नेपाली दूतावास गेटमा फोटो, भिडियो खिचेमा र फेसबुकमा जथाभावी लेखेमा जरिवाना,जेल।

यूएई := यूएईमा रहेको नेपाली दूतावास आबुधावीको गेटमा जथाभावी रुपमा फोटो खिच्ने तथा भिडियो बनाएमा कडा कारबाही हुने भएको छ।

दूतावासको आधिकारिक फेसबुक पेज तथा सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा प्रतिकृया जनाउनेलाई २ हजार दिर्हाम अर्थात झण्डै ६४ हजार रुपैयाँ जरिवाना शुल्कसहित १ वर्षको जेल सजाय हुने भएको हो।

कुटनीतिक नियोग भवन वरपर उभिएर दुई देशकै छविमा आँच आउने, उच्छृँखल गतिबिधि गर्ने तथा समाजिक सञ्जालमा जथाभावी लेख्नेलाई स्थानीय प्रशासनले कडा कारबाही गर्ने भएको हो।

यही कारण हालसालै ४ जना नेपाली पक्राउ परेको परिवार स्रोतले जनाएको छ । कोरोनाका कारण लामो समयसम्म उडान बन्द हुँदा नेपाल फर्किन नपाएर समस्यामा परेका नेपालीले दूतावासको गेटमा धर्ना दिने, दूतावासका कर्मचारीसँग अभद्र व्यवहार गर्ने र राज्य विरुद्ध नाराबाजी गरेका भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेका थिए।

चार नेपाली सजाय भोग्दै :

भिडियो बनाउँदै सामाजिक सञ्जालमा उच्छृँखल गतिबिधि गर्ने, सामाजिक सञ्जालमा नराम्रा टिप्पणी गर्नेहरुलाई पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाइएको छ । दुई महिना पहिले दूतावासको गेटमा पुगेर कपिलवस्तुका निलम पाण्डे (नाम परिवर्तन) ले नेपाली भाषामा बोल्दै राज्य विरुद्ध मुर्दावादको नारा लगाएको भिडियो टिकटकमा राखेका थिए।

सोही भिडियोका कारण अहिले उनी आबुधावीमा रहेको अल वात्बा जेलमा छन् । आबुधावीको एउटा सेक्युरिटी कम्पनीमा करार अबधी सकेर नेपाल फर्किने तयारी गरेका उनले समयमै घर फर्कन नपाउँदाको आक्रोश दूतावासको गेटमा पोखेका थिए । त्यही आक्रोश आफ्नै मोबाइलमा अरुलाई खिच्न लगाएर आफ्नो टिकटक तथा अन्य सञ्जालमा राखेका थिए।

त्यस्तै कामको खोजीमा भिजिट भिसामा यूएई आएका धरानका मनिल विक (नाम परिवर्तन) अहिले यूएईमा जेल जीवन बिताइरहेका छन् । मनिलले काम खोज्दै गर्दा कोरोनाको प्रकोप बढेकाले रोजगारी पाउन सकेनन् । लकडाउनका कारण नेपाल फर्किने जहाज उडेनन्।

जहाज नउडेपछि मनिल दुबईमै अड्किए । लामो समयसम्म काम बिहीन भएर बस्दा मनिललाई चिन्ता थपियो । आवेशमा आएर मनिलले नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट लेख्दै भने ‘छिट्टै आबुधावी दूतावासमा गएर आगो लगाइदिन्छु र दूतावास भवन तथा कर्मचारीलाई बमले उडाइदिन्छु।’

कमेन्ट गरेका कारण मनिल अगष्ट तेस्रो साता नेपाल जान विमानस्थल पुगेका बेला दुबई बिमानस्थलमा पक्राउ परेका हुन् । पक्राउ परेका पाण्डेलाई आबुधाबी तल्लो अदालतले २ हजार दिर्हाम जरिवाना र एक वर्ष जेल सजाय सुनाएको परिवारले जनाएको छ । त्यस्तै विकको मुद्दा पनि अदालतसम्म पुगेको परिवारले जनाएको छ।

यसरी पक्राउ परेका नेपाली नागरिकका परिवारले दूतावासलाई सहयोग गरिदिन अनुरोध गरेका छन् । उनीहरुले लिखित निवेदन दिँदै गल्तीको महसुस गरेकाले माफी दिन अनुरोध गरेका छन्। यसअघि पनि दूतावासको गेटमा पुगेर एक समूहले स्थानीय कर्मचारीमाथि हातपात गर्ने र अर्को समूहले फोटो भिडियो खिच्दै प्रहरी बोलाउने गरेका थिए । हातपात गर्दा रगतसमेत देखिएपछि फोन गरेर प्रहरी बोलाउने र भिडियो बनाउनेहरु नै पक्राउ परेका थिए।

त्यसरी पक्राउ परेका रमेश कट्टेल (नाम परिवर्तन) र राम थापालाई दूतावासकै सहयोगमा नेपाल पठाइएको छ।

दूतावास आफैंले मुद्दा लगाएर फसायोपीडित

जेल जीवन बिताइरहका नेपालीको परिवारले नेपाली दूतावास आफैंले मुद्दा लगाएर फसाएको गुनासो गरेका छन्। पीडित परिवारले दूतावास आफैंले मुद्दा लगाएर नेपाली नागरिक फसाएको र अन्य सहयोग नगरेको आरोप लगाएका छन् । उनीहरुले आवेशमा आएर दूतावास वा सरकारलाई गाली गरे पनि नियतबस आपराधिक मनसायले नगरेको भन्दै दूतावासले चाहे मुद्दा टुङ्गिने पीडित परिवारको भनाइ छ।

तर नेपाली दूतावास आबुधावीले कोही नेपाली नागरिकमाथि मुद्दा नलगाएको जनाएको छ । ‘समस्यामा परेका नागरिकलाई हामीले नै हेर्ने जिम्मेवारी हो, हामी आफैंले मुद्दा लगाउने भन्ने होइन’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो।

कानुन विपरित गर्ने कामको स्थानीय प्रशासनले सेन्सर गरेर वा आफ्नो माध्यममार्फत कानुनी दायरामा ल्याउने भए पनि दूतावास आफैंले कसैलाई मुद्दा नलगाएको राजदूत ढकालले बताउनुभयो । यस्तै दूतावासले पनि भवन अघिल्तिर सूचना टाँसेर फोन र भिडियो नबनाउन अनुरोध गरेको छ।source : ujjyalo / umakant Pandey