अबुधाबी (युएई):= संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास, अबुधाबीले सार्वजनिक बिदाको अवसर पारेर राहदानी नवीकरण, श्रम सचेतना, खुला अन्तरक्रिया तथा प्राथमिक उपचारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
दूतावासका अनुसार आइतबार (२८ जुन २०२६ / २०८३ असार १४ गते) आयोजित कार्यक्रममा सहभागी नेपाली श्रमिकहरूलाई यूएईको श्रम कानुन, श्रमिकका अधिकार र कर्तव्य, गुनासो व्यवस्थापन प्रक्रिया, सुरक्षित वैदेशिक रोजगारी, नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक सुरक्षा कोष (SSF) सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा श्रमिकहरूलाई सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुर्याउने MOFA Mitra App, Nagarik App र MOHRE App सम्बन्धी जानकारी दिइनुका साथै मोबाइलमा एप स्थापना, राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी आवश्यक सहजीकरण पनि गरिएको थियो।

राजदूतावासका श्रम सहचारी पंकजलाभ कर्ण र तृतीय सचिव विमलेश कुमार मिश्रले श्रम तथा कन्सुलर सेवासम्बन्धी विविध विषयमा जानकारी गराउँदै सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिएका थिए।
कार्यक्रममा स्वास्थ्य सचेतनालाई समेत प्राथमिकता दिइएको थियो। नेपाल पत्रकार महासंघ, यूएईका निवर्तमान अध्यक्ष लक्ष्मण खनाल तथा प्राथमिक उपचार प्रशिक्षक जगन अधिकारीले प्राथमिक उपचार, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा स्वास्थ्यसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरेका थिए।
सार्वजनिक बिदाको दिन आयोजना गरिएको यस्तो कार्यक्रमप्रति सहभागी श्रमिकहरूले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता श्रमिकमैत्री कार्यक्रमलाई निरन्तरता दिन राजदूतावासलाई सुझाव दिएका छन्।
नेपाली राजदूतावास, अबुधाबीले सार्वजनिक बिदाका दिनसमेत विभिन्न श्रमिक शिविर तथा दूतावास परिसरमा श्रमिक सचेतना, कानुनी परामर्श र कन्सुलर सेवा सम्बन्धी कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।




















