नेपाली थर गोत्रको चिनारी

‘नेपाली थर गोत्र चिनारी’ शीर्षकमा केही महिनाअघि एउटा पुस्तक प्रकाशित भएको छ । यसका लेखक संकलक वा खोजकर्ता हुनुहुन्छ खडानन्द लुइँटेल । पुस्तक निकै आकर्षक र उपयोगी छ । आवरणमा हिमाल, पहाड र तालतलैयासहितको गुराँसको पmल र पुस्तकभित्र समाविष्ट थर गोत्रको संक्षिप्त संकेत छ । आवरण आकर्षक छ । पछाडिको पृष्ठमा लेखकको र उहाँका पूर्वप्रकाशित पुस्तकहरूको फोटो राखिएको छ । उहाँका पूर्वप्रकाशित पुस्तकहरूमा ‘लुइँटेल वंशावली’, ‘नेपालका स्थानीय तह’ र ‘एक सय एक’ व्यक्तित्व छन् । ओखलढुंगा हालको चम्पादेवी गाउँपालिका–३ का बासिन्दा लुइँटेल हाल बूढानीलकण्ठ नगरपालिका–१२ कपन फैकामा बस्तै आउनु भएको छ । 

पुस्तक प्रेमकला लुइँटेलको प्रकाशनमा सार्वजनिक भएको छ । यस पुस्तकका वितरकमा सागर, समीर र सीमा लुइँटेलहरू हुनुहुन्छ । यस पुस्तकको सर्वाधिकार लेखक संकलक आफैंमा रहेकोे छ । २०७६ चैतमा प्रथम संस्करण आएको यो पुस्तक २२ सयप्रति छापिएको छ । एपएिस प्रेसमा मुद्रण भएको यस पुस्तकमा अशुद्धिहरू भने धेरै भेटिन्छन् । हलुका पहेंलो कागज प्रयोग भएको यस पुस्तकमा ३२७+३२ गरी जम्मा ५२५ पृष्ठ छन् र पुस्तकको मूल्य ५२५ रहेको छ । पुस्तकमा किनारा अलिक बढी छोडिएका भए साजसज्जा अझै सुन्दर देखिने थियो । 

पुस्तक मित्रबन्धु र पाठकबन्धुमा समर्पण भएको छ । पुस्तकको सुरुमा राष्ट्रिय धर्मसभा नेपालका तर्फबाट अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईको मन्तव्य, पशुपति बहुमुखी क्याम्पस चावहिल काठमाडौंका प्रचार्य प्रयागराज भट्टराई ‘वाशिष्ठ’को ‘नेपाली थर गोत्रको चिनारी ग्रन्थ’को सम्बन्धमा केही शब्द’ शीर्षकको विश्लेषणात्कम भूमिका छ । पुष्पलाल अध्ययन समाजका अध्यक्ष तथा अष्ट ‘ज’ अभियान नेपालका उपाध्यक्ष लोककृष्ण भट्टराईको ‘शुभकामना’ संस्कृतिविद् तथा चारवेदका अनुवादक तिलकप्रसाद लुइँटेलको ‘हार्दिक शुभकामना’ छ । 

यसैगरी पुस्तकमा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन एकाइ समिति चावहिलका अध्यक्ष शेषकुमार कार्कीको ‘शुभकामना’ छ । त्यसपछि नेपालको राष्ट्रिय गान, नेपालका राष्ट्रिय विभूतिहरूको नाम र तिनका उपदेश पनि दिइएको छ । भूमिका खण्डको अन्त्यमा लेखक लुइँटेलको ‘मेरा दुई शब्द’ र विषय सूची समावेश छ । 

पुस्तकमा गोत्र भनेको केहो ? गोत्रको नामावली थार, गोत्र, प्रवर, प्रवर भनेको केहो ? थर भनेको के हो ? र थर कसरी रहृयो ? भन्नेजस्ता कुरा लेखिएको छ । नेपालका जात जातिहरूको नामावली, नेपालमा सूचीकृत भएका आदिवासी जनजातिहरू, ब्राहृमण र क्षेत्रीका थर उपथरहरू ठकुरी जाति, दशनामी जाति, जनजाति, दलित, तराईवासीका थरहरू दिइएको छ । पुस्तकमा मुसलमानहरूका थर, सिख पञ्जावीहरूका थर, योगी तथा साधुसन्तहरूबारे खोज संकलन गरी तिनको विवरण दिइएको छ । यस पुस्तकमा नेपालका चाड, पर्व, जयन्ती तथा दिवस समेटिएको छ । 

नेपालमा बोलिने भाषाहरू, नेपालमा प्रयोग हुने लिपिहरू, जुठो तथा सूतकबारे, नवग्रहको तत्वादि ग्रहा–रत्न विवरण पुस्तकमा दिइएको छ । लेखकले पुस्तकको अन्त्यतिर आफ्ना ‘पानीको पीडा’ र ‘खुर्पे खुकुरी’ शीर्षकका दुई कविता समावेश गर्नुभएको छ । यी सामग्री समावेश गरिनाले यो पुस्तक विविध विषयको संग्रहजस्तो देखिएको छ तर मूलरूपमा यो पुस्तक नेपाली थर गोत्रको चिनारी नै हो । 

पुस्तकको अन्त्यमा सन्दर्भ सामग्री र यस खोजमा सहयोग पु¥याउने व्यक्तिहरूको ‘व्यक्ति स्रोत’ शीर्षकमा नामावली दिइएको छ । यस पुस्तकमा धेरै कुरा समावेश छन् जुन यस छोटो आलेखमा यी सबै कुरा उल्लेख गर्न सम्भव छैन । लेखक लुइँटेलको एक दशकको खोजीको परिणाम हो यो पुस्तक । 

खोज अनुसन्धान र जानकारी राख्न चाहनेहरूका लागि अत्यन्त उपयोगी र संग्रहणीय पुस्तक हो यो । पुस्तक शोधयोग्य छ । लोकसेवा आयोग तथा यस्तै अन्य प्रतियोगिताका प्रतिस्पर्धीका लागि पनि यो पुस्तक ज्यादै उपयोगी हुने निश्चित छ । सबैबाट यस प्रकारको खोज तथा संकलन सम्भव हुन सक्दैन । फेरि खोज अनुसन्धान भन्ने कुरो कहिल्यै पूरा हुँदैन । एकजनाले गरेको खोज अर्काका लागि आधार वा जगमात्र हो । यही जगमा अरूले ढुंगा थप्दै जाने हो । यस प्रकारका केही पुस्तकहरू यसपहिले पनि लेखिएका छन् तर तिनमा थप केही कुरा समावेश गर्दै जाने क्रममा खडानन्दजीबाट यस पुस्तकको सिर्जना हुन पुगेको हो ।

शिखरनाथ सुवेदी, योगी नरहरिनाथ, पूर्णप्रकाश नेपाल यात्री, बुलु मुकारूङलगायत दर्जनौं खोजकर्ताबाट खोज भएका छन् । तिनैमा इँटा थप्ने काम गर्दा जन्मिएको पुस्तक हो यो । केबल पुराना मानिसका लागि मात्र नभएर नयाँ पुस्ताका लागि उपयोगी पुस्तक प्रमाणित हुनसक्छ । हालका दिनहरूमा मानिस आफ्नो समूहबाट टाढिँदै छ । गाउँघरमा बरू आफ्ना नातागोता, जात थर, प्रवर, गोत्रको खोजी गर्ने चलन छ तर त्यहाँ जस्तो सहरमा बस्नेहरू आफ्नो वंशको नालीबेलीबाट पर भएपछि आफ्नो वंशवृक्षको ज्ञानबाट तिनीहरू पर हुनु स्वाभाविक हुन्छ । गोत्र र प्रवर धेरैलाई थाहा हुँदैन । त्यसबाट एकै गोत्र, एकै प्रवर, आफ्नै पुस्ता नपुगेको नाताभित्र वैवाहिक सम्बन्ध स्थापित हुनसक्छ । 

सहरी र अर्ध सहरी स्थानमा बसोबास गर्नेका लागि दिनप्रतिदिन यो ठूलो समस्या बन्दै गएको छ । अझै नयाँ पुस्ताका लागि प्रेम विवह फष्टाएको समय हो वर्तमान । यस कारण अनेक प्रकारका समस्या निम्तिने सम्भावना रहेको वर्तमान समयमा यस प्रकारका पुस्तकको अध्ययन गर्नाले तिनमा केही सचेतता आउन सक्छ । त्यसैले समाजमा विकसित हुन लागेका जातीय, थर र गोत्रीय र प्रवरसम्बन्धी समस्याबाट मुक्त हुन यस प्रकारका पुस्तकको अध्ययनबाट निकै सहज हुनसक्छ । 

नेपालीका जात थरहरू अनौठो ढंगले बनेका छन् । कतिपय थर विभिन्न जातका साझा बनेर आएका छन् । जस्तै जोशी बाहुन र नेवारको थर हो भने थापा क्षेत्री र मगरको थर छ । यसै गरी बुडाथोकी क्षेत्री पनि हो र मगर पनि हो । यसैगरी तराईवासी र पहाडीहरूका थर साझा छन् । त्रिपाठी, तिवारी, मुखिया, राउतलगायतका विभिन्न थर साझा छन् । यसबाट एकै जात थर भएका मानिसहरू फरक स्थान, परिवेश र समुदायमा बसोबास गर्ने क्रममा विस्तारै फरक जात बन्दै गएको हुनसक्छ । 

त्यसैले पनि नेपालीहरूबीचको जातीय सौहार्द्रता कायम रहँदै आएको हो भन्न सकिन्छ । खडानन्द लुइँटेलजीको यस पुस्तकले यस्ता खोजका क्षेत्रमा एउटा अद्वितीय कार्य गरेको छ । यसका लागि उहाँलाई बधाई छ । उहाँबाट यस स्तरका अरू पुस्तकको अपेक्षासहित उहाँलाई शुभकामना ।