यूएईमा नेपाली श्रमिकले अब कार्यस्थलमै राहदानी पाउने, दूतावास जानै नपर्ने।

दुबई (युएई):= संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकले अब नयाँ राहदानी लिन महावाणिज्यदूतावासको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। दुबईस्थित नेपाली महावाणिज्यदूतावासले राहदानी आवेदन दिएका सेवाग्राहीलाई उनीहरूले उल्लेख गरेको ठेगानामै नयाँ राहदानी पुर्‍याउने व्यवस्था सुरु गरेको जनाएको छ।

महावाणिज्यदूतावासका अनुसार यूएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत आवेदकले आवेदनका क्रममा उल्लेख गरेको ठेगानामै राहदानी डेलिभरी गरिनेछ। यस सेवाका लागि राहदानी आवेदनको बायोमेट्रिक विवरण दिँदा नै डेलिभरी फारम भर्नुपर्नेछ।

राहदानी तयार भएर महावाणिज्यदूतावासमा प्राप्त भएपछि महावाणिज्यदूतावासले इमिरेट्स पोस्टमार्फत आवेदकले दिएको ठेगानामा पठाउनेछ। राहदानी लिनकै लागि कार्यस्थलबाट छुट्टी लिनुपर्ने, लामो दूरी यात्रा गर्नुपर्ने तथा समय र खर्चसमेत हुने भएकाले हुलाकमार्फत राहदानी उपलब्ध गराउन सेवाग्राहीबाट निरन्तर आग्रह हुँदै आएको महावाणिज्यदूतावासले जनाएको छ।

महावाणिज्यदूतावासले सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको बताएको छ। हुलाकमार्फत राहदानी प्राप्त गर्दा डेलिभरी शुल्क भने सेवाग्राही आफैंले तिर्नुपर्नेछ। भ्याटसहित १५.७५ यूएई दिर्हाम डेलिभरी शुल्क लाग्नेछ।

यद्यपि, हुलाकमार्फत राहदानी लिनु अनिवार्य भने गरिएको छैन। हुलाक सेवा आवश्यक नपर्ने वा आफैं महावाणिज्यदूतावास पुगेर राहदानी लिन चाहने सेवाग्राहीले महावाणिज्यदूतावासबाटै राहदानी बुझ्न सक्नेछन्।

यस व्यवस्थाले विशेषगरी रोजगारीका कारण नियमित रूपमा छुट्टी लिन कठिन हुने नेपाली श्रमिकलाई राहदानी प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।