बाल कथा:जातको कुरा

मनिष र आशिष दुवै स्कुलमा एकदम मिल्ने साथी हुन् । स्कुलमा सँगै बस्ने सँगै पढने दुवैजना पढाइमा पनि उत्तिकै अव्वल रहेका उनीहरू अतिरिक्त क्रियाकलापमा पनि उतिकै अग्रसरका हुन्छन् । जसले गर्दा सर र म्यामको नजरमा राम्रा विद्यार्थीका रूपमा उनीहरू पर्दै आएका छन् । स्कुलमा अन्य साथीहरूसँग पनि उनीहरू उतिकै घुलमिल हुनेगर्थे । 

दुवै जना अन्य साथीहरूका समस्यामा एक भएर समाधान गर्नेतर्फ लाग्छन् । उनीहरू यति धेरै मिल्थे की स्कुल टिफिनमा खाजा सँगै खान्थे । घरबाट ल्याएको खाजा होस् वा कहिले स्कुलकै टिफनमा तयार भएको खाजा होस् सधैँ बाडीचुडी खान्थे । सबैसँगको राम्रो व्यवाहार गर्ने उनीहरू कसैलाई नराम्रो गर्दैनथे भने कक्षामा कमजोर साथीहरूलाई सिकाउन सहयोग गर्थे ।

दुर्गम जिल्लाकै सदरमुकाममा रहेको स्कुलमा पाँच कक्षामा अध्यनरत उनीहरूको व्यवहार निकै राम्रो र अनुकरणिय थियो । आफ्नो सरसफाई उनीहरू सचेत देखिन्थे भने स्कुलको सरसफाईमा पनि उतिकै चाखपूर्वक लाग्नेगर्थे । स्कुलमा र अन्तरस्कुलमा हुने खेलकुद, हाजिरी जवाफ, बक्तित्वकला प्रतियोगिता लगायतकामा उनीहरूको प्रतिस्पर्धा हुने भए पनि प्रतियोगिता पछि दुवैले एक अर्कालाई बधाई दिने गर्दथे ।

एकदिन मनिषले आशिषलाई आफ्नो दिदीको विहेमा घरमा बोलायो । उनीहरू एकदम मिल्ने भएपनि एक अर्काको घर परिवारसँग भने चिरपरिचित थिएनन् । मनिषको बाबा आमा कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । मनिषको दिदी, दाइ पनि बाहिर नै बसेर पढीरहेका थिए भने मनिष हजुरबुबा आमासँग बसेको थियो । विहेको दिन घरमा एकदम रमाइलो भएको थियो । सबैजना हासीखुसी देखिन्थे । कोही कता कुदीरहेका थिए भने कोही कता काममा दौडिरहेका थिए । मनिष पनि नयाँ कपडामा राम्रो देखिएको थियो । यसै पनि ऊ गोरो राम्रो थियो । दिदीको बिहेमा घरको माहोल रमाइलो थियो । जन्ति आउने भने समय भइसको थिएन । घरपक्षमा मानिसहरूको उपस्थिति बाक्लो थियो । 

मनिषले आशिष कतिवेला आउँछ होला भनेर उ आउने बाटो हेरिरहेको थियो । यतिकैमा अलिक ढिलो गरी आशिष आफ्नो दाइसँग आयो । आशिषले त्यहाँ आफ्ना बाबा र अंकलहरूलाई पनि देख्यो । उसका बाबा र अंकलहरू बिहेमा बाजा बजाउन आएका रहेछन् । आशिषलाई थाह थिएन । आशिष आएको देखेपछि मनिष दौडेर लिन गयो । आशिषले आफ्ना बाबा अंकलहरू तिर लगेर मनिषलाई परिचय गरायो । मनिषले पनि नमस्कार ग¥यो । मनिषले हातमा समातेर आशिषलाई घरतर्फ लग्यो । यतिकैमा मनिषका हजुर बाबाले उसलाई रोक्नुभयो, ‘कहाँ जान लागेको मनिष भन्दै ?’ मनिषले उ मेरो साथी आशिष भन्दै हजुर बाबासँग परिचय गरायो र घर भित्र लान खोज्यो । हजुर बाबाले फेरि मनिषलाई रोक्नुभयो ‘कहाँ जान लागेको मिल्दैन भन्दै ।’ मनिषले ‘किन र हजुर बा ?’ भन्दै प्रश्न ग¥यो । हजुरबाले मनिषलाई कुनातिर लगेर ‘उ तल्लो जातको हो क्या’ भन्नुभयो । मनिषले बुझेन उसले भन्यो यो ‘जात भनेको के हो ? उ त मेरो स्कुलको सबैभन्दा प्यारो साथी हो, हामी त घर भित्र जान्छौ भन्दै जिद्धी ग¥यो । मनिषको जिद्धिले सबै उनीहरूतर्फ आए । मनिषको बाबा आमा पनि आउनुभयो । मनिषले बाबा आमालाई ‘यो जात भनेको के हो ? किन मेरो साथीलाई घर भित्र जान नदिने भन्दै’, प्रश्न ग¥यो । मनिषको बाबाले ‘यो पहिलाको कुरा हो हामी सबै एकै हौ हुन्छ साथीलाई भित्र लिएर जाउ’ भन्नुभयो । 

मनिष खुशीहुँदै आशिषलाई लिएर भित्र गयो । अहिले पनि गाउँघरमा जात पातका कुरा भए पनि उनीहरूलाई त्यसको कुनै मतलव थिएन । आशिषका बुबा अंकलहरू पनि खुशी भए । मनिषको व्यवहारले एउटा क्रान्ति नै ल्यायो भनेर सबैले प्रशंसा गरे ।