रौतहट जिल्लामा एक महिनामा चार महिलाको हत्या।

काठमाडौं := रौतहटमा एक महिनायता चार महिलाको हत्या गरिएको छ । गत शुक्रबार वृन्दावन नगरपालिका–४ हरैयापल्टुवामा घाँस काट्न गएकी १६ वर्षीया किशोरीको उखुबारीमा शव भेटिएको छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको वडाध्यक्ष श्याम यादवले बताए । जिल्ला प्रहरी कार्यालय, रौतहटका डिएसपी भरत श्रेष्ठका अनुसार उखुबारीमा उनको शव भेटिएको हो।

यसअघि १४ असोजमा प्रहरी हिरासतमै गुजरा–२ कटानी बजारकी राधिका राउतको ज्यान गएको थियो । परपुरुषसँग लागेको आरोप लगाउँदै उनका पति सुमनले वडाध्यक्ष अशोककुमार खाँ थारूलाई जानकारी दिएका थिए । त्यसपछि वडाध्यक्षसहित जनप्रतिनिधिले राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले आरोपित युवकलाई पनि पक्राउ गरेको थियो । हिरासतमै रहेका वेला बिहीबार बिहान उनी मृत भेटिएकी थिइन्।यो खबर नयाँ पत्रीकामा अशोक पहाडीले लेखेका छ्न।

यस्तै, ९ असोज राति देवाही गोनाही नगरपालिका–५ टिकुलियाकी जगरामीदेवी तिवारीको हत्या गरिएको थियो । कुटपिटबाट उनको हत्या भएको प्रहरीले जनाएको छ । उनका पति महेशमाथि पनि कुटपिट भएको थियो । देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चारजना मिलेर दम्पतीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रजित र सोनालाल दाजुभाइ हुन्।

यसैगरी, १४ भदौमा गढीमाई–३ मुसहरी टोलकी मिन्त्रादेवी बैठाको पनि बलात्कारपछि हत्या गरिएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् । उनी बिहान घाँस काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारजनले खोजबिन थालेका थिए । गाउँनजिकैको उखुबारीमा शव भेटिएको उनका पति सकल बैठाले बताए।