यौनको बजार नभएको होइन । तर, यो नै सम्पूर्ण होइन

अहिले के गर्दै हुनुहुन्छ ?

आफ्नै केही व्यक्तिगत काम । केही सामाजिक काम । फेरि कोरोना कहर छ यससँग सचेत हुँदै आफ्ना दैनिक कर्महरूमा जुटिरहेको छु ।

पछिल्लो समय पढेको पुस्तक ?

वरिष्ठ नियात्राकार युवराज नयाँघरेको ‘तनखा’ ।

मनपर्ने साहित्यकार ?

यही नै भन्नु भन्दा पनि सबै नै मनपर्छ । खास गरेर प्रजातन्त्र, सुशासन, मानवाधिकार, राष्ट्रियता र जनताका पक्षमा लेख्ने लेखकहरू मन पर्छन् ।

जीवन के हो  ?

बाँचुजेलको चोला हो । सतकर्म गरे मान्छे युगयुग आफ्नो नामले बाच्छ । बुद्धले जस्तो, अरनीकोले जस्तो, योगमायाले जस्तो । जीवनको महत्व बुझ्नु जरुरी छ । जीवन खुसी र सुखी भएर बाच्न सक्यो भने मात्र जीवनको सही परिभाषा पाउन सकिन्छ ।

राधेश्याम लेकाली को हो ?

एउटा साधारण व्यक्ति जो सधैं संघर्षमा विश्वास गर्छ, जो सधै परिश्रम गर्छ र अरुको भलोको लागि सोच्ने गर्छ । यही परिभाषाको वकालत गर्दै शब्दहरुको माला बनाएर साहित्यमा कलम चलाउँछ ।

तपाईं कसका लागि लेख्नुहुन्छ  ?

स्वतन्त्रताको लागि, राष्ट्रियताको लागि र उन्मुक्तिको लागि लेख्छु ।

राम्रो गीत, राम्री युवती र राम्रो रक्सीमध्ये कुनलाई रोज्नु हुन्छ  ?

बिहे नगरेको भए मेरो जवाफ दोस्रो राम्री युवती हुन्थ्यो । अब त्यो भएन । यस कारण गीत नै रोज्छु । रक्सी त मेरो नियमित सेवनमा पर्दैन । मौसमी मात्र हो ।

एकथरि मानिस साहित्यमा यौन चाहिन्छ भन्छन्, अर्काथरि यौन बर्जित छ भन्छन् । यहाँको विचारमा ?

यौनको बजार नभएको होइन । तर, यो नै सम्पूर्ण होइन । यतिबेला देश छाम्नुपर्छ कलम चलाउनेहरूले । विद्यमान बिकृति र विसंगतिउपर शब्दको प्रहार गर्नुपर्छ । देश अधोगतिमा गएको छ, नेतृत्वबर्गको लूट्पाट हेरेर साद्य छैन । यस्तो अवस्थामा यौन साहित्य लेख्ने कि युद्धको ? प्रश्न उठ्छ नी 

कस्तो साहित्यले समाजको परिवर्तन गर्न सक्छ जस्तो लाग्छ ?

समाजको आमुल परिवर्तनको लागि अबको साहित्य यथार्थपरक हुनुपर्छ । विद्रोही साहित्य लेख्नु पर्छ । साहित्य लेख्दा विल्कुलै प्रतिपक्ष भएर लेख्नु पर्छ ।

नेपाली लेखक र पाठकप्रति कुनै सुझाव ?

जस्तो पायो त्यस्तो कृति प्रकाशन गर्नुभन्दा उत्कृष्ट कृति प्रकाशन गर्नुपर्छ । यसका लागि लेखनको विषयबस्तुको चयनलगायतमा ध्यान पु¥याउनु पर्छ । प्रकाशन अघि सम्पादन गर्नेजस्ता कुरा गर्न सके राम्रो हुन्छ । हतारमा लेख्ने, हतारमा प्रकाशन गर्ने, हतारमा प्रचारप्रसार गराउने र हतारमा पुरस्कारको लागि दौडधुप गर्ने हाम्रो बानी छ । रह्यो आदरणीय पाठकलाई सुझाव अहिलेका पाठकबर्ग आफँै जानकार र सचेत हुनुहुन्छ ।

प्रस्तुति – कृष्ण भुसाल