दीको मान्यता दिनुपर्ने मागसहित बेलायती सरकारको विरुद्ध भोक हड्ताल गरे । १९१६ देखि सुरु भएको यस विरोधको क्रममा थोमस एस, टरेन्स मिक स्वाइनीलगायतले लामो भोक हड्तालको क्रममा मृत्युवरण गरे । १९२३ मा त ८ हजारभन्दा बढी कैदीहरूले भोक हड्ताल गरे । 

पछि १९८१ मा बबि स्यान्ड्स नामक कैदीले ९ जना अरू कैदीहरूसहित गरेको भोक हड्ताल भने इतिहासमै महŒवपूर्ण मानिन्छ । स्याण्ड्सले यस विरोधको क्रममा जेलबाटै सांसदको उम्मेदवारी दिए र जिते पनि तर उनको विरोधको क्रममै मृत्यु भयो । उनीसँगै यस सत्याग्रहमा अरू ९ जनाले पनि ज्यान गुमाए । तर, उनीहरूलाई बेलायती सरकार र तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले सामान्य अपराधीभन्दा माथिको मान्यता कहिल्यै पनि दिएनन् । 

भारतमा महात्मा गान्धीले अहिंसात्मक असहयोगको आन्दोलनमार्फत बेलायती शासनबाट भारतलाई स्वतन्त्र बनाए । यस क्रममा गान्धीले १७ पटकसम्म भोक हड्ताल गरे । स्वतन्त्रताका योद्धा भगत सिंहले पनि जेल बस्दा निकै लामो भोक हड्ताल गरे । यस्ता अहिंसात्मक तरिकाबाट गरिएका विरोधले अन्त्यतः बेलायती इष्ट इण्डिया कम्पनीले भारतमाथिको आफ्नो स्वामित्वको अन्त्य ग¥यो । स्वतन्त्रतापछि भारत र पाकिस्तानको विभाजन भयो र हिन्दु र मुसलमानहरूबीच दंगाको सुरुवात भयो जसमा लाखौंको संख्यामा मानिसहरूको मृत्यु भयो । 

पाकिस्तानको अंशमा परेको ७५ करोड रुपैयाँमध्ये ५५ करोड तिर्न बाँकी रहेको बेलामा भारतको स्वामित्व मानिएको कश्मिर क्षेत्रमा पाकिस्तानले कब्जा गरेकोले भारतले सो रकम दिनु नहुने आम धारणा थियो । तर, महात्मा गान्धीले उक्त रकम तिरेर धार्मिक दंगा रोक्नुपर्ने भन्दै भोक हड्ताल सुरु गर्नुभएको थियो । 

प्रायजसो क्रुर शासकहरूको विरुद्ध संसारभरी भोक हड्तालहरू भएका छन् । नेपालमा राणा शासनका विरुद्ध बीपी कोइरालाले २९ दिनसम्म बन्दी गृहमानै भोक हड्ताल गर्नुभएको थियो । ०२९ सालतिर पञ्चायतका नेता सूर्यबहादुर थापाको भोक हड्ताल पनि चर्चित छ । ०४६ पछि अनेक मानव अधिकारवादीहरूले भोक हड्ताल गरेका थिए फरक प्रसंगमा । जब अन्यायले ग्रस्त समाजमा मानवीय संवेदना र अधिकारको कुनै सुनुवाइ हुँदैन, केही दृढ व्यक्तिहरूले सम्पूर्ण समाजको निम्ति यस्ता आन्दोलन सुरु गर्दछन् । कति सफल हुन्छन् कति असफल । 

भोक हड्ताललाई विरोधको अन्तिम अस्त्रका रूपमा लिइन्छ । सुनुवाइ नभएको खण्डमा सत्याग्रहीको ज्यान नै जाने गर्दछ । यसका निम्ति ठूलो साहसको आवश्यकता पर्दछ भने यसले आम सर्वसाधारणको ध्यान खिच्न सफल हुन्छ । जब कोही न्यायको खोजीमा आफ्नो ज्यानकै बाजी लगाउन तत्पर हुन्छ, त्यो पनि अहिंसाको माध्यमबाट, त्यसको पछाडि गहिरो वैचारिक पृष्ठभूमि र मानवीय संवेदना रहेको विश्वास गर्न सकिन्छ । समर्थकहरूको साथ पाएपछि सत्याग्रहीहरू थप दृढ हुँन्छन् र आफ्नो संकल्पबाट डग्मगाउँदैनन् । 

शारीरिक परिर्वतन र क्षमता :

भोक अड्तालको क्रममा शरीरमा के के हुन्छ भन्ने बारे कुरा गरौँ । हाम्रो शरीरलाई क्रियाशील राख्न ठोस तथा तरल पदार्थको आवश्यकता पर्दछ । भोक हड्तालमा कसैले खाना खाँदैनन् भने कसैले पानीसमेत पिउँदैनन् । जब शरीरले खाना र पानी पाउन छोड्छ, अत्यावश्यक तत्वहरूको कमी हुन थाल्छ । पोटासियम र महŒवपूर्ण इलेक्ट्रोलाइटहरूको अभावमा स्नायु प्रणली वा नर्भस सिस्टम कमजोर हुन थाल्छ । कमजोर स्नायु प्रणालीले गर्दा तिर्खाको अनुभूति पनि हुँन छोड्दै जान्छ । खाना र पानीको कमीले शरीरको बोसो र मासु घट्दै जान्छ । 

भोको रहेको तीन दिनमै कलेजोले विस्तारै शरीरको बोसोलाई टुक्राउन थाल्छ । यसलाई किटोसिस् भनिन्छ । शरीर सकेसम्म कम शक्तिमा सञ्चालन हुन त थाल्छ तर त्यो थोरै शक्ति पनि उत्पादन गर्ने पदार्थ शरीरमा नआएपछि बिस्तारै कलेजोले आफ्नै शरीरको मासुको उपयोग गर्न थाल्छ । मासु पनि सकिँदै गएपछि आन्तरिक अंगहरू उपयोग गर्ने बाध्यता हुन्छ र यसै क्रममा भित्री अंगहरूले काम गर्न छोड्दै गएपछि व्यक्तिको ज्यान नै जान सक्छ । बाहिरी शरीरमा पनि केही संकेतहरू देखिन थाल्छन् । छालामा मैनजस्तो पदार्थ देखिन थाल्छन् भने शरीरबाट अमिलो खालको गन्ध आउन थाल्छ । किटोसिसको क्रममा विषालु पदार्थहरू उत्पादन हुने गर्दछन् जुन सामान्यतः पिसाबबाट निकालिन्छ । 

तर, पानीको कमीका कारण त्यो राम्ररी निस्कन नपाएपछि किटोएसिडोसिस हुन्छ र ज्यान जान सक्छ । शरीरमा पानीको अत्यधिक कमी हुँदा अनि मासु र भित्री अंगहरूको खपतबाट चलेको शरीर अन्ततः किड्नी र लिभरले काम गर्न छोडेपछि मृत्यु हुन्छ । 

कति समयसम्म भोकै बस्न सकिन्छ भन्ने कुरा हड्ताल बस्ने मानिसको शारीरिक अवस्थाले निर्धारण गर्छ । पानी वा अन्य गुलियो तरल पदार्थ पिएको खण्डमा भोक हड्ताल केही लामो जानसक्छ । सामान्यतः शरीरमा बोसो र मासु कति छ त्यसले फरक पर्छ भने उमेर तथा अन्य रोगहरू भए नभएको कुरा पनि महŒवपूर्ण हुन्छन् । महात्मा गान्धी ७० वर्षभन्दा बढी हुँदा २१ दिनससम्म भोकै बस्नसक्नु भयो भने सामान्यतः मानिसहरू दुई हप्तामा शारीरिक जटिलता महसुस गर्न थालेर विरोध रोक्छन् । जब भोक हडताल तोड्न, प्रशासनले जबरजस्ती नाकमुखबाट पाइपमार्फत खाना वा पानी खुवाउन खोजे, वायुनली हुँदै फोक्सोमा पुगेर मृत्यु नै हुन्छ ।

नेपालमा पनि डा. केसीले १९आंै सत्याग्रह जुम्लाबाट सुरु गरी हाल शिक्षण अस्पतालमा रहनु भएको छ । उहाँको माग सबै नेपाली जनताका लागि हो भन्नेमा कुनै शंका छैन तर सरकार भने उदासीन देखिन्छ । स्वास्थ्य क्षेत्रका केही माफियाहरूको स्वार्थ रहेका कारण डा. केसीका मागहरूमा सुनुवाइ नभएको कुरा बुझ्न कठिन छैन । जुम्लामा मृत्युवरण गर्न तत्पर डा. केसी काठमाडौं आएपछि जसरी उहाँलाई वीर अस्पताल लान खोजियो त्यस बेलाको घटनाले जनता निकै आक्रोसित भएका थिए । यस्ता सामाजिक परिर्वतका लागि सत्याग्रहको बाटोमा लागेका देशको सपूतलाई समर्थन गर्नु सबैको कत्र्तव्य हो ।क

(भण्डारी नक्सा प्रा.लिका सहसंस्थापक र पाठक नेपाल पानी सदुपयोग फाउण्डेसनमा अनुसन्धानकर्ता तथा अमृत क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ ।)